२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलनयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा

नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा


डा. कृपा शेरचन । युवापुस्ताकी स्त्री तथा प्रसुति रोग एवं इनफर्टीलिटी विशेषज्ञ हुन् । उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट स्त्री तथा प्रसुति रोगमा विशेषज्ञता हासिल गरेकी हुन् । भारतको हैदरावादस्थित हेज हस्पिटलबाट रिप्रडक्टीभ टेक्नोलोजीमा एक वर्षे फेलोसीप गरेकी उनी अहिले वात्सल्य आईभीएफमा सेवारत छन् ।

स्त्री तथा प्रसुती रोग विशेषज्ञका रुपमा काम गर्दा प्रजनन सम्बन्धी समस्या कारण आफ्नो खुसी गुमाएका दम्पत्तिहरु देखिन्, भेटिन् । तीनै अनुहारमा मुस्कान फर्काउने ध्येयका साथ उनले इनफर्टिलिटीमा फेलोसीप गरेकी हुन् । डा. कृपा आफूले हासिल गरेको सीप प्रजनन स्वास्थ्य समस्याका कारण सन्तान सुखबाट बन्चित भएका दम्पत्तीको खुसीका लागि खर्चिन चाहन्छिन् । ‘मैले सिकेको सीपले ती दम्पत्तिको कोख भर्न सकेमा मलाई सन्तुष्टि मिल्नेछ,’ हालैको एक मध्यान्ह हेल्थआवाजसँगको कुराकानीमा उनले सुनाइन्, ‘बिरामीको खुसीमा नै हाम्रो खुुसी जोडिएको हुन्छ ।’

वि.सं. २०४४ सालमा पोखरामा जन्मिएकी उनी पाँच दिदीबहिनीमध्ये कान्छी हुन् । उनका बुवा गोविन्द शेरचन पोखरामा पर्यटन र हस्पिटालिटी व्यवसायमा संलग्न छन् । आमा प्रशन्न भने गृहणी हुन् । गोविन्द र प्रशन्नले आफ्ना पाँचै जना छोरीहरुलाई राम्रो वातावरणमा हुर्काएनन् मात्रै उत्कृष्ट शिक्षादीक्षा पनि दिए । त्यही शिक्षादीक्षाकै कारण उनीहरु पाँचै जना छोरीहरु काबिल छन् ।

डा. कृपाका ५ दिदीबहिनी आ—आफ्नो क्षेत्रमा अब्बल छन् । उनकी एक दिदी डेन्टिस्ट, एक इन्जिनियर, एक नर्स र एक पर्यटनमा मास्टर्स गरेर बैंगलोरमा काम गरिरहेकी छन् । कान्छी कृपा डाक्टर भइहालिन् । डा. कृपाको प्रारम्भिक शिक्षादीक्षा पोखराको गण्डकी बोर्डिङ स्कुलबाट अगाडि बढेको हो । स्कुलमा उनलाई गणित विषय सबैभन्दा मन पथ्र्यो । ‘मलाई गणित विषय एकदमै मन पथ्र्यो,’ उनले सुनाइन् । त्यसबाहेक संगीत, निबन्ध लेखन तथा अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय थिइन् ।

‘हुने विरुवाको चिल्लो पात’ भनेझै डा. कृपा स्कुलदेखि नै पढाइमा अब्बल थिइन् । त्यही कारण गण्डकी बोर्डिङ स्कुलबाटै उनले सन् २००४ मा ८६.१२ प्रतिशतसहित विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि उनी थप उच्च शिक्षाका लागि काठमाडौं विश्वविद्यालय गइन् । उनले सन् २००६ मा काठमाडौं विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा आइएस्सी उत्तीर्ण गरिन् । त्यसले उनलाई आफूले देखेको सपनाको नजिक पुर्‍यायो । ‘सानैदेखि डाक्टर बन्न चाहन्थें,’ उनले सुनाइन्, ‘मानिसहरुको सेवा गर्नको लागि मैले यो पेसा अपनाउने सपना पालेकी थिए ।’ त्यही कारण उनी आईएस्सी पास गरिसकेपछि एमबीबीएसको तयारीमा लागिन् ।

सन् २००७ मा एमबीबीएसको इन्ट्रान्स पास भएपछि उनी डाक्टरी पढ्नका लागि पोखरास्थित मणिपाल मेडिकल कलेज गइन् । त्यहीबाट डा. कृपाले सन् २०११ मा एमबीबीएस उत्तीर्ण गरिन् । सन् २०१२ मा उनको इन्टर्नसीप समेत सकियो । त्यसपछि उनले मेडिकल अफिसरका रुपमा पोखरास्थित ओम हस्पिटल र गण्डकी मेडिकल कलेजमा डेढ वर्ष बिरामी सेवामा बिताइन् ।

इन्टरनल मेडिसिनमा उनलाई विशेषज्ञता हासिल गर्ने रहर थियो । त्यही कारण उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा पिजीका लागि इन्ट्रान्स दिइन् । इन्ट्रान्समा नाम निस्कियो । तर, उनले इन्टरनल मेडिसिनमा पिजीका लागि सिट पाइनन् । त्यसपछि उनी स्त्री तथा प्रसुति रोगमा पिजी गर्नका लागि आईओएममा भर्ना भइन् । सन् २०१४ देखि उनको पिजीको अध्यापन सुरु भयो । सन् २०१७ मा उनले स्त्री तथा प्रसुति रोगमा विशेषज्ञता हासिल गरिन् ।

‘मेरो भविष्यको यात्राको सुरुवात नै त्रिवि शिक्षण अस्पतालबाट सुरु भएको हो,’ डा. कृपा त्रिवि शिक्षण अस्पतालको रेजिडेन्सीको समय सम्झिन्छिन्, ‘आफ्नो विषयमा त्यही नै धेरै कुरा सिकेँ । आज म जे पनि छु । त्यसमा टिचिङकै पढाइ र त्यहाँकै ज्ञानको कारण छु ।’

त्रिविबाट विशेषज्ञता हासिल गरेपछि उनी पुनः आफ्नो गृहनगर फर्किइन् । गण्डकी मेडिकल कलेजमै ३ वर्ष काम गरिन् । त्यहाँ उनले लेक्चचरको रुपमा अध्यापन पनि गराइन् । केही समय पोखराको फिस्टेल अस्पतालमा पनि बिरामीको सेवामा बिताइन् ।

विशेषज्ञता सेवामा तल्लीन रहेकै बेला उनलाई थप केही नौलो र मानिसहरुको जीवनको खुुसी भर्न सकिने विषयमा फेलोसीप गर्न जाँगर चल्यो । ‘आफ्नो ज्ञान दायरालाई पनि फराकिलो बनाउन सकिन्छ भन्ने सोचका साथ म फेलोसीप गर्न हैदरावाद गएँ,’ उनले सुनाइन् ।

एक वर्ष इनफर्टिलिटीमा फेलोसीप गर्न हैदरावाद गइन् । हैदरावादस्थित हेज हस्पिटलबाट रिप्रडक्टीभ टेक्नोलोजी फेलोसीप सकेपछि उनी नेपाल फर्किइन् । सन् २०२२ मा उनले बेलायतको प्रतिष्ठित रोयल कलेज अफ अब्स्टेटिक्स एण्ड गाइनोकोलोजीको सदस्यता समेत हासिल गरिन् ।

सेवामा रमाउने उनको बानीले जहिल्यै आफ्नो पेशाप्रति उनलाई प्रेरित गरिरहन्छ । त्यही सेवाभावनाकै कारण उनमा कामप्रति निरन्तर उर्जा भरिन्छ । नयाँ ठाउँ घुम्न र किताब पढ्न रुचाउने डा. कृपा जीवनशैलीमा पनि कुनै तडक—भडक छैन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #इनफर्टीलिटी विशेषज्ञ, #डा. कृपा शेरचन, #त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, #मणिपाल मेडिकल कलेज, #रिप्रडक्टीभ टेक्नोलोजी, #वात्सल्य आईभीएफ, #स्त्री तथा प्रसुति रोग विशेषज्ञ, #हेज हस्पिटल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ