२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकृपया घर मै बसिदिनुस्

कृपया घर मै बसिदिनुस्


अरुण क्षेत्री, मेडिकल रेडियो-इमेजिङ्ग टेक्नोलोजिष्ट

गत डिसेम्बरदेखि चीनको वुहान प्रान्तबाट सुरु भएको भनिएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिन पुगेको छ । विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार यो लेख तयार पार्दासम्म कोरोना भाइरसको संक्रमण १ सय ७७ देश एवं भौगोलिक क्षेत्रहरुमा फैलिएको छ भने संक्रमितको संख्या २ लाख ३४ हजार ७४ पुगेको छ । सो संक्रमणका कारण हालसम्म ९ हजार ८ सय ४० जनाले ज्यान गुमाइसकेका छन् ।

नेपालका सन्दर्भमा हालसम्म एक जनामा मात्र सो संक्रमण देखिएकोमा सो संक्रमित समेत निको भइसकेको भएपनि छिमेकी देशलगायत अन्य विश्व देखिएको महामारीको अवस्था र सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले उच्च सतर्कता एवं पूर्व तयारीलाई तीव्रता दिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न स्कुल, कलेजहरुलाई चैत्र मसान्तसम्म बन्द गरिएको छ ।

अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा र कार्यक्रमहरु समेत केही समयका लागि स्थगन गर्न सरकारले अनुरोध गरेको छ ।सर्वसाधारणहरुलाई अनावश्यक रुपमा घर बाहिर ननिस्कन र सो संक्रमणको रोकथाम एवं सम्भावित संक्रमणको नियन्त्रणमा सरकार र स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्न समेत सरकारले अपिल समेत गरेको छ ।

यस्तो अवस्थामा आफू र आफ्नालाई कोरोना भाइरसको सम्भावित संक्रमणबाट बचाउन एवं कोरोना संक्रमणविरुद्ध सरकार र स्वास्थ्यकर्मीहरुको कामलाई प्रभावकारी बनाउन हरेक आम नागरिकको भूमिका महत्वपूर्ण हुने गर्दछ । त्यसैले निम्न सावधानी एवं सुझावहरु अपनाई कोरोना संक्रमणविरुद्धको लडाइमा हातेमालो गरौं ।

१.आतंकित होइन सतर्क बनौं

विश्व स्वास्थ्य संगठनको आँकडालाई हेर्ने हो भने हालसम्म संक्रमित मध्ये करिब ४.२ प्रतिशतले मात्र ज्यान गुमाएको अवस्था छ । यसको अर्थ, कोरोना लाग्दैमा मरिने होइन । तर, संक्रमणको फैलावट हेर्ने हो भने जुन जुन ठाउँमा पूर्व सतर्कता र सावधानी अपनाइएको छैन ती सहर र देशहरुमा संक्रमणले महामारीको रुप लिएको देखिन्छ । त्यसैले सकारात्मक मनोबलका साथ सतर्क बनौं र सावधानी अपनाऔं ।

२. रोकथामका उपाय र सावधानी अपनाऔं

हालसम्मका अनुभव, अध्ययन र अनुसन्धान अनुसार कोरोना भाइरसको संक्रमणका कारण हुने रोग ( कोभिड—१९)ले मानिसको फोक्सोमा आक्रमण एवं असर गर्ने र संक्रमितले खोक्दा, हाँच्छ्यु गर्दा, संक्रमित बिरामी वा बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका सरसमान, लुगाफाटा वा संरचनाहरुको सम्पर्कमा आउँदा कोरोना संक्रमण फैलिने गरेको पाइएको छ । त्यसैले कोरोना भाइरसको संक्रमण रोक्न कुनै पनि व्यक्ति वा वस्तुलाई छोएको हात वा सामाग्रीले नाक, मुख वा आँखा छुने चलाउनेजस्ता क्रियाकलाप नगर्ने, नियमित रुपमा साबुन पानीले हात धुने, ह्यान्ड स्यानिटाइजरले हात सफा गर्ने, घर बाहिर एवं भिडभाडमा निस्किदा मास्क लगाएर वा सफा कपडाले नाकमुख छोपेर हिड्ने, साथीभाइ, पाहुना वा आफन्तसँग भेटघाट हुँदा अभिवादन गर्दा हात मिलाउनु, अंकमाल गर्नुको सट्टा नमस्ते गर्ने, खोक्दा, हाँच्छ्यु गर्दा रुमाल, टिस्यु पेपर वा कुहिनोले नाक मुख छोप्ने र सो क्रममा प्रयोग भएका रुमाल, कपडा वा टिस्यु पेपरलाई राम्रोसँग साबुन पानीले धुने वा संक्रामक फोहोरको रुपमा सहि व्यवस्थापन गर्ने समेत गर्नु पर्दछ ।

जसका कारण एक व्यक्तिबाट अर्को व्यक्तिमा सो माध्यमबाट संक्रमण फैलिन नपाओस् । त्यसबाहेक यो भाइरस जनावरबाट मानिसमा सर्ने भएकाले माछा, मासु, अण्डालगायतका खाद्य पदार्थ राम्रोसँग पकाएर मात्र खाने गर्नु पर्दछ । याद राख्नुहोस्, यी रोकथामका उपाय एवं सावधानीहरुले तपाईलाई कोरोना भाइरसको संक्रमणबाट मात्र होइन्, हावा वा प्रत्यक्ष सम्पर्कको माध्यमबाट सर्ने स्वासप्रश्वास सम्बन्धि रोगलगायतका अन्य सरुवा रोगबाट समेत जोगाउने छ ।

३.सामाजिक दूरी कायम राखौं, अनावश्यक रुपमा घर बाहिर ननिस्कौं

कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम कम गर्न सरकारले सबै सर्वसाधारणलाई घर मै रहि सामाजिक दूरी कायम गर्न र अनावश्यक रुपमा घर बाहिर ननिस्कन अनुरोध गरेको छ । त्यस्तै, सरकारले २५ जनाभन्दा बढीको संख्यामा भेला जमघट हुन रोक लगाएको छ भने अत्यावश्यक बाहेकका सेवा एवं पठनपाठन, खेलकुद, मनोरञ्जनलगायतका क्रियाकलापहरुलाई केही समयका लागि स्थगन गरेको छ । सर्वसाधारणका अत्यावश्यकीय सेवामा सहजताका लागि सरकार र सम्बन्धित सेवा प्रदायकहरुले नीति—नियम र सेवा प्रक्रियामा आवश्यक लचिलोपन कायम गरेका छन् ।

हालका लागि नेपालको कुनै पनि बैंक वा वित्तीय संस्थाको एटीम कार्ड प्रयोग गरी अर्को कुनै पनि बैंक वा वित्तीय संस्थाको एटीम मेसिनबाट पैसा निकाल्दा कुनै थप शुल्क नलाग्ने, कुनै एक बैंकको खाताबाट अर्को बैंकको खातामा अनलाइन माध्यमबाट (मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ) पैसा पठाउँदा कुनै थप शुल्क नलाग्ने व्यवस्था मिलाइएको छ । विजुली, पानी, इन्टरनेट, टेलिभिजनको महसुल भुक्तानी , मोबाइल रिचार्जजस्ता सेवाहरु घरमै बसेर अनलाइनमार्फत गर्ने सुविधा प्रदान गर्दै आएको अनलाइन पेमेन्ट गेट वे इ—सेवाले नियमितका सेवा सुविधाका साथसाथै ३० अप्रिलसम्मका लागि ५० भन्दा बढी बैंकहरुमा उमार्फत पैसा पठाउँदा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

त्यसैले, घरमै बसेर गर्न मिल्ने वा पछि गरे हुने कामका लागि यो सतर्कताको समयमा घरबाहिर ननिस्कौं । निस्कनै परे पनि आफ्नो नजिकमा उपलब्ध सेवाहरु प्रयोग गरौं, भिड्भाडदेखि टाढा रहौ र घर बाहिर जानुअघि मास्क लगाएर जाने, बाहिर रहँदा रोकथामका उचित उपाय अपनाउने र घर फर्केपछि साबुन पानीले राम्रोसँग हात धुने गरौं । खोकी, हाँच्छ्युजस्ता स्वासप्रश्वास सम्बन्धि समस्या देखिएका व्यक्तिहरुसँग भौतिक दूरी कायम राखौं ।

४. अत्यावश्यक भएमा वा कोरोना संक्रमणको शंका लागेमा मात्र स्वास्थ्य संस्था जानुहोस्

बिरामीको उपचार गरिने अस्पताललगायतका स्वास्थ्य संस्थाहरु सम्भावित कोरोना संक्रमितहरु हुन सक्ने र संक्रमण फैलिन उच्च सम्भावना भएमा स्थान समेत हुन् । त्यसैले अत्यावश्यक आकस्मिक सेवा वा कोरोना संक्रमणको शंका लागेको अवस्थामा बाहेक अन्य नियमित चेक जाँच, दीर्घ रोगहरुको परिक्षण एवं उपचार, बिरामी भेटघाटलगायतका उद्देश्यका लागि अस्पताल नजानुहोस् । नियमित औषधि सेवन गरिरहेका दीर्घ रोगका बिरामीहरुले सोही औषधिहरुलाई निरन्तरता दिनुहोस् । यसो गर्दा, एकातिर यहाँहरुलाई संक्रमण फैलिने सम्भावना टर्छ भने अर्कोतिर स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुलाई संक्रमणको नियन्त्रण र संक्रमितको उपचारको ध्यान केन्द्रित गर्न मद्धत मिल्छ ।

५. कोरोना संक्रमणको शंका लागेमा सेल्फ क्वारेन्टाइन र सेल्फ आइसोलेसनमा बस्नुहोस् र स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्

कोरोना संक्रमणका लक्षणहरु जस्तै ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएमा वा कोरोना प्रभावित क्षेत्रको हालसालै भ्रमण गरेको भएमा आफूलाई अरुबाट अलग्गै राखेर स्वास्थ्य संस्थामा सम्पर्क राखौं । आफूमा भएको संक्रमण आफ्नो परिवारका सदस्यलगायत अरुलाई नसरोस् भन्नका लागि नियमित मास्क लगाउने र बोल्दा, खोक्दा, हाँच्छ्यु गर्दा अरुबाट दूरी कायम गरेर रुमाल, टिस्यु पेपर वा कुहिनोले नाक, मुख छोप्ने गरौं । कोरोना संक्रमणको शंका निवारण नभएसम्म वा संक्रमण निको भएसम्म आफूलाई अरुबाट अलग्गाई क्वारेन्टाइन वा आइसोलेसनमा राखौं ।

६. रोग प्रतिरोधात्मक क्षमताको प्रवर्द्धन र स्वास्थ्यवर्द्धक क्रियाकलाप

कोरोना भाइरसको संक्रमणले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र पहिले नै अन्य कुनै प्रकारको संक्रमण रहेका व्यक्तिहरूमा बढी असर गरेको अनुसन्धानहरुले देखाएका छन् । उमालेको तातो पानी नियमित पिउने, नुनपानी वा वेसारपानीले कुल्ला गर्ने, लसुन, अदुवा, वेसारजस्ता आयुर्वेदिक गुणयुक्त पदार्थ खानामा प्रयोग गर्ने, सन्तुलित भोजन, नियमित व्यायाम र योगाजस्ता क्रियाकलापहरुको प्रत्यक्ष भूमिका कोरोना संक्रमण नियन्त्रणका सम्बन्धमा वैज्ञानिक रुपमा पुष्टी भैसकेको देखिदैन् । त्यसैले यस्ता क्रियाकलापलाई कोरोना संक्रमण नियन्त्रणको उपायको सट्टा व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता बढाउने र स्वास्थ्यवद्र्धधक क्रियाकलापको रुपमा बुझी निरन्तरता दिदैं संक्रमण रोकथामका उपाय र सावधानी अपनाउनु आवश्यक देखिन्छ ।
त्यस्तै, धूम्रपान र मधपान नगर्नु एवं व्यक्तिगत सरसफाइमा ध्यान दिनु फलदायी रहन्छ ।

७. भ्रम एव अफवाहको नियन्त्रण

विश्वभरि कोरोना भाइरसको महामारी फैलिएसँगै नेपालमा फेसबुक, ट्वीटर, युट्युवजस्ता सामाजिक संजालहरुमा विभिन्न किसिमका विशेषगरी बढी नकारात्मक, भ्रामक सूचना, समाचार, प्रस्तुतीहरु र अफवाह भाइरल हुँदै आएका छन् । जसले गर्दा सर्वसाधारणमा अनावश्यक चिन्ता, तनाव, डर र दुविधा उत्पन्न भएको छ । त्यसैले संक्रमण सम्बन्धि सूचना, समाचार एवं प्रस्तुतीहरु विश्वास गरेर सेयर गर्नु अघि त्यस्ता समाचार र सामाग्रीहरुको आधिकारिकता र त्यसले पार्न सक्ने सकारात्मक÷नकारात्मक प्रभाव सोचविचार गरेर सकारात्मक र जानकारीमूलक सामाग्रीमात्र सेयर गर्नु फाइदाजनक हुन्छ । विश्व स्वास्थ्य संगठन, नेपालका राष्ट्रियस्तरका विश्वसनीय पत्रपत्रिका र समाचार सेवाहरुलाई आधार बनाएर सन्तुलित, तथ्यपरक र सकारात्मक समाचारमात्र सेयर गर्दा सहि र जानकारीमूलक सूचना सम्प्रेषण हुने गई संक्रमण रोकथाम र नियन्त्रण सहयोग पुग्ने देखिन्छ ।

८. आवश्यक मात्रामा मात्र सरसमानको संचिति र कालोबजारी नियन्त्रण

सरकारले यथेष्ट समयका लागि खाद्यान्न, इन्धन लगायतका सामग्रीहरुको संचिति रहेको बताउँदै आइरहेको भएतापनि उपभोक्ताद्वारा सामाग्रीहरुको अनावश्यक संचिति र व्यापारीहरुद्वारा सामान लुकाउने र मुल्य बढाउने प्रवृत्ति देखा पर्न थालेको छ । केही समय पहिले मास्क र ह्यान्ड स्यानिटाइजरमा देखिएको कालोबजारी र अनावश्यक संचिति अहिले आएर खाद्यान्नलगायतका सामाग्रीहरुमा पनि देखिन थालेको छ । सरकारले सुरु गरेको सुपथ मुल्यका पसलहरुमा देखिएका लाइन र भिडभाडले २५ जनाभन्दा बढी जम्मा हुन नपाइने सरकारी निर्देशन कार्यान्वयनमा असर पु¥याएको देखिन्छ ।

सामान खरिदका लागि बारम्बार घर बाहिर निस्कनुको सट्टा केही निश्चित समयका लागि आवश्यक सम्पूर्ण सामग्रीहरुको जोहो गर्नु अहिलेको अपरिहार्यता हो । तर, अनावश्यक संचितिले कृत्रिम अभाव, कालोबजारी र असमान वितरणलाई प्रश्रय दिने र आवश्यकतामा रहेको वर्ग सेवाबाट बन्चित हुने भएकाले सबैले सह—अस्तित्वको भावना लिई सरकारलाई सहयोग गर्नु जरुरी छ ।

९. फुर्सदको समयको सदुपयोग

अहिले अधिकांश व्यक्तिहरु विशेष गरी विद्यार्थी वर्ग फुर्सदको समयमा रहेका छन् । कक्षा ९ सम्मका विद्यार्थीहरु आफ्नो वार्षिक परीक्षा सम्पन्न गरि नियमित जस्तै विदामा छन् भने सो भन्दा माथिल्ला तहका विद्यार्थीहरु कि त परिक्षा स्थगित भै घर बसेका छन् भने कि त पढाइ । घर बाहिर जान, हिडडुल गर्न त्यति उपयुक्त नरहेको वर्तमान अवस्थामा पढाइ वा परीक्षा स्थगन भएका विद्यार्थी वर्गले स्व—अध्ययन र अन्यले घर मै अभिभावकलगायत अन्य विभिन्न माध्यममार्फत सिक्न मिल्ने जीवन उपयोगी ज्ञान र सीपहरु लिदा समयको पनि सदुपयोग हुने र अनावश्यक घर बाहिर निस्कने प्रवृत्ति कम हुने देखिन्छ ।

अन्त्यमा, तपाईहरुको अत्यावश्यक सेवाका लागि अत्यावश्यक सेवाका कर्मचारीहरु र हामी स्वास्थ्यकर्मीहरु अनवरत ड्युटीमा छौं, हामी चाहेर पनि घरमा, छुट्टिमा बस्न सक्दैनौ, कृपया तपाईहरु हाम्रा लागि, आफ्ना लागि आकस्मिकबाहेक अन्य अवस्थामा आफ्नो घर भित्रै बसिदिनुस् ।

(लेखक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा कार्यरत छन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ