२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यनायिका एवं व्यवसायी जेविकाको ‘हेल्थ एण्ड फिटनेस’ रहस्य

नायिका एवं व्यवसायी जेविकाको ‘हेल्थ एण्ड फिटनेस’ रहस्य


युवा पुस्ताकी सुन्दर नायिका हुन्—जेविका कार्की । नायिकासँगै उनका अन्य परिचय पनि छन् । मोडल, सञ्चारकर्मी एवं व्यवसायीका रुपमा । काठमाडौंको जडिबुटीमा उनको आफ्नै व्यवसाय छ । करोड बढी लगानीमा ३ वर्षअघिदेखि डेकोर र लाइट कम्पनी ‘बाला’ चलाइरहेकी छन् । झण्डै तीन महिनाअघि मात्रै उनले हेल्दी फुडहरु सर्वे गर्ने हेतुले ‘हङ्ग्री गार्डेन रेष्टुरेन्ट’ सञ्चालनमा ल्याएकी छन् ।

धेरै भूमिका भएकाले २६ वर्षीया जेविका विहानदेखि साँझसम्मै व्यस्त रहन्छिन् । त्यही कारण उनको प्रायःजसो सुत्ने र उठ्ने समय निश्चित हुँदैन् । ‘विहान उठ्ने समय निश्चित छैन् । राति कतिबेला सुते, त्यही आधारमा विहान उठ्ने तय हुन्छ,’ उनले हालैको एक मध्यान्ह हेल्थआवाजसँगको कुराकानी भनिन्, ‘पहिले कलेज पढ्दा भने विहान साढे ५ बजे नै उठ्थे ।’ तापनि उनी जतिसक्दो चाडो सुत्ने र उठ्ने प्रयासमा हुन्छिन् ।

जेविका आफूलाई फिट राख्नका लागि एक्ससाइज गरिरहेकी हुन्छिन् । कार्डियो र अन्य वर्कआउटहरु घरमै गर्छिन् । योग पनि उनलाई मनपर्ने अभ्यासमा पर्छ । तर, केही समययता भिटामिन डी कमीका कारण वर्क आउट गर्दा खुट्टा दुख्ने समस्या भएकाले उनले बिराम लगाएकी छन् । ‘भिटामिन डी सप्लीमेन्ट लिएर केही समय वर्कआउट छोडेकी छु,’ उनले सुनाइन् ।

विगत २—३ महिनादेखि उनले डाइटले आफूलाई ब्यालेन्स गरिरहेकी छन् । उनी सामान्यतयाः सबै खानेकुरा खान्छिन् । तर, प्रोटिन भएका खाने कुराहरु अलि बढी लिन्छिन् । ग्यास्ट्रिकको समस्या भएकाले विहान उठ्ने बितिकै कहिलेकाही खाली पेट लसुन खान्छिन् । त्यसपछि नियमित एक मग मनतातो पानी पिउँछन् । उनी कुनै पनि विहान कालो कफी पिउन छुटाउँदिनन् ।

कफी पिएपछि उनी अफिसका लागि निस्किन्छन् । अफिस पुगेपछि ब्रेकफास्ट लिन्छिन् । ब्रेकफास्ट उनको मुडअनुसार फरक—फरक हुन्छ—कहिलेकाहीँ फलफूल, कहिले सलाद त कहिले फ्राइ राइस । ‘खानामा कन्ट्रोल गर्ने भनेर म खाना नै नखाने होइन्, मात्रामा चाहिँ कन्ट्रोल गर्छु,’ उनले आफ्नो खानपिन शैलीबारे भनिन् । चाउमिन, ममलगायतका कुनै पनि खानेकुरा उनी फुलपेट खादिनन् । थोर थोरै मात्र लिन्छिन् ।

जेविकाको लन्च पनि निश्चित छैन । ‘हङग्री गार्डेन’ रेष्टुरेन्ट सञ्चालनमा ल्याएदेखि नयाँ—नयाँ परिकार परीक्षण भइरहेकाले केही न केही नयाँ परिकार हुन्छ । तर, यसअघि भने उनको लन्चमा सामान्यतयाः चाउमिन र फ्राइ राइस हुन्छ । जेविकाको साँझको डिनर घरमै हुन्छ । डिनरमा भात, नझानेको दाल, तरकारी हुन्छ । उनले नियमित नछुटाइकन खाने खाना दाल, भात र तरकारी हो । अम्रिकानो पनि उनको खानपिनमा नछुट्ने कुरामा पर्छ । डाइटमा बस्दा भने उनी मम, चाउमिनजस्ता खानेकुराहरु कन्ट्रोल गर्छिन् ।

स्कीनको सुरक्षामा उनी विशेष ध्यान दिन्छिन् । त्यसका लागि स्कीन सफा राख्ने उनको फर्मुला हो । ‘स्कीनका लागि म मेकअप गर्दिन्, एउटा सनस्क्रीन मात्रै प्रयोग गर्छु,’ उनले भनिन्, ‘स्कीनका केयरका लागि प्रशस्त पानी पिउने र सफा राख्ने गर्छु ।’

५ फिट १ इन्च अग्ली जेविकाको तौल ४८ किलो छ । रिफ्रेस हुनका लागि भने उनी फिल्म रोज्छिन् । ‘म एकदमै फिल्म हेर्छु,’ यी युवा नायिकाले भनिन्, ‘कहिलेकाही रातिको दुई—तीन बजे उठ्दा पनि फिल्म हेरिरहेकी हुन्छु ।’

मानसिक रुपमा आफूलाई सबल राख्नका लागि उनी धेरै समय व्यस्त रहन्छिन् । ‘मेन्टल रुपमा फिट राख्नका लागि म आफूलाई विजी राख्छु,’ उनले सुनाइन्, ‘जति काममा व्यस्त भयो, त्यति अनावश्यक सोचहरु कम आउँछन् । मेन्टल्ली फिट रहन सहयोग पुग्छ ।’ प्रायःजसो ड्राइभमा रहँदा उनी संगीत सुन्छिन् ।


क्याटेगोरी : सौन्दर्य स्वास्थ्य
ट्याग : #‘हङ्ग्री गार्डेन रेष्टुरेन्ट, #जेविका कार्की


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ