२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारस्वास्थ्यकर्मी मनोबल बढाउने सरकारको दायित्व

स्वास्थ्यकर्मी मनोबल बढाउने सरकारको दायित्व


कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बनिरहेको अवस्थामा नेपालमा पनि कोरोना भाइरसबाट दिन प्रतिदिन संक्रमितहरु बढिरहेका छन् । विद्यमान संक्रमणको कारण पछिल्लो समय स्वास्थ्य क्षेत्र तनावग्रस्त स्थितिमा पुग्ने हो कि भन्ने बारेमा सोच्नुपर्ने अवस्था आएको छ । अहिलेको मुख्य आवश्यकता भनेको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) नै हो । तर, अहिले विश्वभरी कोरोनाको प्रभावका कारण पीपीईको विश्वव्यापी अभाव रहेको छ ।

नेपालमा रहेका सम्पूर्ण अस्पतालहरुले स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्रीहरु उपलब्ध गर्न सकेको खण्डमा मात्र कोरोना विरुद्धको लडाइ जित्न सम्भव छ विश्वको सबैभन्दा राम्रो स्वास्थ्य प्रणाली भएका देशहरु पनि कोरोनाबाट आक्रान्त बनिरहेको अवस्थामा नेपालले स्वास्थ्यको क्षेत्रमा अहिले जति पनि कामहरु गरिरेको छ, ती अत्यन्त स्वागतयोग्य छन् । नेपालमा पनि चिकित्सक कोरोना विरुद्ध राम्रो काम गरिसकेका छन् । नेपालमा संक्रमितको दर बढ्दै गर्दा कोरोनाको जाँचलाई पनि वृद्धि गरिएको अवस्था छ ।

यस्ता आधारभूत स्वास्थ्य सामाग्रीको समस्याहरूको सन्दर्भमा सबै सरोकार निकायहरु एकजुट भएर निकास निकाल्नु पर्दछ । पीपीईको चरम अभावका कारण कोभिड—१९ विरूद्धको लडाइ लड्ने हाम्रा स्वास्थ्यकर्मीहरु आफ्नो ज्यान दाउमा राखेर संक्रमितहरुको उपचारमा खटिनु परेको छ । यो दुखद् पक्ष हो । नेपालमा अहिले उचित डिक्टेसन बिना डिस्पोजेबल पीपीई पुनः प्रयोग गर्नु परेको छ । स्वास्थ्यकर्मीहरु आफ्नो कर्तव्यको सिलसिलामा कपडाको मास्कमा निर्भर रहेका छन् ।

त्यसैले अहिले धेरै स्वास्थ्यकर्मीहरुमा एउटा व्यापक चिन्ताको विषय सिर्जना भएको छ । विशेष गरी धेरै बिरामीहरु आउने ठाउँमा खटिने स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) दिएर आफ्नो कर्तव्य निर्वाह गर्न लगाउनु पर्दछ । वास्तविक भन्ने हो भने अहिलेको अवस्था भनेको को मान्छेसँग कोरोना भाइरस रहेको छ भन्ने कुनै आधार नै नरहेको अवस्था छ । यो हाम्रो राष्ट्रिय संकटको समयमा सरकार तथा अस्पताल संचालकहरुले संकटमा कसरी काम गर्ने भन्ने रणनीतिहरू अवलम्बन गर्न आवश्यक छ ।

सर्वप्रथम, फ्रन्टलाइनमा काम गर्ने सबैलाई कसरी संक्रमण नियन्त्रण गर्ने भन्ने अभ्यासहरू गराउनु आवश्यक छ । अहिले स्वास्थ्यकर्मीहरु आफ्नो तलबभन्दा आफ्नो सुरक्षाको बारेमा बढी चिन्तित छन् । सरकारलाई भनिरहेका छन्, ‘पीपीईको उपलब्धता सहज गरौं । हामी सेवा दिन तयारी अवस्थामा छौ । सकिन्छ ।’ उचित समयमा उक्त सामाग्रीहरु व्यवस्थापन हुन सकेको खण्डमा स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण नफैलिने र धेरैभन्दा धेरै संक्रमितहरुको उपचार गर्न सकिने छ ।

व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)को व्यवस्थापन गर्दैगर्दा कोरोना परीक्षण गर्ने किटहरूको अभावलाई ध्यानमा राखी व्यवस्थित रूपमा परीक्षण गर्नु पर्दछ । जसले गर्दा स्वास्थ्यकर्मीहरु पनि शारीरिक र मानसिक रूपमा काम गर्न सहज मान्नेछन् । यो याद राख्नु महत्वपूर्ण छ कि अहिलेको संकटमा कोरोना विरुद्ध फ्रन्टलाइनमा हाम्रा डाक्टर, नर्सहरू र अन्य स्वास्थ्य क्षेत्रका जनशक्तिहरु खटिएका छन् । उनीहलाई उच्च सम्मान गरियोस्, उहाँहरू पनि मानव हुन् । धेरै फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरु चिन्ता, उदासीनता र अनिद्राका साथसाथै उनीहरूको परिवारलाई समेत संक्रमण हुने डरले गर्दा चिन्तित रहेका छन् ।

सरकारले पनि फ्रन्टलाइनमा रहेर खटिएका हाम्रा डाक्टर, नर्सहरू र अन्य स्वास्थ्य क्षेत्रका जनशक्तिप्रति उच्च सम्मान व्यक्त गर्नु पर्दछ । अहिले उनीहरू आफ्नो जीवनलाई नै जोखिममा राखेर यस महामारीको बोझ आफ्नो काँधमा बोकिरहेका छन् । सरकारले एक सहयोगीको रुपमा लचिलो तवरबाट अग्रणी स्वास्थ्य सेवामा खटिने फ्रन्टलाइनमा रहेकालाई उचित सहयोग गर्ने पर्दछ ।

(लेखक काठमाडौं न्यूरो तथा जनरल अस्पतालमा मेडिकल ल्याब टेक्नोलोजिष्टको रुपमा कार्यरत हुनुहुन्छ ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ