२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश‘स्वास्थ्य चौकीलाई नगर अस्पताल बनाउने तयारीमा छौं’

‘स्वास्थ्य चौकीलाई नगर अस्पताल बनाउने तयारीमा छौं’


सुर्खेत – सुर्खेतस्थित लेकबेसी नगरपालिका साविकका पाँच गाविसहरु (लेखफर्सा, दशरथपुर, नेटा, कल्याण र साटाखानी) मिलेर बनेको स्थानीय तह हो । हाल १० वडामा विभाजन भएको नगरपालिका कुल एक सय ८० दशमलब ९२ वर्ग किलोमिटर क्षेत्रफमा फैलिएको छ ।

हाल यस नगरपालिकामा अन्य विकासका गतिविधिसँगै स्वास्थ्य क्षेत्रमा पनि सुधार हुँदै आएको छ । यहाँका हरेक नागरिक आधारभुत स्वास्थ्य सेवाको पहुँचमा पुगेका छन् । हरेक वडामा स्वास्थ्य संस्था स्थापना भएका छन् । त्यस्तै, विशेषज्ञ सेवा सहितका अस्पताल निर्माण भएको छ । यसैबीच स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा केन्द्रित रहेर नगर प्रमुख गगनसिंह सुनारसँग गरीएको कुराकानी :

पालिकामा स्वास्थ्य संस्था, सेवा प्रवाह र स्वास्थ्य जनशक्तिको अवस्था कस्तो छ ?

लेकबेसी नगरपालिकामा पहिलेको तुलनामा स्वास्थ्यमा धेरै सुधार भएको छ । पहिलेभन्दा अहिले स्वास्थ्य संस्थामा दक्ष जनशक्ति र औषधि पनि प्रयाप्त मात्रामा छ । भिडियो एक्स-रे जस्ता अन्य केही डिजिटल उपकरणको भने समस्या छ । त्यसका लागि २० लाख रुपैयाँ प्रदेश सभाबाट आएको छ । अब हामी थप आवश्यक उपकरण थप्ने तयारीमा छौं । कोभिड-१९ का कारण जनतालाई बचाउदै आफु पनि बच्नुपर्ने भएकोले व्यवस्थापनमा केही समस्याहरु आए । तर स्वाथ्यकर्मी र नगरपालिकाको प्रयासले सेवा प्रवाह व्यवस्थित हुँदै गएको छ ।

तपाई निर्वाचित हुनु पहिले र अहिलेमा स्वास्थ्य क्षेत्रमा के फरक छ ?

पहिलेको तुलनामा हाल धेरै सुधार भएका छन् । प्राथमिक स्वास्थ्यचौकीलाई नगर अस्पताल बनाउने तयारीमा छौं । त्यसको शिलान्यास भइसकेको छ । सबै वडामा स्वास्थ्य केन्द्रको स्थापना गरी कर्मचारी नियुक्त गरेर सेवा दिएका छौं । स्वास्थ्यका भौतिक संरचनामा सुधार ल्याएका छौं ।

यस्तै, कल्याणमा एक करोड बराबरको भवन निर्माण हुने तयारी छ । साटाखानीमा भवन निर्माण भइसकेको छ । यसका साथै २,३, ७, ८ र १० नम्बर वडामा पनि स्वास्थ्य चौकीका भवनहरु निर्माण  भइरहेका छन् । साथै लेकबेशी नगरपालिका ४ मा रहेको प्राथमिक स्वास्थ्य चौकीबाट विशेषज्ञ चिकित्सकले स्वास्थ्य सेवा दिइरहेका छन् । सोही स्वास्थ्य चौकीलाई नै अब नगर अस्पतालका रुपमा विकास गर्ने योजना छ ।

पालिकामा बाल तथा मातृ स्वाथ्यको अवस्था कस्तो छ ?

बालबालिकाको लागि नियमित रुपमा खोपहरु दिने काम भइरहेको छ । सुत्केरी आमा र बच्चालाई कुपोषण हुनबाट बचाउन गर्भावस्था देखिनै हरेकबार चार समूहका खानेकुरा खानको लागि जोड दिने गरिएको छ । यसका लागि नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गत गर्भवती तथा सुत्केरीले अन्न, गेडागुडी, माछामासु, अण्डा तथा हरिया सागपात र मौसम अनुसार फलफुल हरेक दिन खानुपर्छ भनेर सचेतनाका कार्यक्रम संचालन गर्दै आएका छौं ।

तुलनात्मक हिसाबले पछिल्लो समय आमा र बच्चाको स्वास्थ्यमा सुधार आएको छ । त्यस्तै बृद्धबृद्धाका लागि नेपाल सरकाले लागु गरेको स्वास्थ्य बिमाबाट स्वास्थ्य उपचार सेवा सहज रुपमा प्रवाह भइरहेको छ । अझै पनि जनताको पहँुचमा थप स्वाथ्य सेवा कसरी पु¥याउने भनेर हामी गम्भिर रुपमा लागि परेका छौं ।

उसोभए सबै नागरिक आधारभुत स्वास्थ्य सेवाको पहुँचमा छन् त ?

जनाताले सकेसम्म उपचारका लागि बाहिर जाननपरे हुन्थ्यो भन्ने चाहाना राखेका हुन्छन् । हामी पनि त्यही चाहान्छौं । पालिमामा सबै खालको उपचार सम्भव हुदैन । तर न्यूनतम रुपमा आधारभुत स्वास्थ्य सेवाबाट नागरिक बञ्चित छैनन् । हामीले महिला विकास शाखा र स्वास्थ्य संस्था मार्फत किशोर-किशोरीका लागि पनि यौन तथा प्रजनन् र अन्य स्वास्थ्य चेतना दिने गरेका छौँ । यस्तै, विद्यालयस्तरमा स्वाथ्यकर्मी गएर सचेतनाका कार्यक्रम संचालन गर्ने गरेका छन् ।

कोरोनाका कारण लेकबेसीका नागरिकमा स्वास्थ्य चेतनास्तर बढेको हो ?

कोरोना माहामारीले गर्दा पनि नागरिकमा स्वास्थ्य सम्बन्धि चेतनास्तर बढेकै हो । पहिलेको तुलनामा हाल सरसफाई र सामाजिक दुरी जस्ता मापदण्डका कुरामा पनि नागरिक सचेत छन् । साथै शुद्ध पानी र स्वस्थकर खाना खाने बानीको पनि विकास भएको छ । पहिलेको जस्तो बिरामी पर्दा घरमै उपचार नपाएर बस्नुपर्ने अवस्था छैन । सबैले नजिकैका स्वास्थ्य केन्द्रबाट सेवा लिइरहेका छन् । हरेक नागरिक आफ्नो स्वास्थ्य अवस्थाबारे सचेत छन् । पहिलेको तुलनामा कोरोनाका कारण थप चेतना स्तर बृद्धि भएको हो ।

अन्त्यमा, तपाईले चाहेर पनि स्वास्थ्य क्षेत्रमा गर्न नसकेको वा गर्नपर्ने काम केही छ ?

यसमा केही थप आवश्यक स्वास्थ्यका संरचना पुरा हुन सकेका छैनन् । भएका स्वास्थ्य संस्थामा पनि प्रयाप्त मात्रामा कोठाहरु छैनन् । गत वर्ष नै नगर अस्पताल निर्माण कार्य सम्पन्न गर्ने योजना भएपनि पुरा हुन सकेन । तुलनात्मक रुपमा धेरै सुधार भएपनि स्वास्थ्य क्षेत्रमा अझै केही सुधार्नुपर्ने काम छन् । त्यसैले, अब भएका कमीकमजोरी सुधार्दै विशेषज्ञ स्वास्थ्य सेवा दिने योजना छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, पालिका स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ