२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशअसुरक्षित गर्भपतनले मातृ सुरक्षा जोखिम

असुरक्षित गर्भपतनले मातृ सुरक्षा जोखिम


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. पुजन रोकायाले असुरक्षित गर्भपतनले मातृ सुरक्षा जोखिममा परेको बताएका छन् । उनले प्रतिष्ठानमा मातृ तथा नवजात शिशु कार्यक्रम निःशुल्क सेवा हुँदा पनि स्वास्थ्य संस्था बाहिर असुरक्षित गर्भपतन गर्नेको संख्या धेरै भएकोले जोखिम बढेको बताए ।

डा. रोकायाकाअनुसार यसले महिलाको स्वास्थ्य समस्यालाई जटिल बनाएको छ । असुरक्षित गर्भपतनको समस्या बढ्दो छ ।

गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भ पतन गर्ने कानुनी ब्यवस्था छ । तर, गर्भपतन गर्नका लागि ब्यक्ति र संस्था दुवै सूचीकृत भएको हुनुपर्छ । जुम्लामा मेडिकलबाट गर्भपतनको औषधी सेवन गरी रक्तश्राव भएका महिलाहरु उपचारको लागि प्रतिष्ठानमा पुग्ने गरेको डा. रोकायाले जानकारी दिए ।

जिल्ला सरकारी वकिल रेनुका राईकाअनुसार हाडनाता र जबरजस्ती करणीबाट गर्भपतन गराउन पाउने कानुनी मान्यता छ । उनले भनिन्, ‘सबैभन्दा समस्या सचेतनाको अभाव हो । बालिकामाथि दिनप्रति हिंसा बढी रहेका छन् । बालविवाह अझै बढ्दो क्रममा छ । यहाँका अभिभावकले छोरीलाई पनि छोरा सम्मान सोच्न जरुरी छ । नेपाल जस्तो देशमा विशेष गरी छोरा पाउने नाममा पनि धेरैले गर्भपतन गरेको पाइन्छ ।’

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्दा अचार्यले मेडिकलबाट वितरण गरिने गर्भपतनको औषधी रोक्नुपर्ने बताए । उनले भने, ‘अशिक्षा तथा गर्भ निरोधक चक्कीको प्रयोग बारे जानकारी नहुँदा पनि गर्भपतन गर्ने क्रम बढ्दो हो ।’

प्रतिष्ठानको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० मा गर्भपतन ४ सय ९५ वटा रहेका छन् । जसमध्ये असुरक्षित गर्भपतन १ सय १३ जनाले गरेका छन् । तीन जनालाई आईसीयुमा राखेर उपचार गरिएको हो । यस्तै, २०८०/८१ मा १ सय ५३ मा गर्भपतन संख्या रहेको छ । जसमध्ये ४९ जनाले असुरक्षित गर्भपतन गरेको तथ्यांक रहेको छ । जसमा ५ जनालाई आईसीयुमा राखेर उचार गरिएको हो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ