२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशलागुऔषध प्रयोगले धनजनको नास, नियन्त्रण गर्न जोड

लागुऔषध प्रयोगले धनजनको नास, नियन्त्रण गर्न जोड


जुम्ला—जुम्लामा लागु औषधको प्रयोग चिन्ताजनक रहेको छ । पछिल्लो समय सडक सञ्जालका कारण लागुऔषध सहजै भित्रिने गरेको छ ।
ब्राउन सुगरलगायतका लागु पदार्थ प्रयोग गर्ने कलिलो उमेरका किशोर— किशोरीदेखि युवाहरूको संख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो समय भारतको रुपडिया नाका हुँदै नेपालगज्ज, सुर्खेत, कालिकोट नाग्म भएर जुम्ला मुगु ब्राउन सुगर लगायतका लागुऔषध भित्रिने गरेको रुट भएको अधिकारीहरु बताउँछन् । यो रुटमा चेकजाँचका लागि सुरक्षाकर्मीको बाक्लो उपस्थिति हुने गरेपनि नियन्त्रण हुन सकिरहेको छैन ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दका अनुसार प्रहरीले लागुऔषध रोकथाम र नियन्त्रण गर्न जोड दिइरहेको छ । ‘यसमा सबै सरोकारवालाको सक्रियताका साथ काम गर्न आवश्यक छ । लागुऔषध रोकथाम नियन्त्रणमा प्रहरीले सुचना स्रोत पनि खुलाउन आवश्यक छ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय जुम्लामा आर्थिक वर्ष २०८०/०८१ मा माघ महिनाको तेस्रो सातासम्म १२ वटा मुद्दा दर्ता भएका छन् । प्रहरीमा दर्ता भएका १२ वटा मुद्दामा २२ जना पक्राउ भएका छन् भने ५ जना फरार रहेका छन् । यसमा १८–४० उमेर समुहका युवा २४ जना रहेका छन् भने १८ वर्षमुनिका दुई जना र ४० वर्षमाथिका एक जना रहेका छन् ।

प्रहरीले दर्ता गरेको १२ वटा मुद्दासँगै १३ ग्राम ५४८ मिलिग्राम चरेश, ९ ग्राम ८२९ मिलिग्राम ब्राउन सुगर र ३० वटा ट्याबलेट बरामद गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा ५ र २०७८/०७९ मा ७ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/०८० मा १२ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा जिल्ला प्रहरी कार्यालय जुम्लाले लागु औषधका ५ वटा मुद्दा दर्ता गरेको छ । पाँच वटा मुद्दामध्ये ब्राउन सुगरका ४ र १ वटा चरेशको मुद्दा दर्ता भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा ७ वटा मुद्दा दर्ता भएको उनले बताए। उक्त मुद्दामा १८ वर्ष मुनिका २ जना र १८ देखि ४० वर्ष सम्मका १२ जना छन् । चरेश ७६.६ सय २० ग्राम, ब्राउन सुगर १ सय ५ मिलिग्राम र ट्रमाडोल र कोलोनोजेपाम २ सय ४१ पिस बरामद गरिएको थियो ।

यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा १२ वटा मुद्दा दर्ता भएका छन् । १२ वटा मुद्दाका ३० जना मध्ये महिला १ जना छन् । अरू सबै पुरुष हुन् । ७ जना फरार रहेका छन् । ३० जना मध्येबाट चरेश २ ग्राम १ सय ९० मिलिग्राम, ब्राउन सुगर १३ ग्राम ९३ मिलिग्राम, गाँजा १५ ग्राम ८२ मिलि ग्राम र नाईट्राभेट ट्याब्लेट ३४ वटा बरामद भएको थियो ।

प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीका अनुसार लागुऔषध नियन्त्रणमा पूर्ण रुपमा निगरानी बढाइएको छ । ‘यसमा हामीलाई नागरिकको पनि साथ आवश्यक परेको छ । यो विषयमा हरेक अभिभावकले निगरानी बढाउन आवश्यक छ । आफ्ना बालबालिकाले के गरिरहेका छन् र अवस्था के छ भन्ने विषयमा चिन्तित हुनुपर्ने देखिएको छ,’ उनले भने ।

चन्दननाथ नगरपालिका उपप्रमुख रामदेवी खड्काले लागुऔषधका विषयमा सबै सचेत हुनुपर्नेमा जोड दिइन् । ‘लागुऔषध रोकथाम तथा नियन्त्रण र सचेतनामुलक कार्यक्रमका विषयमा नगरपालिकाले पनि प्रथामिकता दिदैं आएको छ,’ उनले भने ।

लागु औषध नियन्त्रण ऐन, २०३३ को परिच्छेद ३ मा भएको व्यवस्थाअनुसार गाँजा सेवन गर्ने व्यक्तिलाई कारवाही गर्ने व्यवस्था रहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ