२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश सरकारले ‘निरोगी कर्णाली’ कार्यक्रम सञ्चालन गर्ने, दीर्घ रोगका बिरामीलाई एक लाख रुपैयाँ दिइने

कर्णाली प्रदेश सरकारले ‘निरोगी कर्णाली’ कार्यक्रम सञ्चालन गर्ने, दीर्घ रोगका बिरामीलाई एक लाख रुपैयाँ दिइने


वीरेन्द्रनगर—कर्णाली प्रदेश सरकारले ‘निरोगी कर्णाली’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘निरोगी कर्णाली’ केन्द्रीत स्वास्थ्य प्रणाली भन्ने मूल नाराका साथ कर्णालीवासीको स्वास्थ्य सेवाको पहुँचलाई एकीकृत, सरल, सुलभ, गुणस्तरीय र प्रभावकारी बताएका हुन् ।

प्रदेश अस्पताललाई विशिष्टीकृत प्रेषण तथा शिक्षण अस्पतालको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरी भौतिक पूर्वाधार र जनशक्तिको विकास गरिने प्रदेश प्रमुख परियारले बताए । ‘प्रदेश अस्पतालमा आपत्तकालीन विशेषज्ञ स्वास्थ्यकर्मीसहितको ट्रमा इकाई सञ्चालन गर्नुका साथै सिकलसेल एनिमिया परीक्षणको लागि आवश्यक उपकरणको व्यवस्था गरिनेछ,’ उनले भने, ‘भूकम्प प्रभावित नागरिकको मनोसामाजिक परामर्श तथा उपचारको लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।’

प्रदेश अस्पतालबाट प्रदान गरिने विशेषज्ञ स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन जनशक्ति, भौतिक पूर्वाधार, औषधि र उपकरणको सुनिश्चितता गरिने र प्राकृतिक चिकित्सा, आधारभूत रोग निदान, दन्त उपचार, फिजियोथेरापी, हेमोडाइलासिस सेवा, नाक, कान, घाँटी, आँखा उपचार र रक्तसञ्चार सेवालाई जिल्लास्तरसम्म विस्तार गर्नुका साथै थप व्यवस्थित गर्दै लगिने प्रदेश प्रमुख परियारले बताए ।

‘रणनैतिक स्थानमा रहेका आधारभूत अस्पतालको स्वास्थ्य सेवालाई थप प्रभावकारी तथा गुणस्तरीय बनाउन सरोकारवालासँग साझेदारी गरिनेछ,’ उनले भने, ‘प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रलाई वैकल्पिक चिकित्साको अनुसन्धान एवम् औषधी उत्पादनको मुख्य केन्द्र र मातहतका आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधीजन्य जडीबुटीको सङ्कलन र प्रशोधनको व्यवस्था मिलाइनेछ ।’

स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन अस्पताल प्रशासन र विकास समिति बीच कार्यसम्पादन सम्झौता गर्ने व्यवस्था मिलाइने र प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई स्तरोन्नति गरी रिफरेन्स प्रयोगशालाको रुपमा विकास गर्नुका साथै जिल्ला अस्पतालमा रहेका प्रयोगशालाको स्तरोन्नति गरिने प्रदेश प्रमुख परियारले बताए ।

‘प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेका प्रयोगशालाबीच सहकार्य गरी स्वास्थ्य प्रयोगशाला सेवालाई थप प्रभावकारी बनाइनेछ,’ उनले भने, ‘स्थानीय तहको समन्वय र सहकार्यमा सबै वर्थिङ सेन्टरमा घुम्ती अल्ट्रासाउण्ड सेवाको पहुँच बढाइनेछ ।’

नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै कर्णाली स्वस्थ नागरिक विशेष अभियान सञ्चालन गरिने र प्रदेश र जिल्ला अस्पतालमा जेष्ठ नागरिक तथा अशक्त अपाङ्गता भएका व्यक्तिको लागि छुट्टै वार्डको व्यवस्था मिलाइने प्रदेश प्रमुख परियारले बताए । ‘रणनीतिक स्थान तथा दुर्गम हिमाली जिल्लाका स्थानीय तहमा आवधिक विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिनेछ,’ उनले भने, ‘इ–हेल्थ र दूर चिकित्सा सेवालाई प्रभावकारी बनाइ थप विस्तार गरिनेछ ।’

सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गर्न प्रोत्साहन सम्बन्धी अभियान सञ्चालन गरिने र प्रदेश सरकार मातहतका सम्पूर्ण राष्ट्रसेवक कर्मचारी र तिनका परिवारलाई स्वास्थ्य बीमा अनिवार्य गरिने प्रदेश प्रमुख परियारले बताए । ‘अटिज्म र मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाको शीघ्र पहिचान, व्यवस्थापन र पुर्नस्थापना सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने, ‘प्राणघातक रोग क्यान्सरबाट जोगाउन प्रदेशभर वृहत् स्क्रिनिङ्ग शिविर सञ्चालन गरिनेछ । किशोरीमा देखिने गरेको पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न खोप अभियानलाई संघीय सरकारसँगको समन्वयमा सबै जिल्लामा विस्तार गरिनेछ ।’

सुरक्षित मातृत्व, बाल स्वास्थ्य पोषण, खाद्य स्तरोन्नती (फूड फोर्टिफिकेशन) लगायत प्रर्वद्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक र पुर्नस्थापनाका कार्यक्रम तथा सुत्केरी पोषण कोसेली, महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन, सामुदायिक स्वास्थ्य इकाई र एम्बुलेन्स सेवा सञ्चालन सहयोगलाई निरन्तरता दिइनेछ प्रदेश प्रमुख परियारले बताए । ‘सङ्क्रामक रोग, जनस्वास्थ्य विपद् र महामारीबाट स्वास्थ्यमा पर्न सक्ने असर न्यूनीकरण गर्न रोकथाम, निगरानी, निदान, नियन्त्रण र व्यवस्थापन गरिनेछ,’ उनले भने, ‘यसका लागि पूर्व तयारी, प्रतिकार्य तथा पुर्नस्थापना गर्न विज्ञसहित द्रुत प्रतिकार्य टोली गठन र परिचालनको व्यवस्था मिलाइनेछ ।’ उनले स्वास्थ्य आकस्मिक केन्द्र र प्रेषण केन्द्रलाई थप प्रभावकारी बनाइने बताउँदैं औषधीजन्य तथा स्वास्थ्य प्रविधि सामग्रीको गुणस्तर निर्धारण तथा नियमन गरिने बताए ।

स्वास्थ्य सेवाको पहुँच र विस्तारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग समन्वय र सहकार्य गरिने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लड बैङ्कको स्थापनाका लागि साझेदारी गरिनेछ र मुटु, मिर्गौला प्रत्यारोपण, क्यान्सर, स्पाइनल इन्जुरी (प्यारालाइसिस) का बिरामीलाई शल्यक्रिया (मेजर अपरेसन) गर्दा फुटकर यातायात खर्चको सट्टा प्रति बिरामी एकमुष्ट एक लाख रुपैयाँ उपचार खर्च प्रदान प्रदेश प्रमुख परियारले बताए ।

यस्तै, कर्णाली प्रदेश सरकारले दीर्घ रोगका बिरामीलाई एक लाख रुपैयाँ उपचार खर्च दिने नीति तथा कार्यक्रममा छ । ‘मुटु रोग, मिर्गौला रोगलगायतका दीर्घ रोगका बिरामीलाई उपचारका लागि एकमुष्ट एकल लाख रुपैयाँ दिइनेछ,’ उनले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ