२०८३ कात्तिक २०, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जुम्लामा नाक, कान र घाँटीसम्वन्धी शिविर, एक हजार बढीले लिए सेवा

जुम्लामा नाक, कान र घाँटीसम्वन्धी शिविर, एक हजार बढीले लिए सेवा

अत्याधुनिक जाइस ईएनटी सर्जिकल माइक्रोस्कोपसहित ८० लाख बराबरको स्वास्थ्य सामाग्री कर्णाली प्रतिष्ठानलाई


जुम्ला—जुम्लाको सदरमुकाम खलंगामा नाक, कान तथा घाँटी सम्वन्धी शिविर सञ्चालन भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रिड्स नेपालको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य सेवा कार्यक्रमबाट विशेषज्ञ कान, नाक तथा घाँटीका १ हजार ३७ जना नागरिकले सेवा प्राप्त गरेका छन् ।

४३ जना बिरामीको शल्यक्रिया गरिएको छ । बेलायतस्थित मेडिकल एड इन्टरनेसनलको सहयोगमा करिब ८० लाख रुपैयाँ मूल्य बराबरको अत्याधुनिक जाइस ईएनटी सर्जिकल माइक्रोस्कोपसहित अन्य आवश्यक चिकित्सा उपकरण तथा सामग्री प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ ।

उपकरणले प्रतिष्ठानको शल्य चिकित्सा क्षमता अभिवृद्धि गर्नुका साथै आगामी दिनमा विशेषज्ञ ईएनटी सेवा विस्तार गर्न महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा इयर एड नेपालका डा. माइक स्मिथ, डा. डीबी लामिछाने, अमेरिकाका डा. विल डिटर तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ईएनटी विभागीय प्रमुख डा. अनुपम कोइरालासहित बेलायतकी अडियोलोजिस्ट एमा, रजिस्टर्ड नर्स ग्याब्रिएल र अमेरिकाका फिजियोथेरापिस्ट निल सहभागी थिए ।

भौगोलिक विकटताका कारण विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका कर्णालीका नागरिकलाई आफ्नै क्षेत्रमा शल्यचिकित्सा सेवा उपलब्ध गराउन महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । यसले उपचारका लागि ठूला सहर धाउनुपर्ने बाध्यता र आर्थिक भार कम गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको प्रतिष्ठानका रजिष्ट्रार प्रकाशचन्द्र खत्रीले बताए ।

कार्यक्रमको सफलताप्रति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. सूर्यमान मेन्याङ्बोले सहयोगी संस्था, दाता निकाय, सहभागी विशेषज्ञ चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्दै यस सहकार्यले प्रतिष्ठानको स्वास्थ्य सेवा क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ