२०८३ मंसिर ११, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयले ५११ जना विशेषज्ञ चिकित्सकलाई प्रदेशमा खटायो, कुन प्रदेशमा कति ?

स्वास्थ्य मन्त्रालयले ५११ जना विशेषज्ञ चिकित्सकलाई प्रदेशमा खटायो, कुन प्रदेशमा कति ?

३२७ जना विशेषज्ञ चिकित्सक संघीय अस्पताल र प्रतिष्ठानमा पठाइयो


काठमाडौं—स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अब विशेषज्ञ उपचारका लागि काठमाडौं वा ठूला सहर धाउनुपर्ने बाध्यता क्रमशः घट्दै जाने जनाएको छ । शुक्रबार फेसबुकमार्फत स्वास्थ्य मन्त्रालयले एमडी, एमएस र एमडिएस उत्तीर्ण ८३८ विशेषज्ञ चिकित्सकलाई सातै प्रदेश, संघीय अस्पताल र प्रतिष्ठानहरुमा खटाएको जानकारी दिएको हो ।

मन्त्रालयकाअनुसार कोशी प्रदेशमा १५४ जना खटाइएको छ भने मधेश ८६ जना विशेषज्ञ चिकित्सक पठाइएको छ । यस्तै, बागमती प्रदेशमा २०८ जना, गण्डकी प्रदेशमा १२९ जना र लुम्बिनी प्रदेशमा १३३ जना विशेषज्ञ चिकित्सक खटाइएका छन् ।

मन्त्रालयकाअनुसार कर्णाली प्रदेशमा ५२ जना र सुदूरपश्चिम प्रदेशमा ७६ जना विशेषज्ञ चिकित्सक पठाइएको छ । बाँकी ३२७ जना संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खटिएका छन् ।

प्रदेश, संघीय अस्पताल र प्रतिष्ठानमा खटाइएका विशेषज्ञ चिकित्सकहरुमा एमडी ६१८, एमएस १६८ र एमडिएस ५२ जना रहेका छन् । जसमध्ये ८८ जना एनेस्थेसिया, ८१ जना स्त्री तथा प्रसूति रोग, ७२ जना जनरल सर्जरी, ७० जना हाडजोर्नी, ६७ जना मेडिसिन, ६२ जना जनरल प्रयाक्टिस तथा इमर्जेन्सी मेडिसिन, ६२ जना आँखा, ६० जना बाल रोग, ५२ जना दन्त रोग, ३२ जना मानसिक रोग विशेषज्ञ छन् । १६२ जना अन्य विविध विधाका विशेषज्ञ रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ ।

‘५११ जना चिकित्सक प्रदेश स्वास्थ्य मन्त्रालयमा खटिएका छन् । संघीय सरकारबाट प्रदेशमा खटाइएका चिकित्सकलाई प्रदेश सरकारले आफ्नो आवश्यकता, प्राथमिकता र कार्यक्षेत्रअनुसार स्थानीय तहका स्वास्थ्य संस्थामा परिचालन गरी स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन सक्ने व्यवस्था रहेको छ,’ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भनेको छ, ‘बाँकी ३२७ जना सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खटिएका छन् ।’

ठूलो संख्यामा विशेषज्ञ चिकित्सकहरु प्रदेशहरु, संघीय अस्पताल र प्रतिष्ठानहरुमा खटाइएसँगै एनेस्थेसिया, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, हाडजोर्नी, मेडिसिन, आकस्मिक सेवा, आँखा, बाल रोग, दन्त तथा मानसिक स्वास्थ्यलगायतका सेवाहरू थप सुदृढ हुने विश्वास मन्त्रालयको छ । यसबाट सुरक्षित सुत्केरी सेवा, शल्यक्रिया तथा आकस्मिक उपचारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ