विराटनगर—विराटनगर महानगरपालिकाद्वारा सञ्चालित रानी अस्पतालभित्रको फार्मेसीमा औषधि व्यवस्थापनमा गम्भीर लापरवाही र छताछुल्ल भएको छ । बुधबार औषधि व्यवस्था विभाग विराटनगरको टोलीले गरेको छड्के अनुगमनका क्रममा बिरामीको ज्यानै जोखिममा पार्न सक्ने ठूलो परिमाणका म्याद गुज्रिएका औषधिहरू फेला परेपछि अस्पतालको आन्तरिक अवस्था उदाङ्गिएको हो ।
विराटनगर–१५ स्थित सो १५ शय्याको अस्पतालमा पछिल्लो समय सेवा प्रवाह र व्यवस्थापनमा गम्भीर प्रश्न उठ्दै आएको थियो । विभागका फार्मेसी निरीक्षक दीपेन्द्र खड्काको नेतृत्वमा खटिएको टोलीले फार्मेसीभित्रै म्याद नाघेका औषधिहरू बिरामीलाई बिक्री गरिने औषधिसँगै मिसाएर राखेको अवस्थामा बरामद गरेको छ ।
बरामद गरिएका औषधिहरूमा एलर्जीका लागि प्रयोग हुने ‘एपिडिन’, खोकी र कफको समस्यामा सेवन गरिने ‘ब्रेथेक्स ब्रोन’ र वान्ता रोक्न प्रयोग गरिने ‘ओडिटी’ सिरप रहेका छन् ।
‘बिरामीका लागि संवेदनशील मानिने यी औषधिहरू म्याद नाघेपछि व्यवस्थित रूपमा नष्ट गर्नुको सट्टा फार्मेसीभित्रै भण्डारण गरिएको पाइयो,’ निरीक्षक खड्काले भने, ‘यो कार्य ‘औषधि बिक्री वितरण संहिता २०८०’ को सोझो उल्लंघन हो ।’
विभागले सात दिनभित्र म्याद नाघेका औषधि कसरी र किन फार्मेसीभित्र राखियो भन्नेबारे विस्तृत प्रतिवेदन र स्पष्टीकरण पेश गर्न अस्पताललाई अल्टिमेटम दिएको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए औषधि ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।
विराटनगरको दक्षिणी क्षेत्रका बासिन्दाका लागि मुख्य उपचार केन्द्र मानिने यस अस्पतालमा बेथिती यतिमा मात्र सिमित छैन । स्थानीयका अनुसार यहाँ चिकित्सकहरू समयमा नआउने, ड्युटी समयमा नबस्ने र बिरामीले घण्टौं कुर्नुपर्ने समस्या पुरानै हो । औषधि काण्डले अस्पतालप्रतिको जनविश्वास थप कमजोर बनाएको छ ।
महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलिप यादवले यस घटनालाई ‘अक्षम्य लापरवाही’ को संज्ञा दिएका छन् । ‘औषधिजस्तो संवेदनशील कुरामा लापरवाही गर्नु बिरामीको ज्यानमाथि खेलवाड गर्नु हो,’ यादवले भने, ‘हामीले स्पष्टीकरण सोधेका छौं । दोषी देखिएका जो कोही कर्मचारीलाई विभागीय कारवाही गरिनेछ ।’ उनले अस्पतालका अन्य प्राविधिक र व्यवस्थापकीय कमजोरीहरूलाई पनि तत्कालै सच्याइने दाबी गरे ।