काठमाडौं—काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ भवन र पुरानो भवनलाई जोड्न लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण गर्ने भएको छ । बिहीबार उक्त लिफ्टसहितको आकाशे पुलको काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, जगपूजा तथा शिलान्यास गरेकी हुन् ।
सो अवसरमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा. डा. विवेक आचार्य, अस्पतालका निर्देशक डा. विकास नेपाल, वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गी पनि जगपूजा गरेका थिए ।
शिलान्यासपछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले, आकस्मिक स्वास्थ्योपचार गर्नुपर्ने बिरामी बचाउन मिलिसेकेण्डको अवधिलाई पनि अधिकतम उपयोग गर्न सकियोस् भनेर आकस्मिक सेवा भएको भवनलाई सर्जिकल तथा आइसीयूजस्ता सघन उपचार कक्ष भएको भवनसँग जोड्न अत्याधुनिक आकाशे पुल निर्माणमा लगानी गरेको बताइन् । ‘हेर्दा यो भौतिक संरचनाका रुपमा मात्र देख्न सकिन्छ । तर, यो भौतिक संरचनाभन्दा भन्दा चिकित्सक र बिरामीको सुरक्षा तथा बिरामीका आफन्तको सहजताका लागि संवेदनशील स्थान हो,’ उनले भनिन् ।

वीर अस्पतालका दुई वटा भवनका बीचमा महाबौद्धतर्फ जाने सडक छ । पुरानो भवनमा आकस्मिक कक्ष छ । आकस्मिक कक्षमा आएको बिरामीलाई शल्यक्रिया गराउन तथा सघन उपचार कक्षमा पु¥याउन सडक पार गराएर अर्को भवनमा लैजानु पर्ने अवस्था छ । ‘यो छिटो—छिटो गर्नुपर्ने काम हो । सडकमा दौडिने सवारी साधन सधैँ हतारमा हुन्छन् । यसबाट जीवन बचाउन गरिने प्रयास नै दुर्घटनामा पर्ने सम्भावना छ,’ डंगोलले भनिन्, ‘यो जोखिम घटाउनुलाई दायित्व ठानेर हामीले काम गरेका हौँ । गर्नुपर्छ भनेर सबैले महसुस गरेको तर अहिलेसम्म नथालिएको योजना हामीले कार्यान्वनयमा ल्याएका हौँ ।’
न्याम्सका उपकुलपति प्रा. डा. आचार्यले आकाशे पुललाई आफूले भौतिक संरचनाका रुपमाभन्दा पनि मानवीय संवेदनामा आधारित सेवा संरचनाका रुपमा हेरेको बताए ।
अस्पतालका निर्देशक डा. नेपालले आकाशे पुलले भवनलाई मात्र नभएर सेवालाई पनि जोड्ने बताए । ‘९५० बेडको रिफरल अस्पतालको नयाँ भवनमा १५ वटा अपरेसन थियटर र ८० वटा आइसीयू छन्,’ उनले भने ।

अस्पतालका पूर्व निर्देशक वरिष्ठ कलेजो रोग विशेषज्ञ प्रा. डा. दिलिप शर्माले आफ्नो १४ महिने नेतृत्व कालमा भएको यो नै सबैभन्दा महत्वपूर्ण काम भएको उल्लेख गरे ।
काठमाडौं महानगरपालिका वडा नं. २७ का वडाध्यक्ष योगेश खड्गीले काठमाडौंको भित्री सहरी षेत्रका स्थानीयवासीको पहिलो सम्पर्क अस्पताल वीर अस्पताल भएको बताए । ‘अस्पताललाई व्यवस्थित बनाउन सहकार्यका लागि हामी सदैव तत्पर छौं,’ खड्गीले भने, ‘अस्पतालको दुई भवनलाई जोड्ने महानगरपालिकाको योजनालाई वडाले गौरवको योजनाका रुपमा लिएको छ ।’
४ करोड ८२ लाख ६६ हजार ८१२ रुपैयाँ लागत अनुमान रहेको निर्माण कार्य सार्वजनिक खरिद प्रक्रियाबाट ४ करोड ७१ लाख ३४ हजार ७२७ रुपियाँमा प्राप्त भएको छ । निर्माणका लागि सुपर सौगात पीसी द्रव्य जेभीलाई ९ मंसिरमा कार्यादेश दिएको छ । निर्माण कार्य अवधि ३० कात्तिक २०८४ सम्म रहेको छ ।
पुलको दुवै तर्फ राखिने लिफ्ट अस्पताल बेड लिफ्ट गुणस्तरका हुनेछन् । पुलको दुवै तर्फको चढ्ने ओर्लने लिफ्ट तथा भ¥याङ अस्पताल परिसरबाट हुने भएकोले निर्माण पछि दुर्घटनाको जोखिम हट्नेछ । आकाशे पुल पूर्ण रुपमा फलामको हुनेछ ।

पहिलो चरणमा फलामको पुलमा लिफ्ट जडान गरिसकेपछि दोस्रो चरणमा सहरको मौलिक स्वरुपमा बाहिरी सजावट गरिने महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईले जानकारी दिए ।
विभागका इञ्जिनियर एवं आकाशे पुलका डिजाइनर प्रेमबहादुर श्रेष्ठले भित्री सामग्री अत्याधुनिक र बाहिरी मोहडा मौलिक स्वरुपको हुनेछ ।