२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशभौतिक दुरी कायम गर्दै विकास निर्माणका परियोजना अगाडी बढाइने

भौतिक दुरी कायम गर्दै विकास निर्माणका परियोजना अगाडी बढाइने


सुर्खेत – कोरोना भाइरस (कोभिड १९ ) को सम्भावित संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारको निर्णयानुसार गरिएको लकडाउनका कारण नगरक्षेत्रमा प्रभावित योजनाहरुको काम अघि बढाइने वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । गएको शनिबार वीरेन्द्रनगर नगरपालिकाका कार्यवहाक प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बसेको बैठकले मेसीन तथा जनशक्तिको प्रयोगबाट हुने काममा भौतिक दूरी कायम गर्दै स्थानीय प्रशासनसँग समन्वय गरि परियोजना अगाडी बढाइने निर्णय गरेको हो ।

साथै कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउनलाई अँझै प्रभावकारी गराउन नगरपालिकाबाट हालसम्म भएका गतिविधिहरुको समीक्षा गरि निरन्तरता दिने निर्णय गरिएको कार्यबाहक प्रमुख मोहनमाया ढकालले जानाएकी छन् । कोरोना संक्रमण जोखिममा रहेको व्याक्तिहरुको आरडिटी स्क्रिनिंग गर्नका लागि आरडिटी किट उपलब्ध गराइदिन प्रदेश र संघीय सरकारलाई अनुरोध गर्ने, लकडाउनमा पनि कति पय स्थानीय तहले गाडिहरुमा व्याक्तिहरुलाई उद्धार तथा आवतजावतको व्यवस्था गरेकाले नगरपालिकामा प्रवेश गर्ने मानिसहरुमा रोगको संक्रमण हुन नदिन विभिन्न क्षेत्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको कार्यबाहक प्रमुख ढकालको भनाई छ ।

जसअन्तर्गत वडा नम्बर ११ को सुब्बाकुना, १४ को छेडा गढि, १ को बाँगेसिमल, २ को फलाटेमा हेल्थ डेस्क राख्ने निर्णय गरिएको हो । साथै पैदलयात्री आउने अन्य स्थानहरु बामेखोला, शक्तेकाँडा जस्ता क्षेत्रहरुमा पनि सम्बन्धित स्वास्थ्य संस्थाले व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

यस्तै बैठकले नगरपालिका भित्र रहेका विभिन्न २० वटा विद्यालयमा नर्सीङ कार्यक्रम सञ्चालन गर्नका लागि छनोट गरेको छ भने नगरपालिका भित्र बाहिरबाट आएका मानिसहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने र उनीहरुको सम्बन्धीत वडाले निगरानी गर्ने प्रमुख ढकालको भनाई छ ।

यससँगै नगरपालिकाले राहत वितरणको पहिलो चरणमा ६ हजार ६ सय ८२, दोश्रो चरणमा अस्थायी बासिन्दा मजदुर तथा विद्यार्थी ९ हजार १ सय २७ परिवारलाई र तेश्रो चरणमा कल सेन्टर १०१ मा फोनमार्फत आएका २ सय ८२ परिवारलाई राहात वितरण गरिएको नगरािलिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिए । नगरपालिकाले हालसम्म कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम तथा लकडाउन व्यवस्थापन र राहत वितरणमा खर्च सहित जम्मा रकम रु १,९६,६३,६२३.७५ खर्च गरेको उनको भनाई छ ।

विभिन्न सहयोगदाताहरुबाट कोरोना संक्रमण तथा रोकथाम नियन्त्रण र उपचार कोषमा प्रदेश सरकारबाट प्राप्त ३० लाख सहित जम्मा ३६ लाख ८३ हजार २ सय पन्ध्र रुपैया सहयोग भएको बताइएको छ । साथै कोषमा नगरपालिकाको संचित कोषबाट यस अघिका बैठकका निर्णयानुसार २ करोड ८० लाख थप गरी कुल ३ करोड १६ लाख ८३ हजार २ सय १५ रुपैया जम्मा भएको अधिकृत ढकालले जानकारी दिए।

नगरपालिकाले आफ्नै पूर्व सावधानी गृह तथा विश्राम स्थल संचालन गरी हालसम्म पूर्व सावधानी गृहमा २४ जनालाई राखी बास तथा खाना प्रति व्यक्ति प्रतिदिन खर्च रु ६०० का दरले व्यवस्थापन गरेको छ । विश्राम स्थलमा अन्य पालिकाका करिब ७०० जनालाई खाना खाजा र अस्थाई बासको ब्यवस्था गरी सम्बन्धित पालिकासँग समन्वय गरी उद्दार गरिएको नगरपालिकाले जनाएको छ ।  हालसम्म कोरोना संक्रमणको द्रूत निदानात्मक परीक्षण (आरडीटी) १ सय ६० जनाको गरिसकिएको नगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ