२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसौन्दर्य स्वास्थ्यसदाबहार सुन्दरी उषा, भन्छिन्, ‘मानसिक स्वास्थ्य फिट राख्दा जीवन स्वस्थ हुन्छ’

सदाबहार सुन्दरी उषा, भन्छिन्, ‘मानसिक स्वास्थ्य फिट राख्दा जीवन स्वस्थ हुन्छ’


‘सदाबहार सुन्दरी’ उषा खड्गी उमेरले ४३ वर्षको उकालोमा हिडिरहेकी छिन् । उनी अझै ३०-३२ वर्षकी युवतीजस्ती देखिन्छिन् । अनुहारमा उस्तै ताजगी भेटिन्छ । मोडलिङ, विज्ञापनसँगै ‘उषा स्टाइलिस कलेक्सन’ मार्फत फेसन व्यवसाय हाँकिरहेकी उनी सन् २००० की नेपाल सुन्दरी हुन् ।

२२ वर्षदेखि ग्ल्यामर दुनियाँमा आफ्नो सुन्दरताका कारण नाम कमाएकी उनी ११ वर्षदेखि व्यवसायमा संलग्न छन् । अहिले न्युज २४ बाट प्रसारण हुने ‘आमा’ कार्यक्रमकी प्रस्तोता पनि हुन् । त्यसबाहेक उनी अहिले ‘सोसल मिडिया इन्फ्लुएन्सर’को भूमिका पनि छन् । मल्टीपल भूमिकाहरुमा एकसाथ जमिरहेकी उषा इभेन्टमा जज र कोरियोग्राफरका रुपमा पनि सक्रिय छन् ।

पछिल्ला २२ वर्षमा बागमतीमा धेरै पानी बगिसकेको छ । तर, उषाको सुन्दरतामा कुनै बदलाव छैन । सुन्दरता र जवानीमा खानपिन, व्यायामजस्ता कुराको प्रभाव रहन्छ । के उषाको सौन्दर्यको राज पनि यही हो ? आज हामी उषाको खानपान, जीवनशैलीबारेमा गफगाफ गरौं है त ?

युवा व्यवसायी उषाको दैनिकी विहान साढे ६ बजेटबाट सुरु हुन्छ । उठ्ने बितिकै उनी पानी पिउँछिन् । त्यसपछि चिया लिन्छिन् । उनीको रोजाइमा लेमन ग्रास टी वा कालो चिया पर्छ । त्यसपछि भान्सामा छिर्छिन् । भान्सामा काम गर्ने स्टाफ भएकाले सुपरभाइज गर्छिन् ।

यतिन्जेल छोराछोरीको स्कुल जाने टाइम भइसक्छ । छोरा र छोरीलाई स्कुल पठाउँछिन् । त्यसपछि केही फुर्सदको समय बच्छ । केही समय मोबाइल चलाउँछिन् र अपडेट हुन्छिन् । त्यसपछि उनी ४५ मिनेट शारीरिक अभ्यास गर्छिन् । ‘म नियमित योगा गर्छु,’ हालैको एक मध्यान्ह हेल्थआवाजसँगको भलाकुसारीमा उनले सुनाइन्, ‘प्राणायाम, श्वासप्रश्वास सम्बन्धि व्यायाम गर्छु ।’ यसका साथै संगीत बजाएर आँखा बन्द गरेर केही समय मेडिटेसन पनि गर्छिन् । नियमित ४ केजी तौल उठाउँछिन् । त्यही कारण ५ फिट ५ इन्च उचाइ भएकी उषाको वजन ६१ किलो छ ।

यो अभ्यास नियमित गर्ने भएकाले राम्रो नतिजा आउने उनको अनुभव छ । ‘यो नियमित गर्नुपर्ने एक्ससाइज हो । यसको नतिजा लामो समयसम्म शरीर मेन्टेन हुन्छ,’ उनी भन्छिन् ।

उषा जाडोमा चाहिँ यो अभ्यास अक्सर मात्रै गर्थिन् । तर, गर्ने र नगर्ने हुँदा अनुहार सुन्नेको जस्तो हुन थाल्यो । त्यही कारण चिकित्सकको सल्लाहमा जाडोमा साताको ३ दिन शारीरिक अभ्यास गर्छिन् ।

विहान ब्रेकफास्ट गर्ने उनको बानी छैन । उषाले खानपिनमा १६ घण्टे फास्टिङ लागु गरेकी छन् । रक्तचाप कहिले उच्च र कहिले न्यून हुन थालेपछि गत अगष्टबाट उनले खानपिनमा फास्टिङ गर्न थालेकी हुन् । सुरुका ६ महिना उनले पूर्ण रुपमा १६ घण्टा नै फास्टिङमार्फत तौल घटाइन् । अहिले कहिलेकाही यो फास्टिङ १४ घण्टासम्ममा झर्छ । ‘साँझ ७ देखि साढे ७ को बीचमा खान्छु,’ उषा भन्छिन्, ‘त्यसपछि अर्को दिन बिहान १०—११ बजेका बीचमा खान्छु ।’

फास्टिङमा रहँदा उनलाई सुरु—सुरुमा भोक लाग्थ्यो । त्यतिबेला उनले कालो चिया र सुगर फ्री विस्कुट लिइन् । ‘सुरुमा सक्दिनँजस्तो भएको थियो । तर, विस्तारै यसले मलाई निन्द्रा लाग्ने, ग्यास्ट्रिक नहुने, तौल घट्ने, प्रेसर नियन्त्रण भयो,’ उनले सुनाइन्, ‘भोलिसम्म भोकै बस्नुपर्छ भन्ने मानसकिताले म धेरै पानी पिउने भए ।’

उषाको खानपिनमा पनि तडक—भडक छैन । खानामा दाल, भात, तरकारी, साग, गेडागुडी हुन्छ । एक छाक मात्र भात खाने भएकाले उनको विहानको खाना थकाली स्टाइलकै हुन्छ । उनी नबिराइकन दैनिक एउटा अण्डा खान्छिन् । त्यसबाहेकका उनको प्रिय परिकार आलु फ्राई त अनिवार्य नै हुने भयो । अक्सर मासु खानाका समेटिन्छ । उनको भान्सामा प्रायः कुखुराको मासु पाक्छ । तर, इभेन्ट र सुटिङमा जाँदा भने खाना खाने समयमा ढिलाइ हुने भएकाले उनी ब्रेकफास्ट पनि लिन्छिन् । ब्रेकफास्टमा २ पाउरोटी, अण्डा, ससेज, दुध र हर्लिक्स हुन्छ । उषाको ब्यागमा ट्याङ्ग जुस राख्ने गर्छिन् । दही र सलाद पनि उनको मेनुमा छ ।

विहानको खाना खाइसकेपछि उषा साढे ११ देखि साढे १२ सम्म अफिस पुगिसक्छिन् । मःम, पिज्जाजस्ता बाहिरका खानेकुरा प्रायः खादिनन् । अहिले अक्सर लिएपनि पहिले त उनी फास्टफुडहरु छुदैनन् थिइनँ । दिनभर अफिस, मिटिङ, सुटिङलगायतका कामहरुबाट उनी चाँडोमा ६ बजे र ढिलोमा ८ बजेसम्म घर फर्किसक्छन् । उनको साँझको खानामा पास्ता, वोट्स, दही, दाल, रोटी, पाउरोटीजस्ता कुराहरु हुन्छन् । उषा भान्छामा तोरी, सोयाबिनको तेल र शुद्ध घ्यु प्रयोग गर्छिन् ।

खाना खाइसकेपछि बच्चाको होमवर्क हेर्ने, खेल्ने र छोरालाई साढे ९ बजेसम्म सुताइसक्ने उनको रुटिङ छ । त्यसपछि केही सयम साथीभाइसँग गफगाफ गरेपछि उनी ११ बजेसम्म बेडमा पुगिसक्छन् । ‘१० घण्टा निन्द्रा पु–याउँछु । यो मैले कोभिडको समयमा सिके,’ उषा भन्छिन्, ‘दिनभर सुत्ने १० बजे उठ्ने, जे पायो त्यही परिकार बनाएर खाने गर्दा स्वास्थ्यलाई राम्रो भएन् । निन्द्रा र खानपिन राम्रो भएन भने एन्जाइटी भयो ।’ त्यही कारण उनी अहिले सक्रिय जीवन र सन्तुलित जीवनशैलीमा जोड दिन थालेकी छन् ।

दुई सन्तानकी आमा उषाको सुन्दरताको राज के हो ? ‘खानपिन, फेसनलगायतका सबै कुरामा विशेष ध्यान दिनुपर्छ,’ हाँस्दै उनले सुनाइन्, ‘म मध्यवर्गीय परिवारबाट आएकी हुँ । सबै कुरा सिक्दैं आए । सायद मेरी आमा सुन्दर भएर पनि म राम्री होला ।’ सन् १९९९ देखि निरन्तर एकनास लाइमलाइटमा रहेकी उनी राति झगडा हुँदा पनि बिहान त्यो सबै बिर्सिएर ओठमा मुस्कान बोकेर निस्किन्छन् । त्यही उनको खास विशेषता हो ।

उषा स्कीनको पनि उतिकै ख्याल राख्छिन् । महिनाको एकपटक ‘हाइड्रा फेसियल’ गर्छिन् । विहान भिटामिन, सिरम, सनस्क्रिन र मोस्चोराइजर अनि सामान्य मेकअप गर्छिन् । राति फेस वास, रेटनल सिरम र मोस्चोराइजर प्रयोग गर्छिन् । कपालको स्याहार गर्ने समय निकाल्न नसक्ने भएकाले उनी पार्लरमै गएर हरेक १५ दिनमा कपालको ट्रीटमेन्ट गर्छिन् । साताको दुईपटक तेल लगाउँछिन् ।

स्वस्थ जीवनका लागि बाहिर निस्कँदा घरबाटै टिफिन लैजान उनको सुझाव छ । त्यसबाहेक मौसमी खानेकुरा सकेसम्म अलिअलि खान, कतै खाना, खाजा खानुअघि सम्भव भएसम्म अलि अगाडी नै पानी खान, शरीर सन्तुलनमा राख्न नियमित ब्यायाम गर्न उनको आग्रह छ । ‘शरीर मेन्टेन गर्न एक वर्ष व्यायाम गरेर मात्र एक महिना छोड्दा पनि अप्राकृतिक हुन जान्छ,’ उषा भन्छिन्, ‘अनुहार र कपालमा पनि त्यस्तै हो । एक महिना वास्ता नगर्दा धेरै समस्या आएको हुन्छ ।’ त्यसैले सधैँ अनुहार, शरीर, कपालको स्याहारलाई निरन्तरता दिनुपर्नेमा उनको जोड छ ।

कोभिड–१९ ले निम्त्याएको एन्जाइटी

खानपिन र निन्द्राको अनियमिताका कारण कोभिड—१९ का बेला उषाको स्वास्थ्यमा समस्याहरु देखा परे । जसले रक्तचाप असन्तुलित भयो । एन्जाइटी देखियो । ‘मर्नुपर्छ र सन्तानलाई के हुन्छ भन्नेजस्ता कुराले धेरै तनाव हुँदोरहेछ,’ उनले लकडाउन अनुभव साटिन्, ‘यसका खानपिन राम्रो बनाउने, व्यस्त रहने, निन्द्रा पु¥याउने गर्नुपर्छ ।’

कोभिडमा उनको मनमा निकै कुरा खेलिरहन्थे । डेल्टा भेरियन्टको पिक टाइम थियो । उषा दिनभर सामान्य थिइनँ । राति सुतिरहेको बेलामा पनि आत्तिएर उठ्ने हुन थाल्यो । उनलाई कोभिड लागेर मरे भने के गर्ने भनने चिन्ता बढ्न थाल्यो । यतिकैमा एकदिन ‘प्यानिक अट्याक’ पनि भयो । त्यो दिन उनी अचानक साढे ५ बजे ब्युझिइन्, श्वास छिटो—छिटो बढ्दै गयो । श्वास फेर्न असहज भएकोजस्तो भयो । उनका हातखुट्टा काम्न थाले । ‘मलाई कोभिड भएकोले अब म मर्न लागे भन्ने लाग्यो,’ उनले अनुभव साटिन्, ‘छोरीलाई उठाए । उनले चिसोपानीमा खुट्टा डुबाइन् र प्यानिक अट्याक आएको भनेर भनिन् । म एकैछिनमा नर्मल भए ।’ त्यो घटनाबाट उषाले सामाजिक सन्जालले सब कन्सियस दिमागमा कति असर गर्छ भन्ने ठूलो पाठ सिकिन् ।

डाक्टर कहाँ गइन् । डाक्टरले धेरै नसोच्न सल्लाह दिए । त्यसपछि उनले आफ्नो जीवनशैलीलाई सक्रिय र सन्तुलित बनाइन् । सिलिपिङ म्युजिक र सद्गुरुका ज्ञान सुन्दै निदाउन थालिन् । विस्तारै उनको तनाव हट्दैं गयो, मस्त निन्द्रा लाग्न थाल्यो । निन्द्रा मज्जाले पुगेपछि मुड त्यसै फ्रेस हुन थाल्यो । फ्रेस भएपनि खुसी हुन थालिन् । उषाको अनुभवले भन्छ—जब मानिस सबै काम सकेर बेडमा पुग्छ । अनेकथरि सोच्न थाल्छ । यसले मनमा अनेक डर, छट्पटी जन्माउने गर्छ । त्यही कारण बेडमा गइसकेपछि केही कुरा नसोच्न उनी सल्लाह दिन्छिन् । ‘सोच्न छाडियो भने तनावबाट मुक्त हुन सकिन्छ । सोच्न थाल्यो भने नकारात्मक कुरा बढी आउने गर्दोरहेछ,’ उनले थपिन्, ‘मैले दिमाग ठिक हुँदा शरीर ठिक हुने कुरा जाने । त्यही कारण विगत र भोलिका दिन चिन्ता छाडेर वर्तमानमै जिउनुपर्ने सल्लाह उनको छ ।




क्याटेगोरी : सौन्दर्य स्वास्थ्य
ट्याग : #उषा खड्गी, #उषा स्टाइलिस कलेक्सन, #नेपाल सुन्दरी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ