२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशम्याद नाघेको आयोडिन नुन बेच्ने डिपो सिल

म्याद नाघेको आयोडिन नुन बेच्ने डिपो सिल


जुम्ला – सिंजा गाउँपालिकाको नराकोटस्थित साल्टट्रेडिङ कर्पोरेसन लिमिटेड डिपो कार्यालय सिलबन्दी गरिएको छ । म्याद नाघेको आयोडन नुन वितरण गरेपछि इलाका प्रशासन कार्यालय नराकोट जुम्लाले डिपो सिल बन्दी गरिएको हो ।

लकडाउनले मर्कामा परेका विपन्न परिवारलाई दैनिक उपभोग्य वस्तु राहत वितरण गर्ने क्रममा हिमा गाउँपालिकाले म्याद नाघेको नुन वितरण गरेको थियो । प्रशासनले अनुगमन गर्दा हिमा गाउँपालिका– १ का नरेन्द्र विक र बबरजंग शाहीले राहतमा पाएको नुनको उत्पादन मिति क्रमशः २०१६ र २०१७ उल्लेख गरिएको थियो ।

हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले गाउँपालिकाले अग्रिम जानकारी गराउदा गराउदै डिपोबाट म्याद सकिएको नुन बेचेको बताए । उनका अनुसार नुन खरिद गर्नु पूर्व डिपो प्रमुखसँग म्याद नसकिएको, डल्ला नपरेको, कुनै कम्प्लेन नहुने गरि नुन उपलब्ध गराउन आग्रह गरिएको थियो । डिपो प्रमुख मल्लले पनि खासै फरक नपर्ने बताएका थिए, प्रमुख प्रशासकीय अधिकृत बुढाले भने स्थानीय सरकारले खरिद गर्नु पूर्व सबै सजकता अपनाएका थियौँ तर डिपोले म्याद नाघेको आयोडिन नुन दिएछ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले गत चैत २८ गते नुनको गुणस्तर सम्बन्धमा तीन दिनभित्र लिखित जानकारी दिन स्पष्टिकरण सोध्यो । तर साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले प्रशासन कार्यालयले मागेको विवरण उपलब्ध गराउन सकेन । जिल्ला प्रशासन कार्यालय जुम्लाले बैशाख ३ गते जनस्वाथ्य तथा स्थानीय शान्ति सुरक्षमा प्रतिकुल प्रभाव पार्ने अवस्थालाई मध्य नजर गर्दै कार्यालयको गोदाममा रहेको नुन बिक्री वितरण कार्यलाई अर्को आदेश प्राप्त नभएसम्म रोक्न निर्देशन दिईएको थियो । तर पनि डिपोले अटेर गरेपछि म्याद सकिएको नुनको विषयमा प्रभावकारी रूपमा अनुसन्धान सम्पन्न गर्नको लागि डिपो नै सिल गरियो ।

इलाका प्रशासन कार्यालय, नराकोटका कायममुकायम कार्यालय प्रमुख मधुशंकर उपाध्याय, सिंजा गाँउपालिका – ३ का वडा अध्यक्ष तिला चन्द्र चौंलागाई, प्रहरी नायब निरीक्षक भुपेन्द्रबहादुर शाही, सिंजा गाउँपालिका – ३ का रतनबहादुर शाही र सोही वडाका प्रेमप्रसाद उपाध्याय, सन्तोष धितालको रोहवरमा डिपो भवनको मूल ढोकामा रहेको तालामाथि अर्को ताला लगाउनुका साथै भवन बाहिर रहेको ४८ बोरा नुन समेत विहिबार सील गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । उनका अनुसार नागरिकको खाद्य अधिकार सुनिश्चित गर्न पनि डिपो सिल गरिएको हो ।

यसैबीच नुनको गुणस्तरका विषयमा अनुगमन गर्न निस्केको जिल्ला समन्वय समिति जुम्लाको टोली बीच बाटोबाटै फर्किएको छ । अनुगमन टोली नपुग्दै डिपो सिल भएपछि बीच बाटोबाटै फर्किनु परेको जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की बताए । खलंगाबाट प्रमुख सार्की र उपप्रमुख कार्मा बुढासहितको टोली सिँजा डिपोमा जाँदै थियौँ प्रमुख सार्कीले भने बीचबाटोमै डिपो सिल भइसकेको जानकारी प्राप्त भयो र त्यत्तिकै फर्कियौँ ।

उनले स्थानीय प्रशासनले डिपो प्रमुखलाई बचाउनको लागि आकस्मिक निर्णय गरेको आरोप लगाए । उनले भने स्पष्टिकरण सोध्नु पूर्व गोदाम सिल गर्नु पथ्र्यो, त्यो हुन सकेन । एक्कासी गोदाम सिल गरियो । सिँजा डिपोबाट सिँजा र हिमा गाउँपालिकाले नुन खरिद गरेको थियो । म्याद गुज्रेको नुनको विषयमा डिपोले कुनै जानकारी नगराइ जथाभावी वितरण गरेको विषयमा छानविन गर्न यहाँका स्थानीय तहले माग गरेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले म्याद सकिएको नुनको गुणस्तर छिटो मापन गर्न आग्रह गरिएको छ । म्याद नाघेको आयोडिन नुन सबै डिपोलाई फिर्ता गरिएको हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाही बताए । उनले भने नुन खरिद गर्नु दोष होइन । तर म्याद सकिएको नुन बेच्नु डिपोको दोष हो ।

साल्टट्रेडिङ कर्पोरेसन लिमिटेड जुम्लाका प्रमुख खगेन्द्र मल्लका म्याद नाघेको नुनमा आयोडिन भए–नभएको निर्कियोल गर्न ल्याब परीक्षण गर्न पठाउने तयारीमा छौँ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ