२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली स्वास्थ्य प्रतिष्ठानद्वारा डेढ महिनामा १३ हजार बढीको कोरोना परीक्षण

कर्णाली स्वास्थ्य प्रतिष्ठानद्वारा डेढ महिनामा १३ हजार बढीको कोरोना परीक्षण


जुम्ला–कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले डेढ महिनामा १३ हजार १५४ बढी कोरोना परीक्षण गरेको हो । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंपछि सबैभन्दा बढी कोरोना परीक्षण जुम्लामा भएको छ ।

मन्त्रालयले तेस्रो पटक सार्वजनिक गरेको रिपोर्टमा पनि जुम्ला कोरोना परीक्षण गर्नेमा दोस्रो स्थानमै रहेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गत वैशाख २२ गतेदेखि कोरोना पिसिआर उपकरण सञ्चालनमा आएको प्रतिष्ठानका अस्पताल निर्देशक डा मंगल रावलले बताए ।

मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ५३ हजार ७७४ को पिसिआर भएको छ । त्यसपछि दोस्रो जुम्लामा १३ हजार १५४ को पिसिआर परीक्षणको तथ्यांक सार्वजनिक भएको उनले बताए । यसअघि मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा प्रतिष्ठान दोस्रो स्थानमै थियो । अहिले पनि दोस्रो स्थानमै रहेको छ । तेस्रो स्थानमा सुर्खेत प्रादेशिक अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा ११ हजार ६९५ को पिसिआर परीक्षण भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

त्यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले ९ हजार ५ सय ५५ जना, भेरी अस्पताल नेपालगज्जमा ८ हजार दुई सय जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ७ हजार ९७३ जना, सेती अस्पताल धनगढीमा ७ हजार ७४१ जना पिसिआर परीक्षण गरेको मन्त्रालयले जनाएको छ । देशभर २२ प्रयोगशालाबाट १ लाख ७६ हजार ५८१ को कोरोना जाँच भएको मन्त्रालले विवरण सार्वजनिक गरेको छ ।

प्रतिष्ठानले माथिल्लो कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोटमा परीक्षण गर्दै आएपनि पछिल्लो समयमा सुर्खेत, दैलेख, रुकुमपश्चिम जिल्लाका समेत परीक्षण गर्ने गरेको छ । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भारतबाट आएका र शंकास्पद व्यक्तिको पिसिआर परीक्षण गरिएको बताए । उनकाअनुसार शनिबारसम्म १३ हजार १५४ जनाको परीक्षणमा ३७८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि पिसिआर मेसिनमा काम गर्ने दक्ष जनशक्तिका कारण परीक्षणमा सहज भएको छ । प्रतिष्ठानमा कार्यरत औषधि विज्ञानका चिकित्सक डा. विजय अर्यालयले पिसिआर मेसिनका बारेमा पहिल्यै अध्ययन गरेको र प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले चीनमा यसअघि नै उक्त मेसिनमा काम गरिरहेको हुनाले पनि परीक्षणमा सहज भएको रजिष्ट्रार काफ्लेले बताए ।

जुम्लामा अहिले कोरोना भाइरसको परीक्षणका लागि अत्याधुनिक ल्याबमा दुई चिकित्सकसहित प्रयोगशालाका चार प्राविधिक छन् । प्रयोगशालामा पिसिआर सञ्चालन हुनुअघि प्रयोगशाला प्रमुख विवेक पुनमगरले सुर्खेत प्रादेशिक अस्पतालमा गएर मेसिन सञ्चालनका लागि तालिमसमेत लिएका हुन् ।

रजिष्ट्रार काफ्लेले माथिल्लो कर्णालीमा परीक्षणको दायरा अझै बढाउने बताए । प्रतिष्ठानले कर्णाली प्रदेश सरकारको सहयोगमा हेलिकप्टर प्रयोग गरी हुम्ला, डोल्पा र मुगुमा स्वाब संकलन कार्य गर्ने गरेको छ । मेडिकल मार्चअन्तर्गत चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पनि ग्रामीण क्षेत्रमा खटिएको रजिष्ट्रार काफ्लेले बताए । जुम्लाका आठै स्थानीय तहमा एक महिनाका लागि १५ जना चिकित्सक परिचालन गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ