२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशचिसोका कारण भूकम्प पीडितले अकालमै ज्यान गुमाउँदै

चिसोका कारण भूकम्प पीडितले अकालमै ज्यान गुमाउँदै


वीरेन्द्रनगर– जाजरकोटमा भूकम्पका कारणले त्रिपालमा बस्दै आएका मृत्यु संख्या १६ पुगेको छ । भूकम्पले घर भत्काएर त्रिपालमा बस्दै आएका जाजरकोट बारेकोट गाउँपलिका–८ सेपुखोलाका ६० वर्षीया ऐभान कामीको गए राती करिब १ बजे मृत्यु भएको हो ।

भूकम्पपछिको चिसोका कारणले त्रिपालमा बस्दै आएका कामीको सोमबार राती मृत्यु भएको उनकी भान्जी तारा नेपालीले बताइन् । ‘भूकम्पले घर भत्काएपछि चिसोमा बस्दै आउनु भएको थियो ।’ उनले भनिन्,‘सामान्य ज्वरो आएर हिजो राती मृत्यु भएको हो ।’

योसँगै मृत्यु हुनेको संख्या १६ जना पुगेको छ ।  चिसोका कारण ज्यान गुमाउने मध्ये जाजरकोटका १३ र रुकुम पश्चिमका तीन जना रहेका छन् । गत १७ कार्तिकको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ६२ हजार घर भत्काएपछि यहाँका बासिन्दा घरबाहिर त्रिपालमुनि बस्दै आएका छन् ।

जाजरकोटको नलगाड नगरपालिका– ८ सिमकी २५ वर्षीया सुत्केरी शर्मिला विक चदाराको शनिवार र  रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १ जंगलगाउँकी ६२ वर्षीया नन्दकली पुनको आइतबार मृत्यु भएको थियो ।

त्यस्तै रुकुम पश्चिम आठबिसकोट नगरपालिका– ११ की ८० वर्षीया पद्मी ओली र सोही वडाका ७० वर्षीय दत्ते कामीको ज्यान गएको थियो । ओलीको ५ मंसिर र कामीको ३० कार्तिकमा ज्यान गएको हो ।

जाजरकोटमा भेरी नगरपालिका– २ का हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुता पुन, नलगाड नगरपालिका– ८ टापुकी ७० वर्षीया विष्णुकुमारी खत्री, जुनीचाँदे गाउँपालिका– ४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका– १ रामीडाँडाका ७० वर्षीय डुमे पुन, छेडागाड नगरपालिका– १३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका– ४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका– ४ का ८४ वर्षीय गोपालबहादुर रावल, ४८ वर्षीया पम्फा रावल तथा कुसे गाउँपालिका– ५ की ६५ वर्षीया देवी मल्ल र वडा नम्बर ६ का ५५ वर्षीय गथु शाहीले ज्यान गुमाएका छन्।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ