२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा तीन दिने निःशुल्क आँखा शिविर सञ्चालन

जुम्लामा तीन दिने निःशुल्क आँखा शिविर सञ्चालन


जुम्ला—जुम्लाको चन्दननाथ नगरपालिका खलंगामा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । तीन दिनसम्म सञ्चालन हुने शिविरमा दुई सयभन्दा बढी मोतिविन्दुका बिरामीको शल्यक्रिया हुने आयोजक नेपाल नेत्र ज्योति संघ चन्दननाथ आँखा अस्पताल जुम्लाले जनाएको छ ।

बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारको लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली, बिरामीको अस्पतालसम्मको पहुँचमा कमी, वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्दा मोतिबिन्दु हुने गरेको छ ।

मोतिविन्दुलगायत आँखाका समस्याहरु समाधान गर्नका लागि नेपाल नेत्र ज्योति संघ जुम्लाले अहोरात्र काम गरी रहेको जुम्ला शाखाका सचिव दिपेन्द्र विक्रम हमालले बताए ।

‘चन्दननाथ आँखा अस्पताल जुम्लाले हरेक वर्ष आँखा शिविर सञ्चालन गर्दै आएको छ,’ उनले भने, ‘मोतीविन्दु रोगको उपचार शल्यक्रियाबाट मात्रै संभव भएकाले ग्रामीण भेगमा आँखाको परीक्षण गर्न सर्वसाधारणले आनाकानी गर्दा बिरामी बढेका छन् ।’

जुम्लाका सात वटा स्थानीय तहमा सञ्चालन भएको छनोट शिविरबाट आएका बिरामी र अन्य आँखाका बिरामीको मोतीविन्दुको शिविरका अवसरमा शल्यक्रिया हुने नेपाल नेत्र ज्योति संघ चन्दननाथ आँखा अस्पताल जुम्लाले जनाएको छ ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले शिविरले जुम्लामा आँखाका रोगका कारण बिरामी घटाउने बताए । ‘शिविरबाट आँखाका समस्या भएका नागरिकलाई राहत हुनेछ,’ उनले भने, ‘कुनै बेला भारत गएर उपचार गराउनु पर्ने अवस्थाको अन्त्य भएको छ ।’

चन्दननाथ नगरपालिका जुम्लाका नगरप्रमुख राजुसिंह कठायतले विगतमा जस्तो हाल आँखाका समस्या भएका बिरामीको चाप घटेको बताए । ‘अहिले सबै ठाउँमा शिविर संचालन भएकाले सामान्य आँखाका समस्या भएका बिरामीले स्थानीय स्तरमै सेवा पाएका छन्,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले निःशुल्क रुपमा प्रदान हुने सेवाले दुदराजका गाउँमा मोतिबिन्दुबाट प्रभावित भएका नागरिकलाई राहत मिल्ने बताए ।

नेपाल नेत्र ज्योति संघका केन्द्रीय सदस्य धनवहादुर बस्नेतले वि.सं. २०४८ सालमा नेपाल नेत्र ज्योेति संघ जुम्लामा स्थापना भएपछि जुम्लामा आँखाका रोगका बिरामीलाई राहत भएको बताए । ‘स्थापनाको ३२ वर्षमा हिमा र पातारासी गाउँपालिमा आँखा उपचार केन्द्रको इकाई स्थापना भएको छ,’ उनले भने, ‘अन्य स्थानीय तहमा पनि इकाई स्थापनामा गर्न सके बिरामीलाई राहत हुने थियो ।’

नेपाल नेत्रज्योति संघ चन्दननाथ आँखा अस्पताल जुम्लाका अध्यक्ष जगदिश चौलागाईले मोतिबिन्दुका समस्या भएका विरामीको सेवामा संघ केन्द्रित हुने बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ