२०८३ मंसिर ९, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्तर्वार्ता / विचार ∕ महिला नेतृत्वको अपूरो यात्रा: प्रतिबद्धता समावेशिताको, संरचना विभेदको

महिला नेतृत्वको अपूरो यात्रा: प्रतिबद्धता समावेशिताको, संरचना विभेदको


अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) र युएन वुमन (UN Women) का अनुसार नेपालमा दैनिक अवैतनिक हेरचाह तथा घरायसी कामको करिब ८५ प्रतिशत जिम्मेवारी महिलाले बहन गर्छन् । महिलाले दैनिक करिब २ करोड ९० लाख घण्टा यस्तो काममा खर्च गर्दा पुरुषले करिब ५० लाख घण्टा मात्र खर्च गर्छन् । यो समस्या नेपालमा मात्र सीमित छैन । आईएलओ र एसियाली विकास बैंक (ADB) को २०२३ को प्रतिवेदनअनुसार एसिया- प्यासिफिक क्षेत्रमा महिलाले पुरुषभन्दा औसतमा ४.१ गुणा बढी समय अवैतनिक हेरचाहमा खर्च गर्छन् । यो अनुपात न्युजिल्यान्डमा १.७ गुणा र पाकिस्तानमा ११ गुणासम्म छ । यसले महिलाको रोजगारी, व्यावसायिक विकास र नेतृत्वका अवसरमा कस्तो असर पार्न सक्छ भन्ने बुझ्न कठिन छैन ।

महिला नेतृत्वबारे कुरा गर्दा हामी प्रायः उनीहरूलाई अवसर दिनुपर्ने र निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने कुरा गर्छौं । रोजगारीका विज्ञापनमा महिला तथा सीमान्तकृत समुदायलाई आवेदन दिन प्रोत्साहित गरिन्छ । संस्थाका नीति र प्रतिबद्धतामा लैङ्गिक समानता, समावेशिता र समान अवसरका कुरा उल्लेख हुन्छन् । तर, एउटा प्रश्न भने कमै उठाइन्छ: महिलालाई काममा सहभागी हुन र नेतृत्वमा पुग्न आमन्त्रण गर्ने संस्थाहरूले उनीहरूका लागि काम गर्न सक्ने वातावरण कत्तिको बनाएका छन्?

विश्वविद्यालयमा पढ्दा मेरै कक्षाकी एक साथी र मेरी एक जुनियर गर्भवती भएर सन्तान जन्माउनुभयो । त्यतिबेला उहाँहरूको कक्षा हाजिरी र बिदाबारे बारम्बार छलफल हुन्थ्यो । तर, उच्च शिक्षा दिने, समान अवसरको लागि वकालत गर्न सक्षम बनाउने जिम्मेवारी पाएको विश्वविद्यालयमा बालबालिकाको हेरचाहका लागि नर्सरी वा स्तनपान गराउन मिल्ने संरचनाको व्यवस्था थिएन । त्यसैगरी विभिन्न संस्थासँग जोडिएर देशका विभिन्न कुनामा काम गर्दा यस्ता र अन्य थुप्रै विभेदकारी संरचना देखेको तथा भोगेको समेत तितो अनुभव रहेको छ । त्यस्ता विभेदकारी संरचना देख्दा सधैँ एउटा प्रश्न खट्किरहन्छ: समान अवसर, समानता र न्यायजस्ता शब्द हामीले संस्थाका प्रतिबद्धता, भाषण, फेसबुक स्ट्याटस र कक्षाकोठामा प्रयोग गर्ने buzzword मात्र हुन्, कि दैनिक जीवनमा निर्णय लिँदा अपनाउने मार्गदर्शक सिद्धान्त पनि हुन्?

हामी प्रायः सुन्छौँ, ‘सबैसँग दिनमा चौबिस घण्टा नै हुन्छ ।’  यो भनाई व्यक्त गर्दा काम गर्ने र नेतृत्व लिने समय सबैसँग बराबर छ भन्ने बुझाइ र अपेक्षा झल्किन्छ । तर, आर्थिक अवस्था, घरायसी जिम्मेवारी, स्वास्थ्य र कार्यालय आउजाउमा लाग्ने समयले यस्तो समयलाई निकै फरक बनाउँछ । एउटै पदमा काम गर्ने दुई कर्मचारीमध्ये एकजनासँग घरायसी जिम्मेवारी कम छ र अर्कोले कार्यालयबाहिर पनि बालबालिका, ज्येष्ठ नागरिक र परिवारको हेरचाह गर्नुपर्छ भने उनीहरूको समय र अवसर समान हुँदैन । यस्तो अवस्थामा सबैले ‘उही २४ घण्टा’ पाएका छन् भनेर समान उपलब्धि र उपलब्धताको अपेक्षा गर्नु न्यायसङ्गत हुँदैन् । यो भनेको असमान सुरुवात विन्दुबाट दौडन लगाएर सबैलाई एउटै दूरीमा मूल्याङ्कन गर्नुजस्तै हो । अपेक्षा राख्नुअघि ती अपेक्षा पूरा गर्न सकिने अवस्था बनाउनु संस्थाको जिम्मेवारी हो । सहयोगी वातावरण नबनाई महिलाबाट पुरुषसरह ढिलोसम्म काम गर्ने, सधैँ उपलब्ध हुने र नेतृत्वको जिम्मेवारी लिने अपेक्षा राख्नु अर्थहीन हुन्छ ।

कार्यस्थलको भौतिक संरचना पनि समावेशिताको महत्त्वपूर्ण पक्ष हो । महिलाका लागि सुरक्षित र सफा शौचालय, महिनावारीका बेला चाहिने प्याड, प्रयोग गरिएका सामग्रीको सुरक्षित विसर्जन, सफा पानी र गोपनीयता आधारभूत आवश्यकता हुन् । गर्भावस्था वा महिनावारीका कारण शारीरिक असहजता हुँदा केही समय आराम गर्न सक्ने वातावरण पनि आवश्यक हुन्छ । कार्यालयमै सुरक्षित र गोप्य स्थान नहुँदा स्तनपान गराइरहेका महिलालाई कामको समयमा बच्चालाई दूध खुवाउन कठिन हुन्छ । यी सुविधा महिलालाई दिइने विशेष सहुलियत होइनन्, काम निरन्तर गर्न र समान रूपमा सहभागी हुन चाहिने आधारभूत व्यवस्था हुन् ।

सबै महिलाले एउटै प्रकारका अवरोध भोग्दैनन् भन्ने कुरा पनि बिर्सनु हुँदैन् । अपाङ्गता भएका महिला, दलित, आदिवासी जनजाति, मधेसी, दुर्गम क्षेत्रका महिला र आर्थिक रूपमा कमजोर महिलाले फरक र एकअर्कासँग गाँसिएका चुनौती सामना गर्छन् । भवन अपाङ्गमैत्री नहुनु, भाषागत अवरोध, विभेदपूर्ण व्यवहार र नेतृत्वमा पुग्ने अवसरबाट वञ्चित हुनु उनीहरूका लागि थप बाधा बन्छन् । त्यसैले संस्थाले महिला कर्मचारीको सङ्ख्या मात्र हेरेर समावेशिता मापन गर्न मिल्दैन् । कुन समूहका महिलाले अवसर पाइरहेका छन्, कसले तालिम र बढुवामा पहुँच पाएका छन् र कसले अझै अवरोध भोगिरहेका छन् भन्ने पनि बुझ्नुपर्छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले सरकारी, गैरसरकारी र निजी संस्थामा कार्यरत महिलालाई कम्तीमा ९८ दिन तलबसहितको प्रसूति बिदा दिनुपर्ने व्यवस्था गरेको छ । साथै, बच्चा जन्मेको दुई वर्षसम्म कार्यालय समयमा स्तनपानका लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने प्रावधान पनि राखेको छ । पुरुष कर्मचारीलाई पनि श्रीमती सुत्केरी हुँदा १५ दिन तलबसहितको विदाको व्यवस्था छ । तर, कानुनमा व्यवस्था हुनु र त्यसको व्यवहारमा कार्यान्वयन हुनु फरक कुरा हुन् । अहिले प्रसूति विदा ६ महिना पुर्‍याउने विषयमा छलफल भइरहेको छ । तर, निजी संस्थामा कार्यरत थुप्रै महिला सुत्केरी भएको एक महिनामै काममा फर्कन बाध्य भएका उदाहरण छन् ।  हालका कानुनको समान कार्यान्वयन सुनिश्चित नगरी र भविष्यमा त्यसका लागि कुनै योजना पनि नबनाई विदाको अवधि मात्र थपियो भने त्यो बहुसङ्ख्यक महिलाको समस्यालाई अनदेखा गरेर नेपालका अन्य कानुनजस्तै कागजी उदारतामा मात्र सिमित हुन्छ ।

अन्ततः महिलाको नेतृत्वमा सहभागिता बढाउनु भनेको उनीहरूलाई पदमा नियुक्त गर्नु वा आवेदन दिन प्रोत्साहित गर्नु मात्र होइन् । उनीहरूले आफ्नो क्षमता प्रयोग गर्न, जिम्मेवारी लिन, व्यक्तिगत तथा पारिवारिक जीवनसँग सन्तुलन मिलाउन र समान रूपमा अघि बढ्न सक्ने वातावरण बनाउनु पनि हो । महिलालाई पुरुषसरह काम गर्न भन्दा उनीहरूले बेहोरिरहेको असमान जिम्मेवारी र संरचनागत अवरोधलाई बेवास्ता गरिन्छ भने समानताको कुरा अधुरै रहन्छ । समावेशिता संस्थाको विज्ञापन, नीति वा भाषणमा मात्र देखिने विषय होइन्, त्यो कार्यालयको शौचालयदेखि बैठकको समय, विदाको व्यवस्था, कामको मूल्याङ्कन र बढुवाको अवसरसम्म प्रतिबिम्बित हुनुपर्छ । त्यसैले प्रश्न महिलाहरू नेतृत्व गर्न सक्षम छन् कि छैनन् भन्ने मात्र होइन्, हाम्रा संस्था र कार्यस्थल महिलाले नेतृत्व गर्न सक्ने गरी बनेका छन् कि छैनन् भन्ने पनि हो ।

(घिमिरे र शर्मा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ