२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारस्वास्थ्यकर्मीका रूपमा कोभिड–१९ संक्रमण विरुद्ध १० दिनको कठिन लडाइ

स्वास्थ्यकर्मीका रूपमा कोभिड–१९ संक्रमण विरुद्ध १० दिनको कठिन लडाइ


कोभिड–१९ ले दिएको पीडा विस्तारै विर्सदैं मानिसहरु आफ्नो लयमा फर्कदैं थिए । तर, पुनः दोस्रो लहरले फेरी मानिस सन्त्रासमा बाँच्न बाध्य भए । म पनि यसबाट सावधानी अपनाउँदा–अपनाउँदै पनि संक्रमणबाट अछुतो रहिनँ । मेरो जागिर गुल्मीस्थित सरकारी जिल्ला अस्पतालमा थियो । जहाँ म बिरामीको उपचारमा दिनहुँ खटिरहेको हुन्थे । बिरामी अस्पतालमा विस्तारै कमी भएका थिए सुरु–सुरुका दिनमा । त्यसको कारण डर थियो । जुन ठाउँमा पनि मानिसहरु कोभिड–१९ कै कुराकानी गरिरहेका भेटिन्थे ।

डर र त्रास मनको एकापट्टी रहेपनि जागिर गर्नु आफूले अँगालेको पेसाको धर्म र दायित्व थियो । त्यसैले म विचलित नभएर बिरामीको सेवामा तल्लीन हुन्थे । अस्पतालमा मानिसहरु कोभिड–१९ बाट बच्न खोप लगाइरहेका थिए । यस समयमा कोभिड–१९ को दोस्रो लहरले सबैतिर आंतकित बनाइरहेको थियो । तर, कोही मानिसमा भने डर त्रास कत्ति पनि थिएन् । दिन प्रतिदिन सामाजिक सञ्जालमा भारतमा कोभिड–१९ को दोस्रो लहरले पारेको प्रभाव र असरको दृश्यले मानिसहरुलाइ निकै भावुक, स्तब्ध र निःशब्द तुल्याइरहेको थियो । केही दिनमै हाम्रो देश र समाजमा पनि त्यो अवस्था आउनै कुराको अन्दाज गर्न सकिन्थ्यो ।

समय सोचेभन्दा फरक भयो । कोभिड–१९ संक्रमणको स्थितिले नेपाललाई गाँज्न थाल्यो । बिरामीको चाप अस्पतालमा बढ्न थाल्यो । कोही आफ्नो आफन्तको पीडा सहन सकिरहेका थिएनन्, त कोही श्वास रहुन्जेल आश हुन्छ भनेझैं अस्पतालको पेटीमा बेड कुरिरहेका थिए । भिड अस्पतालमा मात्रै थिएन् । घाटमा दाहसंस्कारको लागि चिता कुरिरहेकाहरुको संख्यामा पनि बढोत्तरी थियो । यस्तो दृश्य देख्दादेख्दै पनि यता मान्छेहरु वेपरवाह बनिरहेका थिएँ । स्वास्थ्य मापदण्डको कुरालाई धेरैले वास्ता गरेका थिएनन् ।

०७८ वैशाख १० गते गुड फ्राइडे । सबैको घर जाने तयारी थियो । अफिसमा खाजा खाने समय भयो । त्यहिबेला एकजना स्टाफ दिदीले घाँटी दुखेको भन्नुभयो । मैले जिस्काएर तपाईलाई कोभिड–१९ लाग्यो भनेको याद ताजै छ । यो पटक कोभिड–१९ बाट जोगिन म बढी सचेत हुदैं घर गएँ । मलाई घरमा सुतिरहँदा त्यस रात घाँटी खसखस्साएको र सुख्खा भएको महसुस भयो । गाउँ न हो म सामाजिक दूरी कायम राख्दा, आफूभन्दा ठूला मान्यजनबाट आर्शिवाद नथाप्दा धेरैले मलाई मात्तिएछ वा ठूलो भएछ भन्ने सोचाइ आएछ । तर, मैले उहाँहरुलाई जवाफ दिए, ‘म कोभिड–१९ जोखिमको अग्रपंक्तिमा काम गर्छु भनेर तर उहाँहरुलाई म नराम्रो नै सावित भए ।’

त्यस दिनदेखि मेरो घाँटीको दुखाइ बढ्दै थियो । नुन पानीले कुल्ला गर्न थाले राती झन् साह्रै घाँटी दुख्यो । सुख्खा पनि भयो भने अर्कोतर्फ शरिरको तापक्रम पनि बढ्दै गयो । अर्को दिन विहान उठेर मेरो पहिलो काम ऐनामा घाँटी हेर्दा मलाई टन्सिल भएको छुट्टाउन कुनै गाह्रो भएन । मेरो बिरामीपनले घरमा बुवामम्मीले बिदा लिएर आराम गर्न भन्नुभएको थियो तर के गर्नु अफिसको जिम्मेवारीको कारण कष्टकर यात्रा गर्दै अफिस आएँ ।

मलाई कोभिड–१९ को लक्षण हो कि भनेर जाँच गर्ने कुरा आयो किनकी त्यतिबेलासम्म अफिसको फाँटमा अरु कर्मचारीलाई पुष्टि भइसकेको थियो । भगवानको कृपाले चेक गर्ने क्रममा मेरो रिपोर्ट नेगेटिभ आयो । के गर्नु रिपोर्ट नेगेटिभ आएतापनि मेरो स्वास्थ्य अवस्थामा पीडा झनझन् बढ्दै गयो । टाउको दुखेको, तापक्रम बढेको तर ज्वरो भने यति बेलासम्म आएको थिएन । अर्को दिन त रुघा पनि कति छिट्टै लागेको । हाछ्यु पनि धेरै लाग्यो । नाकबाट वर्षासरी सिगानको झरी बर्सिरहेको थियो । स्वास्थ्य सुधार भएन, पीडा झन् बढेर गयो ।

अर्कोदिन चेक गराउन अफिस गएँ । अफिस छिरेको मात्र के थिए सहकर्मी अर्को दिदीले रिपोर्ट देखाउदै आफू संक्रमित भएको जानकारी दिनुभयो । ल्याबको साथीलाई फोन गरें । अनि स्वाब दिएर रिपोर्टको प्रतिक्षामा बसे ।

केही समयपछि रिपोर्टको लागि ल्याबमा साथीलाई फोन गरे । उहाँको आवाज मधुरो थियो वा मेरा कान त्यस्तै भए । पुष्कर सर सुरक्षित साथ बस्नुहोस्, रिपोर्ट पोजेटिभ आयो । आफ्नो ख्याल गर्नू । उहाँले यत्ति भनिसक्दा बलेको दियोमा तेल थपिएजस्तै भयो मेरो मनमा । मन बुझाउनु थियो ।

संयम र धैर्य हुँदैं मनलाई बलियो बनाएर कोभिड–१९ लाई जित्नु थियो । त्यसैले सल्लाहको लागि र फाँटको जिम्मेवारीको समेत जानकारीको लागि अफिसमा मेसुलाई फोन गरें । उहाँले ल ठिकै छ । ख्याल गर । आराम गर । पीर नगर भन्नुभयो । औषधीको बारेमा जानकारी लिएर कोठामा बस्ने निर्णय भयो । उता भने मम्मीको आत्माले थाहा पाइसकेछ । मम्मीको मन न हो त्यतिबेला नै फोन आयो बाबु कस्तो छ तिमीलाई ? मैले भनें– ठिकै छ कोभिड–१९ रिपोर्ट पोजिटिभ आयो ।

यति भनी नसक्दैं मम्मीले फोन काट्नुभयो । सायद मम्मीलाई यो कुरा सुन्न असजिलो भयो । बुवालाई फोन गरी आफू संक्रमित भएको खबर सुनाएँ । बुवालाई भनिसकेपछि मैले फोन राखें । अफिसमा सबै दिदीहरूसँग विदा हुँदै आफ्नो रुममा गएँ । कोभिड–१९ को दोस्रो लहर सामाजिक सञ्जाल र समाचारमा आएका मृत्युका खबरले सबैको मनमा नमिठो छाप बसेको थियो । दुई दिन अगाडि हाम्रै गाँउका बेड नपाएर अक्सिजनको अभावले मृत्यु भएको खबरले मानिसहरु निकै आत्तिएका थिए । मैले सामाजिक सञ्जालमार्फत आफू कोरभिड–१९ को दोस्रो लहरदेखि अछुतो रहन नसकेको कुरा पोष्ट गरिसकेपछि मेरो स्वास्थ्य अवस्थाको बारेमा चासो राख्न सुरु भयो ।

म मा लक्षणहरु थिए, जसका कारणले केही समस्या देखिने पो हो कि भन्ने डर र त्रास मनमा थियो । अर्कोतर्फ अरुको घरमा डेरामा बस्ने म घरबेटीले के भन्ने हुन्, कस्तो व्यवहार गर्ने हुन्, केही भने के गर्ने होला भन्ने डर थियो । किनकी गत वर्षको कोभिड–१९ कहरमा उनको नराम्रो व्यवहार मैले भोगेको थिएँ ।

घरमा धेरै आत्तिएको हुँदा मेरो अवस्था बुझ्न दाइ आउनुभयो साथमा दाइको साथी पनि सँगै आउनुभयो । मेरो अवस्था देख्दा दाइ अलि आत्तिएजस्तो लाग्यो । यहाँ म बस्ने घरमा कुनै खबर नभएकोले दाइहरु छोटो समयमा नै मबाट छुट्टिएर फर्किनुभयो । त्यही बखत सामाजिक सञ्जालमार्फत अफिसको दिदीलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरेको खबरले मनलाई अझ शिथिल बनायो । प्रिय मित्र दिपक मेरो हरेक दुःख र सुखको सामीप्यतामा साथ दिदंै हाल अग्रपंतिmमा रही आवश्यक सामाग्री र खानाको साथमा उपस्थित हुनुभयो । एकातर्फ ज्वरो, रुघा, घाँटी र टाउकोको दुखाइको पीडा भने अर्कोतर्फ कोभिड–१९ को मनको बाघले खाएर मलाई निकै कमजोर बनाएछ । उठेर खाना खान पनि निकै गाह्रो अवस्था आयो ।

रात कतिबेला बित्ला र कहिले उज्यालो होला भन्दै भुइँमा लडिरहेको मुडाजस्तै खाटमा लडिरहेको थियो मेरो ज्यान । दोस्रो दिन विहान धेरै कुरा सोची घर साहुनीलाई आफू संक्रमित भएको जानकारी दिएँ । त्यो खबरले घरमा खैलाबैला मच्चियो । मनमा के हुने हो ? के भन्ने हुन ? डर र त्रासको कौतुहलताले पिरोली रह्यो । के गर्नु कोभिड–१९ संक्रमित त भए, मान्छेले हेर्ने दृष्टिकोण, गर्ने व्यवहार कुकुरलाई गरिने व्यवहारभन्दा फरक रहेन । मानवले मानवलाई गर्ने व्यवहार र कोठाभित्र पिजडामा बसे सरह बस्नुपर्दा मानिस मानसिक रोगको शिकार बन्न जान्छ । छोराको हेरचाह गर्नको लागि घरबाट बुबामम्मी आएपनि कोठाको झ्यालबाट नियालेर छोराको पीडा हेर्दा कसको आमाबाबुको मन थामिन्छ र !

आफ्नै छोराले कोठा भित्र नआउनु भनी रोक्दा मन भक्कानिन्थ्यो । यो कस्तो रोग आयो कोभिड–१९ भन्ने जात नै यस्तै आफ्नो र पराइ नभन्ने । बाहिर बसेर रमिता हेर्नु भित्र पस्दै नपस्नु पसे आगोको भुग्रोमा पसेजस्तै हो अहिलेको कोभिड–१९ । मांसपेशी, घाँटीको दुखाइ, रुघा, सिगानको वर्षा, टाउकोमा ढुंगाले थिचिएजस्तै सहन नसकी म बेडमा लडिरहेको थिएँ । कतिबेला निदाएछु पत्तै भएन । तेस्रो दिन बुबा दिदीको घरबाट आएर झ्यालबाट कान्छा–कान्छाको आवाजले मलाई ब्युझाँयो । साँझ अन्नभन्दा धेरै औषधी खाएर सुतें ।

कोभिड–१९ को औषधी त हुँदैन तर लक्षणअनुसारको भने उपचार गर्नुपर्छ । औषधी खान निकै गाह्रो हुने म यति धेरै खानु त मेरा युद्ध जितेजस्तै थियो । लक्षण कम हुने आशामा बेडमा सुतेको थिएँ, केही बेरको आरामपछि लगातार खोकीले गाह्रो बनायो । खोक्दा–खोक्दा अब त छातीमा पनि आगो लागेजस्तै चिरचिर पोल्न थाल्यो । अक्सिजनको मात्रा हेर्दा ९४ प्रतिशत छ । यसले मन अलिक आत्तिन थाल्यो । बेडमा कोल्टो परेर, घोप्टो फर्केर पनि हेरे तर अहँ खोकी कम भएन । रातभरी म खोकेरै बसें । औषधी सेवन, ज्वानो पानी, बेसार पानी, कागती पानी, जडिबुटी, फलफूल, काजु किसमिस, अदुवा, अण्डा, सुप, तातो पानी खानु त मेरो नियमित रुटिन नै थियो । त्यसदिनको बेलुकापख भने ज्वरो र रुघा कम भयो । केही आराम महसुस गरे । तर, खोकीसँगै छाती र टाउको दुखाइ भने बढ्दै थियो । यसको प्रभावले नै होला अक्सिजनको मात्रा घट्दै गयो । रातमा अक्सिजन स्याचुरेसन कतिबेला ९०, ९१ हुँदै ८८ सम्म झरेको थियो ।

मलाई थाहा थियो श्वसा फेर्न गाह्रो भए कोल्टे घोप्टो परेर सुत्नुपर्छ भनेर । मलाई गाह्रो नभएपनि म त्यसैगरी सुतें । खोक्दा–खोक्दै त्यसदिन पनि कति बेला निदाए पत्तै पाइन । साथीको सल्लाह थियो अस्पताल भर्ना भएर उपचार लिने तर मैले धैर्यता र आत्मबललाई बलियो बनाउँदै कोठामा रहेर कोभिड–१९ को लडाइ जित्ने प्रतिक्षामा थिएँ ।

कोभिड–१९ पोजेटिभ भएको चौथों दिन विहान उठेसँगै मेरो कोभिड–१९ व्रिुद्धको दैनिक समय तालिका सुरु भयो । तातोपानी र ज्वानोको झोल खाने, व्यायाम गर्ने, केहीबेर पछि चिया नास्ता खाने, खाना खाने, अनि पानी फलफूल, सुप, वाफ लिनेजस्ता काम गर्दै इन्टरनेट हेर्ने गर्दथें । यसरी नै मेरा केही पीडादायी दिनहरु बिते । ज्वरो, रुघा, घाँटीको दुखाइ कम भएको थियो । शरीर, टाउको र छाती दुखाइ एवं खोकी भने दिन प्रतिदिन बढ्दै थियो । सिटामोल १००० माइकोग्राम खाँदा पनि कुनै फरक परेन ।

८ औं दिनबाट भने स्वास्थ्यमा केही सुधार देखिन थाल्यो । तर, पनि शरीर, छाती र टाउकोको दुखाइ भने कम भएको थिएन । छातीको दुखाइ निकै बढेपछि एक्सरे खिचेर हेर्दा छाती भित्रको फोक्सोमा भने असर देखिएन् । मन अलि शान्त भयो । पिंजडा परेको सुगा जस्तै म कति बेला बाहिर निस्कुला भन्ने भएको थियो । डाक्टरको सल्लाह बमोजिम पिंजडाको भुमरीबाट पार हुँदै १० औं दिनदेखि अफिसको दैनिकीमा जोडिने निर्णय गरे । बाहिरी वातावरणको प्रभावले टाउको दुख्न छाड्छ कि भन्ने आशा बोकी १० औं दिनमा अफिस गएँ ।

जीवनले फेरि नयाँ गोरेटो पाएजस्तै भएपनि श्वास फेर्न असजिलो महसुस भयो । नौनी घिउजस्तै कमजोर भएको शरीरमा शक्ति भने कत्ति पनि थिएन । हिँड्डुल गर्न पनि गाह्रो भयो । करिब एक महिना बितिसक्दा पनि कोभिड–१९ को असर टाउको र शरीरको दुःखाइ बेला–बेलामा खोकी अझै छ । त्यसैले लामो समयसम्म पनि यसको असर रहने हुँदा आत्मबल बढाउनु जरुरी देखिन्छ ।

कोभिड–१९ को व्यापक असरले धेरै मानिस यसबाट नराम्ररी प्रभावित भैरहेका छन् । बिरामी अक्सिजनको अभावमा आफ्नो आयुलाई अगाडि बढाउन सकिरहेका छैनन् । कोभिड–१९ विरुद्ध लड्न हरेक पटक साबुन पानीले हात धुने, माक्स तथा सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, स्वास्थ्य मापदण्ड पालना गर्नेजस्ता सुरक्षात्मक मापदण्ड प्रयोग गरिरहेका छन् । हामी कोेभिड–१९ जस्तो भाइरसलाई जित्नका लागि रणमैदानमा उत्रिएका छौं । यसबेला यसको संक्रमणमा पर्नेहरुलाई हेपाहा प्रवृत्तिले हेर्ने काम नगरौं बरु मनोबल बढाउनेजस्ता कार्य गरौं ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ