२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशतीन वर्षदेखि १५ शैय्याको अस्पताल निर्माण अलपत्र

तीन वर्षदेखि १५ शैय्याको अस्पताल निर्माण अलपत्र


वीरेन्द्रनगर—तीन वर्षदेखि १५ शैय्याको अस्पताल निर्माणको काम अलपत्र परेको छ । सुर्खेत जिल्लाको चिङ्गगाड गाउँपालिकामा निर्माण गर्न लागिएको १५ शैय्याको अस्पताल अलपत्र परेको हो ।

गाउँपालिकाले स्वीकृती नलिएरै सरकारी जग्गामा आफू खुसी अस्पताल भवन बनाउन लागेको अख्तियारमा उजुरी परेपछि तीन वर्षदेखि निर्माण कार्य अलपत्र परेको छ ।

संघीय सरकारले १५ मंसिर २०७७ मा दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी अस्पताल भवन निर्माणका लागि १८ करोड ६ लाख ८२ हजार रुपैयाँ विनियोजन गरेको थियो ।

सरकारले पहिलो चरणमा पठाएको १ करोड रुपैयाँले चिङ्गगाड गाउँपालिकाको पोखराडाँडामा आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरेको थियो । गाउँपालिका कार्यालयले उक्त एक करोडमध्ये १५ लाख रुपैयाँमा डिपिआर र ८५ लाख रुपैयाँमा २५ असार २०७८ मा अस्पताल भवन निर्माणका लागि बाँकेको गाल्वा/ओली जेबीसँग सम्झौता गरेको गाउँपालिकाले जनाएको छ ।

भवन निर्माण कार्य शुरु भएको ६ महिना नपुग्दै संघ सरकारले नै पहिले जग्गा अस्पतालको नाममा लिएर मात्र भवन निर्माण कार्य अघि बढाउन भनेपछि काम रोकिएको गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसीले बताए ।

‘म निर्वाचित नहुँदै अघिल्लो कार्यकालका अध्यक्षज्यूले अस्पतालका लागि जग्गा लिने प्रक्रियामा ध्यान नदिँदा निर्माणमा ढिलाइ भएको छ,’ उनले भने, ‘म निर्वाचित भएपछि अस्पताल भवनको जग्गा अस्पतालकै नाममा लिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार अहिले काम अगाडि बढाइएको छ ।’

पहिले केही कानूनी समस्या रहेपनि अब छिट्टै आवश्यक प्रक्रिया पूरा गरेर अस्पताल भवन निर्माण कार्यलाई सुरु हुने अध्यक्ष जिसीले जानकारी दिए । अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागले अस्पताल भवनको नयाँ डिपीआर स्वीकृति गर्न ढिलाइ गरेकाले केही समय बढी लागेको अध्यक्ष जिसीले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ