२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यकस्मेटिक सर्जरी के हो, किन गरिन्छ कस्मेटिक सर्जरी ?

कस्मेटिक सर्जरी के हो, किन गरिन्छ कस्मेटिक सर्जरी ?



प्रा. डा. सविना भट्टराई
बरिष्ठ छाला रोग विशेषज्ञ तथा कस्मेटिक सर्जन
काठमाडौं मेडिकल कलेज, सिनामंगल

ब्यक्तिको पहिलो आर्कषणको रुपमा उसको ब्यक्तित्वलाई मानिन्छ । वर्तमान समयमा महिला मात्रै नभै पुरुष पनि आफ्नो सौन्दर्य र ब्यक्तित्वको सन्दर्भमा उत्तिकै सजग रहेको देखिन्छ । ब्यक्तिको आफ्नो ब्यक्तित्वकै प्रभावका कारण सजिलै रोजगार प्राप्त गर्ने, छिट्टै समूहमा घुलमिल पनि हुने र त्यस्ता ब्यक्तिहरु अरुका निम्ति आर्कषणको केन्द्रबिन्दु बन्ने गरेको पाइन्छ । जसकारण, उनीहरुमा मनोबल पनि सोही अनुरुप विकास हुने गर्दछ । तसर्थ ब्यक्तिको बाहिरी सौन्दर्यता उसको शारीरिक पक्षसँग मात्र नभै मानसिक पक्षसँग पनि सम्बन्धित रहेको हुन्छ ।

पछिल्लो समय यिनै कुराहरुलाई मनन गर्दै नेपालमा पनि सर्जरीद्वारा आफ्नो सौन्दर्यता बढाउने प्रविधि मौलाएकोे देखिन्छ । अन्य देशहरुमा जस्तै नेपालमा पनि यसले लोकप्रियता पाउँदै गएको पाइएको छ । क्लिनिकल डर्मटोलिजिस्ट र कस्मेटिक डर्मटोलिजिस्ट गरी दुई किसिमको सर्जरीहरुमा मानिसहरुको रुची बढेसँगै मुख्यतयाः युवा डाक्टरहरुको पनि यस क्षेत्रप्रति लगाव बढेको देखिन्छ । आज हामी मेडिकल क्षेत्रमा रहेका ती सर्जरीहरुमध्ये कस्मेटिक सर्जरीको विषयमा छलफल गर्दछौं ।

के हो कस्मेटिक सर्जरी ?

कस्मेटिक सर्जरी भन्नाले विभिन्न प्रविधि तथा सीपहरुको प्रयोगद्वारा मानिसको रहिरहेको रुप, रंग तथा स्वरुपलाई नै परिवर्तन गरी उनीहरुको सौन्दर्यमा झन् निखार ल्याउने सर्जरी भन्ने बुझिन्छ । हामीले याद गरेको हुनुपर्छ, कतिपय मानिसहरु आफ्नो अनुहारमा आएको विभिन्न चाँया, पोतो, डन्डिफोर, कोठी तथा मुसाका कारण अनुहारको सौन्दर्य नै गुमाई रहेका हुन्छन् ।

आफ्नो अनुहारको स्वरुप नै बिग्रेका कारण त्यस्ता व्यक्तिहरु आफ्नो मनोबल गुमाउन पुगी एक आपसमा नखुल्ने, सामाजिक कामहरुमा संलग्न नहुने, अनुहार ढाकेर बस्ने वा धेरै साथीहरु नबनाउनेजस्ता क्रियाकलापहरु गर्दछन् । तर, हाल शरीरको कुनै पनि भागमा खाल्डा खुल्डी छ र दागहरु रहेको छ भने त्यसलाई निर्मुल गर्नको निमित्त कस्मेटिक सर्जरी गरिन्छ । अर्थात् मानिसको चाहना स्वरुप सर्जरीको माध्यमबाट सोही किसिमको स्वरुप प्रदान गर्ने उपचार नै कस्मेटिक सर्जरी हो ।

यसका फाइदाहरु

  • धेरै गह्रौं इयररिङ कानमा लगाउनाले कसै—कसैको कान नै चुडिन लागेको अवस्था पनि हुन सक्छ । धोल्लिएको कान मिलाउन पनि सर्जरी महत्वपूर्ण साबित भएको छ ।
  • शरीरको विभिन्न भागमा भएको कोठी मन नपरेको खण्डमा पनि व्यक्तिले कस्मेटिक सर्जरी गर्न सकिन्छ ।
  • शरीरमा भएको अनावश्यक रौं लाई लेजर प्रविधिमार्फत हटाई त्यस्ता रौं आउने वा उमार्ने भागहरुलाई मार्ने वा घटाइ दिने काम पनि कस्मेटिक सर्जरी अन्तर्गत नै गर्ने गरिन्छ ।
  • नेपालमा गोरो व्यक्तित्वलाई धेरैले रुचाउँछन् । र कसैको चाहना पनि हुन्छ गोरो बन्ने । त्यस्तो अवस्थामा विभिन्न इन्जेक्शनका माध्यमबाट व्यक्तिको सा इच्छा पूरा गर्न सकिन्छ ।
  • कस्मेटिक सर्जरीबाट नै मानिसमा भएको चाउरीपनलाई पनि हटाउन सकिन्छ ।
  • कसैलाई आफ्नो अनुहारको स्वरुप मन नपर्ने हुन सक्छ । अर्थात् कसैलाई आफ्नो अनुहार, ओठ तथा नाकजस्ता शरीरका विभिन्न भागहरु दबिएको, उठेको, ठूलो वा सानो मनपर्ने हुन्छ । त्यस्तो अवस्थामा पनि हामीले कस्मेटिक सर्जरीद्वारा ब्यक्तिको सो इच्छा पूरा गर्न सक्छौ ।
  • यस्ता सर्जरीको माध्यमबाट ब्यक्तिको मनोबल समेत अभिवृद्धि हुन पुग्दछ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ