वीरेन्द्रनगर – कालीकोट जिल्लाको रास्कोट नगरपालिका–५ स्थित गौतुकोटमा रहेको प्रादेशिक रणनीतिक अस्पताल जोड्नका लागि झोलुङ्गे पुल निर्माण भएको छ । अस्पतालमा आउने सेवाग्राहीलाई सहज भनेर प्रादेशिक रणनीतिक अस्पताल जोड्नका लागि झोलुङ्गे पुल निर्माण भएको हो ।
अस्पतालमा जोड्नका लागि रास्कोट नगरपालिकाको ४, ५ र ६ वडाको बीचमा पर्ने गोठालेदेखि सिम खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ ।
पुल निर्माणले वर्षायामको समयमा अस्पताल आउने सेवाग्राहीलाई हिडडुल गर्न र पशुचौपायालगाएत आवात–जावतमा सहज हुने भएकाले पुल निर्माण गरिएको झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष गोकर्णप्रसाद संज्यालले बताए ।
‘विगतमा पुल नहुँदा आवात–जावत गर्नका लागि लामो बाटो तय गर्नुपर्ने बाध्यता रहेको थियो,’ उनले भने,‘अब पुल निर्माण भएपछि अस्पतालमा पुग्नका लागि आधा घण्टा लाग्ने बाटो पाँच मिनेटमा झरेको छ ।’
पुल निर्माणका लागि भौतिक पूर्वाधार मन्त्रालय कर्णाली प्रदेशको ४० लाख ७८ हजार सात सय ३० रुपैयाँ लागतमा रहेको त्यसले केही काम पूर्णता दिन बाँकी रहेको अध्यक्ष संज्यालले जानकारी दिए ।
‘पुलको निर्माणका लागि प्रदेश सरकारले लागत रहेको छ,’ उनले भने,‘पुल निर्माणका लागी चाहिने फलामे लड्ठा, तार, जाली, सिमेन्ट, गिट्टीलगाएतका सामग्री खरीद तथा ढुवानीमा लागत बढी लागेको छ । केही रकम अप्ग रहेको छ ।’
ग्रामीण तथा हिमाली क्षेत्रमा झोलुङ्गे पुल निर्माणले स्थानीयको दैनिकीमा ठूलो परिवर्तन ल्याएको र यसले घण्टौं घुमेर वा जोखिमपूर्ण बाटो पार गर्नुपर्ने बाध्यता हटाएर यात्रा सहज, सुरक्षित र छिटो बनाएको जिल्ला पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख प्रभाकरप्रसाद सिंह बताए ।
‘पुलको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ । यो पुलले अस्पतालमा जोड्नका लागि छिटोछरितो बाटो हो,’ उनले भने,‘तोकिएको समयमा नै काम सम्पन्न हुनेछ ।’