२०८३ असोज १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश १ ∕ मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ

मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ


विराटनगर—विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले विविध कार्यक्रम आयोजना गरी विश्व मुटु दिवस मनाएको छ ।मंगलबार बिहान कोशी प्रदेशमै पहिलो पटक निजी स्तरबाट ‘क्याथ ल्याब’ सेवा सुरु गरेको उक्त अस्पतालले दिवसको अवसरमा विराटनगरमा मुटुरोगसम्बन्धी वृहत सचेतनामूलक र्‍याली निकालेको हो।

अस्पताल परिसरबाट सुरु भएको प्रभातफेरि र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । र्‍यालीमा न्युरो हस्पिटलका अध्यक्ष डा. वीरेन्द्रकुमार विष्ट, निर्देशक डा. अनिशा विष्ट, वरिष्ठ कन्सल्टेन्ट इन्टरभेन्सनल मुटु रोग विशेषज्ञ डा. निकेशराज श्रेष्ठ, अस्पतालका कर्मचारी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसै अवसरमा अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले विश्व मुटु दिवसको अवसर पारेर मुटुका बिरामीहरूका लागि एक सातासम्म विशेष छुट योजना सहुलियत अफर सञ्चालन गरिएको जानकारी दिए ।

मुटु स्वस्थ राख्न डा. श्रेष्ठका सुझाव

कार्यक्रममा बोल्दै वरिष्ठ कन्सल्टेन्ट इन्टरभेन्सनल मुटुरोग विशेषज्ञ डा. निकेशराज श्रेष्ठले पछिल्लो समय अस्वस्थ जीवनशैलीका कारण मुटु रोगका बिरामीहरूको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको बताए । उनले मुटु रोगबाट बच्न र मुटुलाई स्वस्थ राख्न खानपान र दैनिक व्यायाममा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

डा. श्रेष्ठले भने, ‘पहिले वृद्धवृद्धामा मात्र देखिने मुटु रोग अहिले युवा पुस्तामा समेत भयावह बन्दै गएको छ। अत्यधिक मानसिक तनाव, शारीरिक निष्क्रियता, जंकफुडको बढ्दो प्रयोग, धुम्रपान तथा मद्यपान यसका मुख्य कारण हुन् । मुटुलाई सुरक्षित राख्न दैनिक कम्तीमा ३० देखि ४५ मिनेट हिँड्ने वा पसिना आउने गरी व्यायाम गर्ने, सन्तुलित र फाइबरयुक्त खाना खाने तथा तनाव व्यवस्थापन गर्नु अपरिहार्य छ ।’

यसैगरी, उच्च रक्तचाप, मधुमेह र मोटोपन भएका व्यक्तिहरूमा मुटु रोगको उच्च जोखिममा हुने भएकाले वर्षमा कम्तीमा एक पटक मुटुको नियमित परीक्षण (स्क्रिनिङ) गराउनुपर्ने डा. श्रेष्ठले सुझाव दिए ।

छातीको बीच भाग भारी भएर दुख्नु, देब्रे हात वा घाँटीतिर दुखाइ सर्नु, अत्याधिक पसिना आउनु र श्वासप्रश्वासमा समस्या हुनु हृदयघात (हार्ट अट्याक)का लक्षण हुन सक्ने भन्दै यस्ता लक्षण देखिनासाथ ढिला नगरी क्याथ ल्याब सुविधा भएको नजिकको अस्पताल पुग्न उनले आग्रह गरे । मुटु रोगको समयमै पहिचान र उपचार हुन सके अकाल मृत्युबाट बच्न सकिने उनको भनाइ थियो ।

 


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ