२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविदेशबाट स्वास्थ्यका शैक्षिक कार्यक्रममा डिप्लोमा गर्नेहरु बढे, सीमा क्षेत्रमा भारतीय कलेज थपिदैं

विदेशबाट स्वास्थ्यका शैक्षिक कार्यक्रममा डिप्लोमा गर्नेहरु बढे, सीमा क्षेत्रमा भारतीय कलेज थपिदैं


काठमाडौं—चिकित्सा शिक्षा आयोग स्थापना भएर डिप्लोमा तहका शैक्षिक कार्यक्रम संचालन गर्ने संस्थाहरु घटेसँगै विदेशबाट पढेर आउनेको संख्या बढेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी)मा विदेश पढेर आउने विद्यार्थीले गराउने समकक्षता प्रमाणिकरणको तथ्यांकले विदेशमा चिकित्सा शिक्षाका डिप्लोमा तह पढ्नेहरुको संख्या बढेको देखिन्छ ।

सिटीइभिटीले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्ला दुई वर्षमा ४ सय ७ जनाले बाहिर पढेर आएको समकक्षता प्रमाणीकरण गरेका छन् । आर्थिक वर्ष २०७१/०७२ देखि ०७७/०७८ सम्म जम्मा ४१६ जनाले मात्रै समकक्षता प्रमाणीकरण गराएका थिए । समकक्षता प्रमाणीकरण गराउनेमा ल्याब, एचए, डिप्लोमा इन फार्मेसी र पिसीएल नर्सिङ गरेर अध्ययन गरेर आउनेहरु छन् ।

वि.सं. २०७५ मा चिकित्सा शिक्षा ऐन र वि.सं. २०७६ मा चिकित्सा शिक्षा आयोग बनेपछि आफ्नै १०० शैय्याको अस्पताल हुनेले मात्रै डिप्लोमा तहका चिकित्सा शिक्षाका कार्यक्रम संचालन गर्न पाउने र विश्वविद्यालय र प्रतिष्ठानहरुले डिप्लोमा तहको कार्यक्रम संचालन गर्न नपाउने भएपछि नेपालमा डिप्लोमा तहमा पढाइ हुने सिट संख्या घटेको हो ।

सिट संख्या घटेसँगै छिमेकी देश भारमा गएर चिकित्सा शिक्षाका डिप्लोमा तहका कार्यक्रम अध्ययन गरेर आउनेको संख्या बढ्न थालेको हो । सिटिइभिटीको तथ्यांकअनुसार वि.सं. २०७१/०७२ मा ९ जना, ०७२/०७३ मा १४ जना, ०७३/०७४ मा २८ जना, ०७४/०७५ मा ५३ जना, ०७५/०७६ मा ११३ जना, ०७६/०७७ मा १०९ जना, ०७७/०७८ मा ९० जना विदेश पढेर आएको देखिन्छ ।

आयोग स्थापना भएर ऐन कार्यन्वयनमा आएपछि त्यो संख्या झण्डै दोब्बरले वृद्धि भएको छ । ०७८/०७९ मा १४६ जना र ०७९/०८० मा २६१ जनाले विदेश पढेर आएर समक्षकता प्रमाणीकरण गरेका छन् । यी विद्यार्थीहरु आर्थिक वर्ष ०७५/०७६ र ०७६/०७७ मा अध्ययन गर्न गएर आएका हुन् ।

सिटीइभिटीको पाठ्यक्रम विकास तथा समकक्षता महाशाखाका प्रमुख अनुज भट्टराई बाहिर पढेर आउने ८२ प्रतिशत विद्यार्थी भारतमा पढेर आउने गरेको बताउँछन् ।

भारतमा पिसिएल नर्सिङ पढाइ नहुने हुँदा यो संख्या देखिएको छैन । तर, यस वर्ष भारत सरकारले नै १५७ वटा नयाँ नर्सिङ कलेज स्थापना गरेर नेपाली विद्याथी तान्ने रणनीति बनाएपछि यो संख्या बढ्ने जानकारहरु बताउँछन् ।

भारतीय कलेजहरुले नेपालबाट विद्यार्थी लैजानका लागि सिटीइभिटीद्वारा मान्यता प्राप्त र नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भन्दैं नेपालका सीमा क्षेत्रका सहरहरुमा विज्ञापन गर्न थालेका छन् । तर, दुवै परिषद्ले विदेशी कुनै पनि संस्थालाई मान्यता नदिएको र दर्ता नगरेको दावी गरेका छन् ।

भारतीय कलेजहरुले निकालेको विज्ञापनअनुसार उनीहरुले स्वास्थ्यको डिप्लोमा तहको कोर्सका लागि नेपाली विद्यार्थीलाई तीन लाख भारतीय रुपैयाँ लिने भनिएको छ । तर, जानकारहरु यो विशुद्ध कलेजले लिने ट्युसन शुल्क मात्रै रहेको थप अन्य शुल्क जोड्दा नेपाली १० लाख रुपैयाँ पुग्ने बताउँछन् । ती कलेजहरुले सिटीइभिटीकै पाठ्यक्रम कपी गरेका छन् । स्रोतकाअनुसार पढाउने शिक्षक पनि नेपाली नै हुन्छन् भने विद्यार्थी पनि नेपालबाटै लगेर पढाइन्छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ