२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशडम्पिङ साइट अस्तव्यस्त, नागरिकको स्वास्थ्यमा समस्या

डम्पिङ साइट अस्तव्यस्त, नागरिकको स्वास्थ्यमा समस्या


जुम्ला— सल्यानको शारदा नगरपालिका–३ चुइनेपानीमा रहेको डम्पिङ साइट व्यवस्थित हुन नसक्दा स्थानीयवासीलाई समस्या भएको छ । एक दशकअघि शारदा नगरपालिकाले निर्माण गरेको डम्पिङ साइट व्यवस्थित हुन नसक्दा त्यसको असर स्थानीयले भोग्न बाध्य भएका छन् ।

अहिले सदरमुकाम खलंगा र प्रमुख व्यापारिक केन्द्र श्रीनगरसँगै नगरभित्रका विभिन्न बजार क्षेत्रबाट संकलन गरिएको फोहोर चुइनेपानीमा फाल्ने गरिएको छ । संकलित फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा त्यसको असर स्थानीयले भोग्दै आएका छन् । फोहोर व्यवस्थापनका लागि निर्माण भएको डम्पिङ साइटको फोहोर जलाउँदा स्थानीय दुर्गन्धको मारमा परेका छन् ।

डम्पिङ साइटमा फोहरको मात्रा बढ्दै गएको छ । कुहिने/नकुहिने फोहोर नछुट्याई त्यसैमा फाल्ने गरिन्छ । घरभित्रबाट निस्केको फोहोर होस् या प्लाष्टिकजन्य फोहोर वा अस्पताल तथा मेडिकलबाट सङकलन गरिएको फोहोर नै होस्, सबै एकै ठाउँमा फाल्ने गरिएको छ ।
यसरी थुपारिएको फोहोरमा आगो लगाउँदा प्लाष्टिकजन्य धुवाँले स्थानीय प्रभावित छन् । २ वर्षअघि यसरी नै डम्पिङ साइटको फोहोरमा आगो लगाइयो । करिब २ महिनापछि आगो निभ्यो । यसपटक फेरि डम्पिङ साइटको फोहोरमा आगो लगाउँदा स्थानीयस्तरमा दुर्गन्ध फैलिएको छ भने स्थानीय नराम्ररी प्रभावित भएका छन् ।

फोहोरको चाङ धेरै भएपछि नगरपालिकाकै नेतृत्वमा फोहोरमा आगो लगाइएको स्थानीय बताउँछन् भने नगरपालिकाले डम्पिङ साइटमा आगो कसले लगायो भन्ने बारेमा केही नखुलेको जनाएको छ ।

फोहोर मैला व्यवस्थापन ऐन, २०६८ मा स्थानीयले फोहोर मैला व्यवस्थापन गर्दा स्थानीयको सहमति र वातावरणमा असर नपर्ने गरी व्यस्थापन गर्नुपर्ने ऐनमा उल्लेख गरेको भएपनि नगरपालिकाले भने मानव वस्तीलाई प्रत्यक्ष असर पार्ने गरी डम्पिङ साइट भएर मानव स्वास्थ्यमा असर परिरहेको स्थानीयको गुनासो छ ।

डम्पिङ साइटमा आगो लगाउँदा शारदा नगरपालिका–३ टिमुरे खोला, भानुभक्तचौर, वडा नम्बर १ को बाँसखोला, पटनेरीका ५० परिवार प्रत्यक्ष प्रभावित भएका छन् । मानव वस्ती बीचमा रहेको डम्पिङ साइटमा आगो लगाउँदा त्यसको धुवाँले असर गरेको स्थानीय ६४ वर्षीय डल्लु बुढाथोकीले बताए । ‘म दमको बिरामी छु, हिजोदेखिको धुवाँले झन् समस्या बनायो, चक्कर लाग्ने, बान्ता हुने हुन्छ, ढोका लगायो कोठामा नै धुवाँ पुग्छ’ उनले भने, ‘श्वास फेर्न नै गाह्रो भएको छ ।’

६१ वर्षीय पुस्कर बुढाथोकीले डम्पिङ साइटमा आगो लगाउँदा त्यसको धुवाँले खाना खानै नसकेको बताए । ‘यसको निकास नगरपालिकाले दिनुपर्छ, कि हाम्रो बस्ती उठाइ दिनुपर्छ, नत्र मानिसको स्वास्थ्यमा यसरी खेलवाड गर्न मिल्दैन्,’ उनले भने । धुवाले फोक्सो, कलेजो, आँखामा बढी असर गरिरको अर्का स्थानीय कुमार हमालले बताए । ‘कोठामै धुवाँ जान्छ, सुत्नै गाह्रो भयो, यो चिसोमा पंखा चलाएर सुत्नुपर्ने बाध्यता भयो,’ उनले थपे ।

३१ वर्षीया स्थानीय भगवती बोहराले धुवाँका कारण बच्चा र ज्येष्ठ नागरिक बढी प्रभावित भएको बताए । ‘फोहोर वस्ती बीचमा फाल्ने नै होइन्, डम्पिङ साइटभन्दा १० मिटर टाढाको मुहानबाट गाउँमा पानी आएको छ । हामीले खोलाको छेउमा खाल्डा बनाएर पानी खान्छौँ । तर, डम्पिङ साइटबाट लेदोसहितको कालो झोल त्यही खोलामा मिसिने गरेको छ । यसले मानव स्वास्थ्यमा कतिको असर गरेको होला,’ उनले प्रश्न गर्दै भने ‘हामीलाई यसको निकास चाहियो ?’

स्थानीय नरेन्द्रकुमार वलीले तत्कालीन समयमा नगरपालिकाले फोहोर व्यवस्थापन गर्न स्थानीयको अनुमति नलिएको र डम्पिङको उचित व्यवस्था नगरेकाले अहिले आफूहरुले सास्ती भोग्दै आएको बताए । ‘कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेर जलाउँदा हामीलाई समस्या भएको छ । फोहोरको धुवाँले स्वास्थ्यमा समेत असर पर्न थालेको छ,’ उनले भने, ‘फोहोर प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्यमा खेलवाड भयो ।’

‘डम्पिङ साइट नजिकै पानीको मुहान छ, खोला छ, यसले पर्यावरणीय तथा मानव स्वास्थ्यमा समेत गम्भीर असर गरिरहेको छ । पटक–पटक नगरलाई व्यवस्थापन गरिदिन आग्रह गर्दासमेत अहिले सम्म फोहरको व्यवस्थापन हुन सकेको छैन,’ उनले थपे, ‘सकेसम्म यहाँबाट डम्पिङ साइट हटाउनुपर्छ, सकिदैन् भने पनि कुहिने र नकुहिने फोहोरको छुट्टाछुट्टै व्यवस्थापन गर्नुपर्छ, डम्पिङ वरिपरी घेरबार लगाउनुपर्छ भनेर आवाज उठाउदै आएका छौं । हाम्रो कुरा कसैले सुनेन् ।’

नेपालको संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न र वातावरणीय प्रदुषण वा ह्रासबाट हुने क्षति बाफत पीडितलाई प्रदुषकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक सुनिश्चित गरेको छ । यता शारदा नगरपालिकाले भने डम्पिङ साइटलाई व्यवस्थित गर्न लागिएको जनाएको छ । नगरप्रमुख प्रकाश भण्डारीले फोहरको दिगो व्यवस्थापनका लागि फोहोर व्यवस्थापन समिति नै बनाएर काम थालिएको बताए ।

‘हामीले तत्कालै फोहोर व्यवस्थापन बारेमा सचेतनात्मक कार्यक्रम सञ्चालन गर्छौ । हामीले आवश्यक वजेट पनि तय गरेका छौं । नयाँ टिप्पर र ट्याक्टर फोहर व्यवस्थापनकै लागि ल्याउदैँ छौं,’ उनले भने, ‘फोहोरको वर्गीकरण गर्छौ, आइतबार, मंगलबार र विहीबार कुहिने फोहोर, सोमबार, बुधबार र शुक्रबार प्लाष्टिकजन्य र शनिवार सिसा तथा काठजन्य फोहर सङ्कलन गर्छौ ।’ व्यवस्थित डम्पिङ साइट निर्माणका लागि डिजाइन समेत तयार भइसकेको नगरप्रमुख भण्डारीको भनाइ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ