काठमाडौं—सामाजिक अभियन्ताका नाममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै गालीगलौज र धाक धम्की भएको भन्दैं चिकित्सक, कर्मचारीहरुले सुरक्षाको प्रत्याभूतिको माग गरेका छन् । बिहीबार उनीहरुले प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायालाई पत्र लेख्दैं माग पूरा नभएसम्म आपत्तकालीन र अन्तरंगबाहेका सेवा बन्द गरेका बताएका छन् ।
९ बैशाखमा प्रतिष्ठानमा सामाजिक अभियन्ताको नाममा केही व्यक्ति विभिन्न विभागमा गएर कर्मचारीलाई गाली—गलौज र धाक धम्की दिएको कर्मचारीले पत्रमा लेखेका छन् । यसैगरी, शैक्षिक भवनको प्राङ्गणमा रहेको चमेना गृहमा प्रवेश गरेर त्यहाँ रहेका कर्मचारीलाई अभद्र व्यवहार गरिएको र ज्यान मार्ने धम्की दिएर बाहिर आउन भनिएको पनि पत्रमा छ ।
उपकुलपति डा. रोकायालाई बुझाइएको पत्रमा दिउँसो ३ः५० बजेतिर पुनः त्यही व्यक्तिहरु मदिरा र लागु पदार्थ सेवन गरी हातहतियारसहित प्रतिष्ठानमा प्रवेश गरेर कर्मचारीलाई सांघातिक हमलाको प्रयास गरेको उल्लेख छ ।
‘हामी सम्पूर्ण कर्मचारी, शिक्षकहरु तथा चिकित्सकहरु असुरक्षित महसुस गरेको र सो घटनामा संलग्न कथित अभियन्ताहरुलाई लिखित/मौखिक रुपमा माफी मागी सम्पूर्ण कर्मचारी, शिक्षक तथा चिकित्सकहरुको सुरक्षाको जिम्मेवारी लिनुपर्ने र आवश्यक कानुनी कारवाही गरी सुरक्षाको प्रत्याभूति गर्ने माग गर्दछौं,’ उपकुलपतिलाई बुझाइएको पत्रमा छ, ‘माग पूरा नभएसम्म आपत्तकालीन र अन्तरंग सेवाबाहेक सम्पूर्ण सेवाहरु बन्द रहने जानकारी गर्दछौं ।’
उक्त पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला प्रहरी कार्यालय जुम्ला र जिल्ला प्रशासन कार्यालय जुम्लालाई बोधार्थ दिइएको छ ।
