२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड पिसिआर परीक्षणको दोस्रो स्थानमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

कोभिड पिसिआर परीक्षणको दोस्रो स्थानमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान


जुम्ला –  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पछिल्लो समय कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउका लागि पिसिआर परीक्षणको दायरा बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको हो ।

मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २१ हजार २९५ जनाको पिसिआर भएको छ । त्यसपछि जुम्लामा २ हजार ७६० जनाको पिसिआर भएको छ । तेस्रो स्थानमा भेरी अञ्चल अस्पताल नेपालगन्जमा २ हजार ३७९ जनाको पिसिआर भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । कर्णाली प्रदेशकै सुर्खेतमा भने २ हजार २९४ जनाको पिसिआर भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला २२ वैशाखदेखि कोरोना आरटी पिसिआर उपकरण सञ्चालनमा ल्याएको थियो । प्रतिष्ठानले माथिल्लो कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालीकोटमा परीक्षण गर्दै आएको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भारतबाट आएका र शंकास्पद व्यक्तिको पिसिआर परीक्षण गरिएको बताए । उनका अनुसार आइतबारसम्म २ हजार ७६० जनाको परीक्षण भएको छ । सबैको नतिजा नेगेटिभ आएको उनले बताए । प्रतिष्ठानले प्रयोगशाला प्रमुख विवेक पुन मगरको नेतृत्वमा परीक्षण कार्य गरिरहेको छ ।

हुम्ला र मुगुमा आरडीटी परीक्षण पोजेटिभ देखिएका तीन जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानका अनुसार हुम्ला नाम्खाका २ जना र मुगु खत्याडका १ जनाको आरडिटी पोजेटिभ देखिएको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि पिसिआर मेसिनमा काम गर्ने दक्ष जनशक्तिका कारण परीक्षणमा सहज भएको छ । प्रतिष्ठानमा कार्यरत औषधि विज्ञानका चिकित्सक डा. विजय अर्यालयले पिसिआर मेसिनको बारेमा पहिल्यै अध्ययन गरेको र प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले चीनमा यसअघि नै उक्त मेसिनमा काम गरिरहेको हुनाले पनि परीक्षणमा सहज भएको रजिष्ट्रार काफ्लेले बताए ।

जुम्लामा अहिले कोरोना भाइरसको परीक्षणका लागि अत्याधुनिक ल्याबमा दुईजना चिकित्सकसहित प्रयोगशालाका ४ जना प्राविधिक छन् । प्रयोगशालामा पिसिआर सञ्चालन हुनुअघि प्रयोगशाला प्रमुख पुनमगरले सुर्खेत प्रादेशिक अस्पतालमा गएर मेसिन सञ्चालनका लागि तालिमसमेत लिएका थिए ।

रजिष्ट्रार काफ्लेले माथिल्लो कर्णालीमा परीक्षणको दायरा अझै बढाउने बताए । उनका अनुसार प्रतिष्ठान आफैले थप २ हजार भीटीएम किट खरिद गरिसकेको छ । ती भीटीएम मंगलबारसम्म जुम्ला पुग्ने उनले बताए । प्रतिष्ठानले कर्णाली प्रदेश सरकारको सहयोगमा हेलिकोप्टर प्रयोग गरी हुम्ला, डोल्पा र मुगुमा स्वाब संकलन कार्य गर्ने गरेको छ । मेडिकल मार्चअन्तर्गत चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पनि ग्रामीण क्षेत्रमा खटिएको रजिष्ट्रार काफ्लेले बताए ।

डोल्पा जिल्लाको मुट्केचुल्ला र जगदुल्ला गाउँपालिकामा प्रतिष्ठानले स्वाब संकलनका लागि चिकित्सक सहितको टोली खटाएको छ । २÷४ दिनभित्र त्यहाँका संकलित स्वाब जुम्ला ल्याएर परीक्षण गर्ने तयारी भईरहेको उनले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ