२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीका ४५ हजार नागरिकले लगाए कोभिड-१९ विरुद्धको खोप

कर्णालीका ४५ हजार नागरिकले लगाए कोभिड-१९ विरुद्धको खोप


वीरेन्द्रनगर—कर्णाली प्रदेशका करिब ४५ हजार नागरिकले कोभिड—१९ विरुद्धको फाइजर खोप लगाएका छन् । खोप कभरेज कम भएका कर्णालीका पाँच जिल्लामा संचालन भएको कोभिड–१९ विरुद्धको खोप अभियानका क्रममा यहाँका करिब ४५ हजार नागरिकले फाइजरको बुस्टर डोज लगाएका हुन् ।

कर्णाली प्रदेशमा कोभिड–१९ विरुद्धको खोप कभरेज कम भएका दैलेख, कालिकोट, जुम्ला, सल्यान र सुर्खेतमा खोप अभियान संचालन भएको थियो । जिल्लास्थित स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा इपिक नेपाल र एफएचआई–३६० को आर्थिक तथा प्राविधिक सहयोगमा संचालन भएको कोभिड–१९ विरुद्धको खोप अभियानसमेत सम्पन्न भएको छ । खोप अभियान २ र ३ चैतमा संचालन भएको थियो ।

खोप कम कभरेज भएका कर्णालीका पाँच जिल्लाका १६ वटा पालिकाका यसअघि खोप लगाउन छुटेका नागरिकले खोप सेवा लिएको इपिक नेपालका प्राविधिक विषेशज्ञ प्रदिप श्रेष्ठले बताए । ‘खोप अभियान संचालनका लागि १६ वटा पालिकामा दुई सय ७८ वटा खोप केन्द्र स्थापना गरेर खोप दिएका छौं,’ उनले भने ।

खोप अभियानका लागि ६० हजार डोज प्राप्त भएको थियो । ‘जसमध्ये करिब ४५ हजार नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको तथ्यांक प्राप्त भएको छ,’ उनले भने, ‘अझै जिल्लागत अन्तिम तथ्यांक प्राप्त हुन भने बाँकी छ ।’ हालसम्मको तथ्यांक अनुसार करिब २० हजारभन्दा बढी पुरुष र २४ हजार बढी महिलाले खोप प्राप्त गरेका छन् । खोपको कुनै मात्रा नलिएका तथा बुस्टर डोजबाट छुटेका १२ वर्षमाथिको उमेर समूहका व्यक्तिहरु खोपबाट लाभान्वित भएका छन् ।

सुर्खेतको वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिका तथा चौकुने र चिङगाड गाउँपालिकामा खोप अभियान संचालन भएको थियो । यस्तै, कालिकोटको तिलागुफा, रास्कोट र खाडाचक्र नगरपालिका, जुम्लाको तातोपानी र गुठीचौर गाउँपालिका, सल्यानको सिद्धकुमाख, कालिमाटी र शारदा नगरपालिका र दैलेखको नारायण र चामुण्डाविन्द्रसैनी नगरपालिका तथा भगवतीमाई र गुराँस गाउँपालिकामा खोप अभियान संचालन भएको श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ