२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसिंजामा पाठेघर सम्बन्धी शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण

सिंजामा पाठेघर सम्बन्धी शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण


जुम्ला—सिंजामा पाठेघर सम्बन्धी शिविरमा २ सय ५० जनाको परीक्षण भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जनस्वास्थ्य सेवा कार्यालय, सिंजा गाउँपालिका स्वास्थ्य शाखा, प्लान नेपाल र पेस नेपाल जुम्लाको समन्वयमा दुई दिने पाठेघर सम्बन्धी शिविर सञ्चालन गरिएको हो ।

फागुन ८ र ९ गते दुई दिने निःशुल्क शिविरमा २ सय ५० जना महिलाको स्वास्थ्य परीक्षण, १ सय ४० जना पाठेघर क्यान्सरको चेक जाँच, ५ जना महिलाको पाठेघरमा रिङ राखेको, ३ जनालाई शल्यक्रियाका लागि रेफर, ५ जनालाई क्यान्सर पोजेटिभ देखिएको आशंका गरिएको र ३ जना महिलाको पाठेघर संक्रमण देखिएको सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताए ।

दुर्गम दूरदराजकी महिलाहरुले स्वास्थ्यलाई ख्याल नगरी धेरै गह्रुगो भारी बोक्ने र महिनावारी र सुत्केरी अवस्थामा सुरक्षित नभएको कारणले पाठेघरको समस्या देखिने भएपछि सिंजा गाउँपालिका स्वास्थ्य शाखाले महिलाहरुका लागि स्तन र पाठेघर सम्बन्धि शिविरको आयोजना गरेको प्रमुख रोकायाले बताए ।

कर्णालीका ग्रामीण भेगका अधिकांश महिलामा स्वास्थ्य समस्या देखिने गरेको वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. राजीव शाहले बताए। ‘अधिकांश महिलालाई पाठेघरको समस्या छ। कठोर परिश्रमले महिलाको स्वास्थ्य जटिल बन्दै गएको छ,’ उनले भने ।

सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले स्वास्थ्य शाखा र स्वास्थ्य चौकीलाई चुस्त राखेर काम गरिरहेको बताए । ‘सरकारले ९२ प्रकारका ओैषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ। तर हामीले सयभन्दा बढी प्रकारका ओैषधि उपलब्ध गराउँदै आएका छौं,’ उनले भने ।

उनका अनुसार गम्भीर प्रकृतिका रोगको समेत निःशुल्क उपचारको प्रबन्ध मिलाउन पालिकाले बेला—बेला स्वास्थ्य शिविर संचालन गर्दै आएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विकट क्षेत्रका १३ जिल्लाका विभिन्न पालिकामा डाक्टर पठाएर सेवा दिदैं आएको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए। ‘विभिन्न क्षेत्रमा आयोजना गरिने स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सक पठाएर सेवा दिदै आएका छौं,’ उनले भने, ‘सिंजामा पनि हामीले कर्णालीमा लामो अनुभवी हासिल गरेका दक्ष चिकित्सकबाट सेवा दियौं। जसले धेरै नागरिकले सेवा लिन पाएको महसुस भएको छ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ