२०८३ कात्तिक २१, शनिवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन

ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन

प्रतिजैविक औषधिका गम्भीर दुरुपयोग हुने गरेको तथ्य फेला


काठमाडौं—औषधि व्यवस्था विभागले ललितपुरका फार्मेसीहरुमा छड्के अनुगमन गरेको छ । शुक्रबार विभागको टोलीले ललितपुरका १६ वटा फार्मेसीमा अनुगमन गर्दा प्रतिजैविक औषधिको गम्भीर दुरुपयोग हुने गरेको तथ्य फेला परेको छ ।

यसरी बिना प्रेस्क्रीप्सन एन्टीबायोटिक बिक्री वितरण गर्ने फार्मेसीहरुमा महालक्ष्मी—१ स्थित अन्विका फार्मेसी, भर्टेक्स फार्मेसी, इजी फार्मेसी रहेका छन् । यस्तै, ललितपुर महानगरपालिका—१५ स्थित विश्वास फार्मेसी, ललितपुर महानगरपालिका—२, ३, ४ र ७ मा रहेका केही फार्मेसीहरु पनि रहेका छन् ।

‘हामीले ललिपतुरका १६ वटा फार्मेसीहरुमा अनुगमन गरेका थियौं,’ औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले भने, ‘अनुगमनका क्रममा प्रतिजैविक औषधिहरुको चरम दुरुपयोग हुने गरेको देखियो ।’ महानिर्देशक भट्टराईकाअनुसार अनुगमन गरिएका १६ वटा कम्युनिटी फार्मेसीमध्ये १३ वटा फार्मेसीहरुले चिकित्सकको प्रेस्क्रीप्सनबिना एन्टीबायोटिक ओभर द काउण्टर गरिरहेको पाइएको छ, जुन झण्डै ८१ प्रतिशत हुन आउँछ ।

नियम विपरित चिकित्सकको प्रेस्क्रीप्सन बिना (मौखिक आधारमा) एन्टीबायोटिक विक्री वितरण गर्ने ती फार्मेसीहरुलाई औषधि व्यवस्था विभागले तत्काल कारवाहीको दायरामा ल्याएको छ । ‘नियम विपरित चिकित्सकको प्रेस्क्रीप्सनबिना एन्टीबायोटिक विक्री वितरण गर्ने फार्मेसी व्यवसायीहरुलाई तत्काल औषधि व्यवस्था विभागमा हाजिर हुन निर्देशन दिइएको छ,’ उनले भने ।

विभागका महानिर्देशक भट्टराईले यो काठमाडौं उपत्यकाभित्रको सानो स्क्रीनिङमात्रै भएको मात्रै उल्लेख गर्दै यसले देशभर नै बिना प्रेस्क्रीप्सन एन्टीबायोटिक बिक्री वितरणको स्थिती कति भयावह छ भन्ने देखाएको बताए । यसका विरुद्ध विभागले नियमित अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाउने जानकारी उनले दिए ।

विशेषज्ञहरुकाअनुसार बिना प्रेस्क्रीप्सन र अनियमित रुपमा एन्टीबायोटिक प्रयोग जारी रहेमा जीवाणुहरुमा एन्टीबायोटिक विरुद्ध लड्ने क्षमता विकास हुन्छ र भविष्यमा सामान्य संक्रमण हुँदा समेत एन्टीबायोटिक औषधिहरुले काम नगर्ने स्थिती आउँछ । परिणाम स्वरुप प्रभावकारी औषधिको अभावमा बिरामीको उपचार जटिल भई मृत्युदर बढ्ने र स्वास्थ्य उपचारमा ठूलो भार थपिने जोखिम रहन्छ ।

नेपालमा एन्टीबायोटिक रेसिस्टेन्ट (एएमआर) नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को ग्लोबल एक्सन प्लानसँग समन्वय गरी विभिन्न कार्यक्रमहरु अगाडि बढाइएका छन् । यस्तै, विभागले १३० वटा डब्लूएचओ नन रेकमन्डेड तथा अनावश्यक एन्टीबायोटिक बिक्री वितरण गर्न रोक लगाएको छ । यस्तै, एन्टीबायोटिक औषधिहरु सजिकै पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले औषधिको बाहिरी प्याकिङमा रातो धर्का राख्न अनिवार्य गरिएको पनि विभागका महानिर्देशक भट्टराईले जानकाी दिए ।

यस्तै, डब्लूएचओसँगको सहकार्यमा नेपालमा एन्टीबायोटिकको खपत, बिक्री वितरणको अवस्था र ट्रेण्ड सम्बन्धि तथ्यांक संकलन गर्ने कार्य पनि विभागले सुरु गरिसकेको छ ।

गत बिहीबार मात्रै ललितपुरस्थित होटल हिमालयमा एन्टीबायोटिक रेसिस्टेन्टबारे सरोकारवालाहरुसँग भावि नीतिगत दिशा तय गर्न कार्यशाला गोष्ठीको समेत आयोजना गरिएको थियो । कार्यशालामा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल औषधिको उपभोगसम्बन्धी तथ्याङ्क नियमित रूपमा सङ्कलन, विश्लेषण तथा प्रसार गर्नुपर्ने बताएकी थिइन् । उनले प्राप्त तथ्याङ्क र निष्कर्षलाई प्रमाणमा आधारित नीतिगत निर्णय तथा स्वास्थ्य क्षेत्रको सुधारमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याइन् । ‘औषधिको उचित प्रयोग, उपभोगको अवस्था पहिचान तथा प्रभावकारी अनुगमनका लागि विश्वसनीय तथ्याङ्कको महत्त्व छ,’ उनले भनिन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उच्च अधिकारीहरु, औषधि उत्पादकहरु, औषधि आयातकर्ताहरु, औषधि व्यवसायीहरु र नेपाल फर्मास्युटिकल्स एशोसिएसनका प्रतिनिधिहरु सहभागी उक्त कार्यशालाको उद्देश्य नेपालमा बढी खपत हुने एन्टीबायोटिकहरुको डाटा तयार गर्ने र प्राप्त तथ्यांकका आधारमा नीतिगत र नियमनकारी निकायहरुले ठोस निर्णय लिई कडा नियमन र अनुगमन प्रणाली स्थापना गर्ने रहेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ