वीरेन्द्रनगर –चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका–३ निवासी ३० वर्षीय लवबहादुर सेजुवाल रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिए।
प्रहरी निरीक्षक अधिकारीका अनुसार सेजुवालले मादक पदार्थ सेवन गरी होहल्ला गर्दै प्रतिष्ठान परिसरमा प्रवेश गरी चिकित्सकमाथि अभद्र व्यवहार गरेका थिए। घटनालगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सेजुवालले यसअघि पनि प्रतिष्ठानभित्र अनधिकृत रूपमा प्रवेश गरी अभद्र व्यवहार गर्ने गरेका थिए।
उनीविरुद्ध स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम जेठ ११ गते मुद्दा दर्ता गरिएको छ। जुम्ला जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।