२०८३ असोज २२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गर्दै कर्णाली सरकार

५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गर्दै कर्णाली सरकार


वीरेन्द्रनगर—कर्णाली प्रदेश सरकारले नागरिक स्वास्थ्य परीक्षण अभियान संचालन गरेको छ । प्रदेशका तीन जिल्लाका सुर्खेतको चौकुने गाउपालिका, वीरेन्द्रनगर नगरपालिका, पश्चिम रुकुमको आठबिसकोट नगरपालिका र हुम्ला जिल्लामा ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण अभियान सुरु गरेको हो ।

स्वास्थ्य परिक्षणबाट प्राप्त नतिजाका आधारमा अब कर्णाली सरकारले आगामी पाँच वर्षका लागि आवश्यक नीति बनाउने तयारी गरेको हो ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रबिन खड्काले नागरिक स्वास्थ्य परीक्षणले ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य अवस्था बुझ्न र सुधार गर्न सहयोग पुग्ने बताए ।

यसैबीच पश्चिम रुकुम आठबिसकोटमा आयोजित नागरिक स्वास्थ्य परीक्षण कार्यक्रममा मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेश भित्रका नागरिकको स्वास्थ्य अवस्था सुधारका लागि ‘नागरिक स्वास्थ्य परीक्षण’ सुरुवात गरिएको बताए ।

‘नसर्ने रोगले पछिल्लो समयमा स्वास्थ्य चुनौती ल्याएकाले त्यसको रोकथाम गर्न पनि स्वास्थ्य परीक्षण थालिएको हो । अहिले तीन जिल्लामा नमुनाको रुपमा परीक्षण गरेपनि यसलाई कर्णालीका सबै जिल्लामा विस्तार गर्नेछौं,’ उनले भने, ‘सरकार स्वास्थ्य सेवालाई प्रबर्द्धनात्मक र उपचारात्मक दुवै किसिमले समुदायमा लिइरहेको छ । स्वास्थ्य क्षेत्रमा क्रियाशील जनशक्तिलाई उपचार मात्र होइन सचेतनामूलक कार्यलाई एकसाथ लिएर जानुपर्ने आवश्यक छ ।’

नागरिक स्वास्थ्य परीक्षण उपचार र जनचेतना जागृत गर्ने जिम्मेवारी स्वास्थ्य क्षेत्रमा क्रियाशील जनशक्ति रहेको बताउँदै उनले भूकम्प प्रभावित पालिकामा प्रदेश सरकार स्वास्थ्यका विभिन्न कार्यक्रम संचालन गरिरहेको बताए ।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार पहिलो चरणमा सुर्खेत ,रुकुमपश्चिम र दोस्रो चरणमा हुम्लामा नागरिक स्वास्थ्य परीक्षण गरिनेछ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ