२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशवीरेन्द्रनगरले बाँड्न थाल्यो निःशुल्क सेनेटरी प्याड

वीरेन्द्रनगरले बाँड्न थाल्यो निःशुल्क सेनेटरी प्याड


चन्द्रा कँडेल

सुर्खेत-वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रका किशोरी तथा महिलालाई निःशुल्क रुपमा प्याड वितरण सुरु गरेको छ । १७ माघबाट नगरपालिकाले नगरभित्रका महिनावारी हुने उमेरका किशोरी तथा महिलालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्न थालेको हो ।

वडा नम्बर १६ को सानीलेक स्वास्थ्य चौकीबाट निःशुल्क प्याड वितरण अभियान सुरु गरिएको छ । सेनेटरी प्याड नहुँदा महिनावारीको समयमा महिला र किशोरीहरुले सास्ती भोग्नुपर्ने अवस्था रहेको भन्दै नगरपालिकाले यो अभियान सञ्चालन गरेको जनाएको छ ।

हाल संघीय सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई मात्र निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउँदै आएको छ । तर, महिनावारी हुने उमेरका छात्रा र महिला सबैलाई निःशुल्क प्याड वितरण गर्ने वीरेन्द्रनगर देशकै पहिलो नगरपालिका बनेको उपप्रमुख मोहनमाया ढकालले दावी गरिन् ।

आर्थिक अभावका कारण अधिकांश किशोरी र महिलाले महिनावारीको समयमा प्याड प्रयोग गर्न सक्ने अवस्थामा छैनन् । सेनेटरी प्याड नहुँदा महिनावारीको समयमा उनीहरुले सास्ती भोग्नु पर्छ । यही समस्या समाधान गर्न र सुरक्षित महिनावारीका लागि निःशुल्क रुपमा सेनेटरी प्याड वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

नगरका १६ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट प्याड निःशुल्क वितरण हुन थालेको उपप्रमुख ढकालले बताइन् । वीरेन्द्रनगरलाई महिलामैत्री नगर बनाउने योजना रहेको बताउँदैं उनले छाउगोठमुक्त अभियानमा समेत जुटेको बताइन् । वीरेन्द्रनगर नगरपालिका १६ की किशोरी लक्ष्मी विकले निःशुल्क सेनेटरी प्याड पाउँदा खुशी व्यक्त गरिन् । अब महिनावारी हुँदा छोइछिटो हुने समस्याबाट समेत मुक्ति मिल्ने उनले बताइन् ।

नगरपालिकाले एकजनालाई मासिक एक प्याकेटका दरले प्याड उपलब्ध गराउने छ । पहिलो पटक प्याड लिन जादा नागरिकताको प्रतिलिपि लिएर जानुपर्नेछ । त्यसपछि महिला र किशोरीहरुलाई कार्डको व्यवस्था गरिएको छ । प्याड स्वास्थ्य संस्थामा आफैं उपस्थित भएर लिनुपर्ने नियम बनाइएको छ ।

यसले किशोरी र महिलाहरु महिनामा कम्तिमा एकपटक स्वास्थ्यकर्मीको पहुँचमा हुने र उनीहरुको मासिक रुपमा स्वास्थ्य परीक्षण पनि गरिने नगरपालिकाले जनाएको छ । निःशुल्क रुपमा सेनेटरी प्याड वितरणका लागि नगरपालिकाले १५ लाख बजेट विनियोजन गरेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ