२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशभूकम्पबाट गर्भवती र सुत्केरी महिला प्रभावित

भूकम्पबाट गर्भवती र सुत्केरी महिला प्रभावित

भूकम्प प्रभावित क्षेत्रमा निमोनिया, रुघाखोकीको प्रकोपको जोखिम


वीरेन्द्रनगर—जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पले गर्भवती तथा सुत्केरी महिला जोखिममा परेका छन् । भूकम्पका कारणले घर भत्काउँदा तथा अन्य कारणले गर्भवती तथा सुत्केरी महिला जोखिममा परेका हुन् ।

जाजरकोट र रुकुमपश्चिममा धेरैजसो गर्भवती तथा सुत्केरी महिला जोखिममा परेकाले अहिले सहजीकरणमा काम भइरहेको कर्णाली प्रदेश सामाजिक मन्त्रालयले जनाएको छ ।

जाजरकोट जिल्लाका स्तनपान गराइरहेका आमाहरु ६२ जना र सुत्केरी आमाहरु ५५ जना, अपांगता भएका व्यक्तिहरु बालबालिका १९ जना र वयस्क २८ जना प्रभावित भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज शर्मा काफ्लेले बताए । ‘रुकुम पश्चिम जिल्लामा स्तनपान गराइरहेका आमाहरु २९० जना, गर्भवती १५१ जना प्रभावित भएका छन्,’ उनले भने ।

दुवै अभिभावक गुमाएका बालबालिकाहरु जाजरकोटमा ७ जना र आमा वा बाबुमध्ये १ जना गुमाएका रुकुुमपश्चिमको आठबिसकोट नगरपालिकमा १७ जना रहेको सचिव काफ्ले जानकारी दिए । ‘बालबालिका, महिला, गर्भवती, सुत्केरी आमा, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुमा थप जोखिमका रहेका छन्,’ उनले भने,‘जोखिममा रहेका बालबालिका, महिला तथा सुत्केरीहरुको विशिष्टकृत सेवा आवश्यक रहेको छ ।’

भूकम्पमा परेर ४६ जना बालक, ३७ जना बालिका, ४६ जना महिला र अपांगता भएका १ जनाको मृत्युु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अहिले बढ्दो चिसो बढ्दै गएका कारणले निमोनिया, रुघाखोकीको प्रकोपको जोखिम रहेकोले न्यानो कपडा वितरण गर्नुपर्ने, यौन शोषण, दुव्र्यवहार तथा लाञ्छना, बालश्रम, मानव बेचविखन तथा ओसारपसार, लैगिंक हिंसा, छुवाछुत तथा विभेद हुन सक्ने भएकाले अहिले ती क्षेत्रमा काम भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भूकम्पपछि विभिन्न प्रकारका मनोसामाजिक समस्याहरु एक्लै बस्ने, टोलाउने, बबराउने, डराउने, मुर्छा पर्ने, अत्तालिने, आदिको जोखिम देखिन थालेको र मनोसामाजिक परामर्श सेवा प्रवाहका लागि ती क्षेत्रमा मनोसामाजिक परामर्शकर्ता परिचालन गरिएको सचिव काफ्ले जानकारी दिए ।
मन्त्रालयकाअनुसार जाजरकोटको बारेकोट गाउँपालिकामा २ जना, कुशे गाउँपालिका २ जना, भेरी नगरपालिका ६ जना, नलगाड नगरपालिकामा ९ जना र जिल्लाभर २ जना गरी २१ जना मनोविमर्शकता खटिएका छन् । त्यस्तै, रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा ६ जना, सानोभेरी नगरपालिकामा १ जना, चौरजहारी नगरपालिकामा ३ जना र मुसीकोट नगरपालिकामा १ जना गरि जम्मा १३ जना मनोविमर्शकता खटिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ