२०८३ असोज १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’

कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’


विराटनगर—कोशी प्रदेशकै सबैभन्दा ठूलो र पुरानो सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालको व्यवस्थापकीय नेतृत्व फेरिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पताल विकास समितिको अध्यक्षमा बालरोग तथा नवजात शिशु विशेषज्ञ डा. सुमित घिमिरेलाई नियुक्त गरेको हो ।

सोमबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताबाट नियुक्तिपत्र बुझेका डा. घिमिरेले एकदिनपछि मंगलबार अस्पताल पुगेर पदभार ग्रहण गरिसकेका छन् ।

दैनिक हजारौँ विपन्न तथा दूरदराजका सर्वसाधारण स्वास्थ्योपचारका लागि भर पर्ने कोशी अस्पताल लामो समयदेखि आन्तरिक गुटबन्दी, राजनीतिक हस्तक्षेप, उपकरण अभाव, उपचारमा ढिलासुस्ती र चिकित्सकहरूको निजी क्लिनिक मोह (रेफरल धन्दा) का कारण आलोचित बन्दै आएको छ । सरकारी लगानी र विशेषज्ञ जनशक्ति पर्याप्त भएपनि अस्पताल पुग्ने सेवाग्राहीले टिकट काउन्टरदेखि शय्यासम्म चर्को सास्ती खेप्नुपर्ने बाध्यता छ ।

यसै पृष्ठभूमिमा पदभार सम्हालेका नवनियुक्त अध्यक्ष डा. घिमिरे सामु अस्पतालभित्र वर्षौंदेखि जकडिएका यी बेथिति र प्रशासनिक शिथिलता तोड्नु मुख्य चुनौती देखिन्छ ।

‘मेरो कार्यकालको ध्येय अस्पतालको साख फर्काउनु हुनेछ’

पदभार ग्रहणलगत्तै हेल्थआवाजसँगको कुराकानीमा अध्यक्ष डा. घिमिरेले कोशी अस्पताललाई परम्परागत ढर्राबाट मुक्त गरी बिरामीमैत्री बनाउनु आफ्नो प्रमुख प्राथमिकता हुने बताए ।

‘कोशी अस्पताल गरिब र विपन्न जनताको आशाको केन्द्र हो । तर, यहाँ आउने बिरामीले समयमै गुणस्तरीय उपचार पाउन नसकेको र प्रक्रियागत झन्झट खेप्नुपरेको गुनासो नयाँ होइन,’ डा. घिमिरेले भने, ‘मेरो पूरै कार्यकालको ध्येय अस्पतालको यो अवस्था सुधार गर्नमै केन्द्रित हुनेछ । बिरामीहरूले गुणस्तरीय स्वास्थ्य सेवा छिटोछरितो ढङ्गले पाऊन् भन्ने हिसाबले ठोस कार्ययोजना र अल्पकालीन तथा दीर्घकालीन रणनीति बनाएर अघि बढ्नेछु ।’

विराटनगरकै स्थायी बासिन्दा रहेका डा. घिमिरे नेपाल चिकित्सक संघ कोशी प्रदेशका इथिकल (नैतिक) समितिका सदस्यसमेत हुन् ।चिकित्सकहरूको कार्यशैली र स्वास्थ्य क्षेत्रका विकृतिलाई नजिकबाट नियालेका उनले अस्पतालभित्रको सेवा प्रवाह पारदर्शी बनाउने दाबी गरे ।

‘अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी समयमै उपस्थित नहुने, उपकरण थन्क्याएर बिरामीलाई निजी प्रयोगशाला वा क्लिनिकमा पठाउनेजस्ता गुनासाहरूको सुक्ष्म अध्ययन गर्नेछु,’ उनले थपे, ‘उपचारमा हुने ढिलासुस्ती अन्त्य गर्न आकस्मिक सेवा र ओपीडी सेवालाई डिजिटलाइज्ड र छिटो—छरितो बनाउने मेरो पहिलो कदम हुनेछ ।’

समितिले पायो पूर्णता

मन्त्रालयले विकास समितिको रिक्त सदस्यहरूमा पनि मनोनयन गरेको छ । मन्त्रालयका अनुसार विराटनगर निवासी दन्तरोग विशेषज्ञ डा. नूतन नौलखा, मोरङकै ललिता सरदार र मजहर हुसेनलाई सदस्यमा नियुक्त गरिएको हो ।

यसअघि कोशी अस्पताल विकास समितिको अध्यक्षमा डा. फरवार्ड सिलवाल रहेका थिए । उनको कार्यकाल सकिएपछि नयाँ नियुक्त गरिएको हो ।

मन्त्रालयले अस्पतालको सेवा प्रवाहलाई थप चुस्त, गुणस्तरीय र प्रभावकारी बनाउँदै विकास समितिमार्फत समग्र व्यवस्थापन तथा संस्थागत सुधारलाई गति दिने विश्वास लिएको जनाएको छ । तर, विगतमा पनि नयाँ पदाधिकारी आउँदा यस्तै प्रतिबद्धता आउने र पछि राजनीतिक दलदलमा फस्ने नजिर रहेकाले डा. घिमिरे नेतृत्वको टोलीले अस्पतालको दीर्घकालीन रोग कसरी निको पार्छ, त्यो भने हेर्न बाँकी छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ