२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशतीन वर्षदेखि सल्यान जिल्ला अस्पतालका भेन्टिलेटर थन्किए

तीन वर्षदेखि सल्यान जिल्ला अस्पतालका भेन्टिलेटर थन्किए


जुम्ला—जिल्ला अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा एक करोड रुपैयाँ बढी खर्चेर किनेको भेन्टिलेटर मेसिन तीन वर्षदेखि थन्किएको छ । कर्णाली प्रदेश सरकारले भेन्टिलेटर सञ्चालनका लागि तालिम प्राप्त दक्ष डाक्टर, स्वास्थ्यकर्मी व्यवस्थापन नगर्दा तीन वर्षदेखि सेवा सञ्चालन गर्न नसकिएको हो ।

जिल्ला अस्पतालमा उपचारका लागि आएका बागचौरका खेमराज वलीले जिल्ला अस्पतालमै भेन्टिलेटर सञ्चालनमा आए आफूहरुलाई सहज हुने बताए । ‘अस्पतालमा भेन्टिलेटर छ तर सञ्चालनमा छैन । जिल्ला अस्पतालमा नै भेन्टिलेटर सञ्चालनमा भए गम्भीर बिरामीहरु उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्था हुँदैन्,’ उनले भने ।

आवश्यक संरचना नहुँदा पनि भेन्टिलेटर सञ्चालनमा समस्या देखिएको कार्यालयका प्रमुख डा. अर्जुन बुढामगरले जानकारी दिए । तीन वर्षदेखि सञ्चालन नआउँदा बिरामीहरुलाई समस्या भएको उनले बताए ।

भेन्टिलेटर सञ्चालनका लागि कुनै पनि निकायले चासो नदेखाएपछि मेसिन बिग्रने अवस्था आएको छ । कर्णाली प्रदेश सरकारले ०७६÷०७७ मा २ करोड ५८ लाख रुपैयाँ बजेटबाट ६ शैय्याको भेन्टिलेटर र १४ शैय्याको आईसीयू सञ्चालन गर्नको लागि मेसिन तथा बेड खरिद गरेको थियो । आईसीयू सेवा सञ्चालन नभएपनि बेड भने प्रयोगमा आइरहेको उनको भनाइ छ ।

‘भेन्टिलेटर सेवा सञ्चालनका लागि विशेषज्ञ डाक्टरसहितको दक्ष टिम चाहिन्छ । दक्ष जनशक्ति भए आईसीयू सञ्चालनमा ल्याउन सकिन्छ, अहिलेसम्म आईसीयू सञ्चालनमा ल्याउन सकिएको छैन कसरी भेन्टिलेटर सेवा सञ्चालन गर्नु, खरिद गरेका उपकरण प्रयोगमा आउन नसकी थन्किएका हुन्’ उनले भने । वि.सं. २०४४ सालमा स्थापना भएको १५ शैय्याको अस्पताल अहिलेसम्म स्तरोन्नती हुन सकेको छैन ।

अस्पतालले आफ्नै प्रयासले अहिले ४० शैय्याको व्यवस्था गरेर बिरामीलाई सेवा दिँदैं आएको छ । अस्पतालका एमडिजिपी डा. अभिषेक सिंहले आईसीयू तथा भेन्टिलेटर सेवा सञ्चालनमा ल्याउन नसक्दा गम्भीर खालका बिरामीलाई नेपालगन्ज पठाउनु पर्ने बाध्यता रहेको बताए ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद श्रेष्ठले जनशक्ति व्यवस्थापन र भवन निर्माण भइसकेको ब्लड बैंक सञ्चालनको पहल भइरहेको बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ