२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशदुर्गमका गर्भवती र जोखिमयुक्त बिरामीको ज्यान जोगाउन हेलिकोप्टरको सहयोग

दुर्गमका गर्भवती र जोखिमयुक्त बिरामीको ज्यान जोगाउन हेलिकोप्टरको सहयोग

गण्डकीमा ६१ जनाले लिए हेलिउद्धारको सेवा 


पोखरा– गोरखाको चुमनुब्री गाउँपालिका–७, छेकम्पारकी ४१ वर्षीया पासाङ छेन्जुम लामालाई गत सोमबार सुत्केरी बेथा लाग्यो । व्यथाले च्याप्दै गएपछि उनलाई स्थानीय स्वास्थ्य चौकी लगियो । समस्या जटिल देखिएको र त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पुर्‍याइयो ।

गाउँपालिका स्वास्थ्य शाखा तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हवाई उद्धार शाखाको सहयोगमा सेनाको हेलिकोप्टरमार्फत उनलाई थापाथली हस्पिटल लगियो । थापाथलीमा शल्यक्रिया गर्नुपर्ने भएपछि उनलाई त्यहाँबाट  पुनः  पाटन अस्पताल रेफर गरियो ।

लार्क सामुदायिक स्वास्थ्य इकाइ इन्चार्ज सजीना तामाङले  गर्भवती लामामा मल्टी केस भएकाले हेलिउद्धार गर्नुपरेको बताउँछिन् । उनले भनिन्, ‘४ जना बच्चा पहिले नै थिए, पछिल्लो बच्चासँग ६ वर्षको ग्याप अनि उमेर ४१ वर्ष थियो, २ दिनसम्म व्यथा लागेको थियो । हात पेट सुन्निएको थियो । जटिलताको अवस्थालाई मेडिकल ट्रममा प्रोबलम नं. १० भन्छ । त्यसैले काठमाडौं पठाइएको हो ।’ शल्यक्रियामार्फत लामाले छोरी जन्माएकी छन् ।

चुमनुब्री सडक सञ्जालमा नजोडिएको गाउँपालिका हो । जटिल अवस्थाका बिरामीको हेलिउद्धारको विकल्प नभएको गाउँपालिका अध्यक्ष निमा लामाले बताए ।

केही समयअघि बागलुङको बडीगाड गाउँपालिकाकी २३ वर्षीया सीता सामल पनि सोही व्यथाले सिकिस्त भइन् । राति साढे ३ बजेतिर घरमै शिशुलाई जन्म दिएकी उनको प्रभु हेलिकोप्टरमार्फत उद्धार गरी पोखराको मणिपाल अस्पताल ल्याइयो । सामलको साल ननिस्केपछि हेलिकोप्टरको सहायताबाट पोखरा ल्याइएको थियो ।

गोरखाको बारपाकबाट २४ वर्षीया युवतीको उद्धार गरी मनाङ एयरको हेलिकोप्टर ललितपुरको  माडिसिटी अस्पताल पुग्यो । ती युवतीमा पिसाब बन्द हुने समस्या थियो भने, अक्सिजन लेभल ६५ भन्दा कम भएको थियो ।

यी त हेलिउद्धारका प्रतिनिधि घटनामात्रै हुन् । गण्डकी प्रदेश सरकारले दुर्गमका जोखिमयुक्त अवस्थामा रहेका गर्भवती तथा अन्य बिरामीका लागि गरिएको उद्धार कार्यक्रम सञ्चालन गरेको छ ।  उक्त कार्यक्रमअन्तर्गत आव २०७९/८० सम्ममा ६१ जनाले सेवा लिएका छन् । चालु आर्थिक वर्षमा बागलुङ र म्याग्दीबाट १/१ जनाको हेलिउद्धार गरिएको कार्यक्रम सहायक संयोजक बुद्धिसागर अधिकारीले जानकारी दिए ।

प्रदेशको कार्यक्रममार्फत गोरखाबाट ४, मनाङबाट १, मुस्ताङबाट ५, म्याग्दीबाट १५, लमजुङबाट ३, पर्वतबाट २ र बागलुङबाट २८ जनाको हेलिउद्धार गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ५२ र आर्थिक वर्ष २०७८/०७९ मा ७ जनाको हेलिउद्धार गरिएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । हेलिउद्धार कार्यक्रम सडक सुविधा नपुगेको दुर्गम क्षेत्रका गर्भवती र र जोखिमयुक्त अवस्थाका बिरामीका प्रभावकारी बनेको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ