२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गर्दै कर्णाली सरकार

५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गर्दै कर्णाली सरकार


वीरेन्द्रनगर—कर्णाली प्रदेश सरकारले नागरिक स्वास्थ्य परीक्षण अभियान संचालन गरेको छ । प्रदेशका तीन जिल्लाका सुर्खेतको चौकुने गाउपालिका, वीरेन्द्रनगर नगरपालिका, पश्चिम रुकुमको आठबिसकोट नगरपालिका र हुम्ला जिल्लामा ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण अभियान सुरु गरेको हो ।

स्वास्थ्य परिक्षणबाट प्राप्त नतिजाका आधारमा अब कर्णाली सरकारले आगामी पाँच वर्षका लागि आवश्यक नीति बनाउने तयारी गरेको हो ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रबिन खड्काले नागरिक स्वास्थ्य परीक्षणले ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य अवस्था बुझ्न र सुधार गर्न सहयोग पुग्ने बताए ।

यसैबीच पश्चिम रुकुम आठबिसकोटमा आयोजित नागरिक स्वास्थ्य परीक्षण कार्यक्रममा मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेश भित्रका नागरिकको स्वास्थ्य अवस्था सुधारका लागि ‘नागरिक स्वास्थ्य परीक्षण’ सुरुवात गरिएको बताए ।

‘नसर्ने रोगले पछिल्लो समयमा स्वास्थ्य चुनौती ल्याएकाले त्यसको रोकथाम गर्न पनि स्वास्थ्य परीक्षण थालिएको हो । अहिले तीन जिल्लामा नमुनाको रुपमा परीक्षण गरेपनि यसलाई कर्णालीका सबै जिल्लामा विस्तार गर्नेछौं,’ उनले भने, ‘सरकार स्वास्थ्य सेवालाई प्रबर्द्धनात्मक र उपचारात्मक दुवै किसिमले समुदायमा लिइरहेको छ । स्वास्थ्य क्षेत्रमा क्रियाशील जनशक्तिलाई उपचार मात्र होइन सचेतनामूलक कार्यलाई एकसाथ लिएर जानुपर्ने आवश्यक छ ।’

नागरिक स्वास्थ्य परीक्षण उपचार र जनचेतना जागृत गर्ने जिम्मेवारी स्वास्थ्य क्षेत्रमा क्रियाशील जनशक्ति रहेको बताउँदै उनले भूकम्प प्रभावित पालिकामा प्रदेश सरकार स्वास्थ्यका विभिन्न कार्यक्रम संचालन गरिरहेको बताए ।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार पहिलो चरणमा सुर्खेत ,रुकुमपश्चिम र दोस्रो चरणमा हुम्लामा नागरिक स्वास्थ्य परीक्षण गरिनेछ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ