२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोरोना विरुद्ध लडाइको फ्रन्टलाइनबाट : छोरी आरभीलाई जन्मदिनको धेरै-धेरै शुभकामना

कोरोना विरुद्ध लडाइको फ्रन्टलाइनबाट : छोरी आरभीलाई जन्मदिनको धेरै-धेरै शुभकामना


छोरी,
आजको दिनमा तिमीसँग हुन नपाउँदा मन भक्कानिएको छ, मुटु छियाँछियाँ भएको छ । दिमाग एकातिर र शरीर एकातिरजस्तो भएको महसुस भैरहेको छ । तिम्रो त्यो निर्दोष अनुहार अनि तिम्रा ती चुलबुले क्रिडाहरू सम्झँदा मनमा काउकुतीजस्तो लाग्छ । संघमा समायोजन भएर भरतपुर अस्पताल आएको नि तीन महिनाभन्दा बढी भएछ । कोरोना अस्पताल प्रमुख भएको झण्डै एक महिना हुन थालेछ ।

तिम्रो पहिलो जन्मदिन तिम्रो पापा, दादा, म अनि परिवार मिलेर कति रमाइलोसँग मनाइएको थियो । समय यति बलवान हुँदो रहेछ कि त्यो नै तिम्रो पापासँग मनाएको पहिलो र अन्तिम जन्मदिन हुन पुग्यो । कति ‘पापा पापा’ भन्दै अगाडि पछाडि गरेथ्यौ । उहाँले बोलाउनु अगाडि नै भर्‍याङमा आएको आवाजमा नै तिमी ‘पापा’ भन्दै भर्‍याङमा दौडिन्थ्यौ ।

छोरी, तिमीले मलाई कति खोजिरहेकी छ्यौ होला ! तिमीसँग छुट्टिएर यसरी बस्न मलाई कहाँ रहर छ र ? तर तिम्रो यो अबोध मनले कसरी बुझ्छ र ?

वैशाख ८ गते भरतपुर अस्पतालबाट भरतपुर कोरोना विशेष अस्पतालमा प्रमुख भनेर चिठी जब मेरो हातमा पर्‍यो । एकछिन त म स्तब्ध भएँ । यो एउटा म माथि अस्पताल र अस्पताल प्रशासनले गरेको ठूलो विश्वास अनि चुनौती दुवै थियो । मनमा अनेकौं कुरा खेल्न लागे । छटपटी पनि भयो । संसार नै कोरोनामय भएको र डाक्टरहरू बिरामी छुन डराएको पनि मैले आफ्नै अगाडि देखेको अनि डाक्टर उता जान नमानेका कुराहरू पनि सुनेँ ।

आफ्नो पहिलो वर्थमा वुवा, आमा र दाइसँग आरभी

तर, सानोदेखि नै ठूलाको आदर र सानालाई माया अनि मेडिकल क्षेत्रमा सिनियर जहिले पनि सही हुन्छन् भन्ने सुनेको र त्यहीअनुसार गर्दै आएकोले म पछाडि हट्न सकिनँ । कोरोना भाइरस रोगको संक्रमण, रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न आफ्नो तर्फबाट प्रयास गर्नेछु भन्ने अठोट गर्दै एकपटक तिम्रो हजुरबुबालाई पनि फोन गरेँ डराई—डराई । उहाँले ‘सतर्कला अपनाएर काम गर, संक्रमण रोक्ने साधन मास्क, क्याप, लगाएर हिँड, सामाजिक दूरी अनि हात धुने’लगायतका कुरा दोहोर्‍याउनुभयो । फेरि सम्झाउँदैं थप्नुभयो, ‘प्रमुख भन्दैमा तिम्रो एक्लो प्रयासले हुँदैन, सम्पूर्ण कर्मचारी, प्रशासन, प्रयोगशाला, महानगरपालिका, राजनैतिक दलहरू, सुरक्षाकर्मी, प्राइभेट अस्पताल, मेडिकल कलेज, पत्रकारहरूसँग समन्वय गर्दै काम गर ।’ त्यसपछि मन अलिकति ढुक्क भयो ।

पहिले महानगरले सञ्चालन गर्दा र पछि अस्पताल प्रशासनले लिएपछि व्यवस्थापन फरक भयो । महानगरपालिकाले सञ्चालन गरेजस्तो सुविधा अब अस्पतालले दिन नसक्ने र कोरोना अस्पतालका कर्मचारी र बिरामीलाई भरतपुर अस्पतालले जस्तै सेवा सुविधा दिनुपर्ने नियममा बाँधिएकाले कति साथीहरूले लिखित राजिनामा नै बुझाउनुभयो ।

अस्पताल, क्वारेन्टाइन, स्वाब निकाल्ने काम र अब आइसोलेसन पनि एकै ठाउँमा हुँदा त्यो भीडभाडमा स्वाब निकालेर रिपोर्ट आउँदासम्म पनि संक्रमण नभएकोलाई पनि संक्रमण सर्ने डर भयो । चितवनको तेस्रो, कोरोना अस्पतालको पहिलो संक्रमितलाई बैशाख ३० गते राती भर्ना गरियो । भारतबाट आएकोले संक्रमण हुनसक्छ भन्ने कुरामा बिरामी आफै पनि अत्यन्तै सचेत हुनुहुन्थ्यो । ३१ गते उहाँसँगै अरू ३७ जना सम्भावित संक्रमितको स्वाब संकलन गरियो, जसमा अन्य अस्पतालमा भर्ना भएका बिरामी पनि थिए । अन्य रोग लागेर रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति संक्रमितको नजिकमा आउँदा रोग सर्ने डर पनि बढी हुन्छ । रोग लागिहालेमा गम्भीर लक्षण देखिने सम्भावना पनि त्यसरी नै बढ्छ । यसलाई न्यूनीकरण गर्न अन्य अस्पतालमा भर्ना भएका बिरामीलाई यस कोरोना अस्पताल नपठाई जुन अस्पतालमा भर्ना भएको छ, त्यहीँबाट स्वाब निकालेर पीसीआर ल्याबमा पठाउन पटक—पटक अनुरोध गर्दा पनि फोनमै धम्काउने काम नभएका होइनन् ।

आरभी

छोरी ! यस्तै छ यहाँ, कहिलेकाहीँ त स्वास्थ्यकर्मीले नै नबुझ्दा झन् अचम्म लाग्छ । जाँच गरेर सोही जाँचको आधारमा अप्रेशन गर्ने भनेपछि संक्रमितकै भीडभाड भएको ठाउँमा जाँच गर्न पठाउनु कत्तिको बुद्धिमानी होला र ? अस्थायी अस्पताल र पीसीआर प्रयोगशालाको स्थापना जुन उद्देश्यले गरिएको हो त्यसलाई नै पूरा गर्न नसकिए त अस्पताल बनाएको के औचित्य भयो र ?

मनमा धेरै कुरा खेल्छन् छोरी । कहिलेकाहीँ डर पनि लाग्छ । तिमीलाई आफ्नो पापाको त अनुहार याद छैन, फेरि मलाई पनि केही भए तिम्रो र दादाको के हुन्छ ? म एकल अभिभावक हो । यस्ता विचार आउन दिन हुँदैन भनेर कहिले सद्गुरुका कुरा, कहिले कर्ण शाक्यका पुस्तक पढ्दै सकारात्मक सोच राख्ने कोशिस गर्छु । भगवान् सँधै निष्ठुरी हुँदैनन् भन्दै काममा जान्छु । फेरि तिम्री आमाजस्तै यसै अस्पतालमा कार्यरत अर्की चिकित्सक आण्टी पनि गर्भवती छन् ।

उनलाई हेरेर पनि चित्त बुझाउँछु । हुन त काम जता भएपनि गर्नैपर्छ, जोखिम जतापनि छ, सेवा जताबाट पनि दिनुपर्छ । तिमीसँग छुट्टिन नसकेर पहिला त म होम क्वारेन्टाइनमा नै बसेँ । घरमा हुँदा कम्तीमा तिम्रो आवाज सुन्न पाउथेँ, तिमीलाई लुकेर हेर्न पाउथेँ । तिम्रो दादा ढोकासम्म आएर मलाई के चाहिन्छ पानी, मेवा, फलफूल भन्दै सोध्थ्यो । कहिलेकाहीँ म एक मिनेटसम्म हात धुन्छु, मास्क लगाउँछु, हजुर पनि लगाउनु भनेर मलाई छुन आउँथ्यो । त्यो बेला यस्तो हुन्थ्यो कि म शब्दमा बयान गर्न सक्दिनँ । तर, मेरो गन्धले नै म आएको थाहा पाएर तिमी रोएको आवाज सुन्न नसकेर नै म फेरि छुट्टै क्वार्टरमा बसेकी हुँ ।

सुरुवाती चरणमा अस्पतालमा कहिले रिएजेन्ट नहुने, कहिले भीटीएम् (भाइरस ट्रान्सपोर्ट मिडिया) नहुँदा बेला—बेलामा त सेवा अवरुद्ध भयो । सिमित मात्रामा भएको भिटिएम् र रिएजेन्टले काम गर्दा मानिसको चाहना भन्दापनि गाइडलाइनअनुसार गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ त छोरी यहाँ हामी स्वास्थ्यकर्मीले आफ्नो वुद्धि विवेकले काम गर्न पाउँदैनौँ । बारम्बार कुरा नबुझी आउने धम्कीपूर्ण फोनले हामीलाई तनावग्रस्त बनाउँछ । यस अस्पतालमा आएर हरेक मिनेट यो भएन त्यो भएन भन्न सक्ने सबैले यहाँ भएका राम्रा पक्षको उजागर र यहाँका समस्याको समाधानमा चासो देखाउनुपर्छ ।

यो महामारी नियन्त्रण गर्न इटालीको अवस्थाबाट पाठ सिक्दै ताइवानको हालको अवस्थामा पुग्न सबैको प्रयासले मात्र सम्भव छ । यति दिन रातदिन नभनी शनिबार नभनी चौबीसै घण्टा खटिँदा नि गाली सुन्न पर्दा चाहिँ मन छिया—छिया हुने रहेछ । तिम्री हजुरआमाले सधैँ भन्ने दैव नलागोस्, मान्छे लागेर केही हुन्न भन्ने मन्त्र दिनदिनै जप्दै आफैलाई सम्हाल्दैं अघि बढेकी छु । छिट्टै यहाँका बिरामी सञ्चो भएर घर पठाउन पाउँ भन्ने कामना गर्छु । यो रोगको नियन्त्रणसँगै क्वारेन्टाइन सकेर तिमीसँग बस्न आउने दिनको प्रतिक्षामा रहेकी तिम्री आमाको तर्पmबाट तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना र आशीर्वाद !

(वाणगंगा-११ कपिलवस्तु निवासी डा. शान्ति भरतपुरस्थित कोरोना विशेष अस्पतालकी प्रमुख हुन् । उनले आज पर्न गएको छोरी आरभीको जन्मदिनमा फ्रन्टलाइनबाटैं यो पत्र प्रेषित गरेकी हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार
ट्याग : #कपिलवस्तु, #डा. शान्ति, #भरतपुर कोरोना विशेष अस्पताल, #भीटीएम्(भाइरस ट्रान्सपोर्ट मिडिया)


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ