२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश : जटिल बन्दै मानसिक समस्या

कर्णाली प्रदेश : जटिल बन्दै मानसिक समस्या


सुर्खेत—मानसिक समस्या कर्णालीको जटिल स्वास्थ्य समस्याका रुपमा देखा परेको कर्णाली प्रदेश अस्पतालका चिकित्सकहरूले बताएका छन् । चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म सुर्खेतको प्रदेश अस्पतालमा आएका बिरामीमध्ये एक हजार पाँच सय तीन जना बिरामी मानसिक समस्याबाट ग्रसित भएको तत्थ्यांकका आधारमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सकले यस्तो बताएका हुन् ।

‘अहिले हरेक दिन १५ देखि २० जना मानसिक समस्या भएका बिरामी प्रदेश अस्पतालमा उपचारका लागि आइरेका छन्,’ कर्णाली प्रदेश अस्पताल सुर्खेतका मनोचिकित्सक डा. सुशील समदर्सीले भने, ‘यसको समाधानका लागि अहिले नैं ध्यान दिने होइन भने पछि अवस्था जटिल बन्ने देखिन्छ ।’

उनका अनुसार कर्णाली प्रदेश अस्पतालमा गएको साउनमा ४ सय ३९, भदौमा ३ सय ७३, असोजमा १ सय ६१ जना मानसिक रोगी उपचारका लागि आएका छन् । त्यस्तै कात्तिकमा २ सय ८८ र मंसिर २४ गतेसम्म ३ सय २ जना मानसिक समस्याका बिरामीले उपचार लिएका छन् । मानसिक समस्यालाई सामाजले राम्रोसँग स्वीकार गर्न नसकेको अवस्थामा पनि यत्रो संख्याका बिरामी आफै उपचारका लागि अस्पताल आउनुले पनि कर्णालीमा यस रोगका बिरामीको संख्या निकै धेरै हुने अनुमान मनोचिकित्सक डा. समदर्सीले गरे ।

‘गरिबी, बाल विवाह, कुप्रथाका रुपमा रहेका हाम्रा परम्परागत मान्यता, व्यक्तिगत तथा पारिवारिक तनाब, बेरोजगारीजस्ता समस्याले हरेक व्यक्ति कुनै न कुनै रुपमा मानसिक समस्याबाट प्रभावित भएको दाबी गरेका डा. समदर्सीले यस समस्यालाई सामान्य समस्याका रुपमा बुझाउन सक्ने हो भने स्वास्थ्य संस्थामा आउने बिरामीको संख्या अपेक्षित रुपमा वृद्धि हुने जानकारी दिए । भौगोलिक रुपमा नेपालकै ठूलो प्रदेशमा पर्याप्त मनोचिकित्सक र यसको उपचारको प्रभावकारी व्यवस्था नभएको जानकारी दिएका उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २ र प्रदेश अस्पताल सुर्खेतमा १ गरी प्रदेशभरीमा ३ जनामात्रै मनोचिकित्सक कार्यरत रहेको बताए ।

सल्यानमा पनि उस्तै

अस्पतालमा आउने बिरामीको संख्याका आधारमा सल्यान जिल्लामा समेत मानसिक स्वास्थ्य समस्या प्रजिल्लाकै प्रमुख स्वास्थ्य समस्याका रुपमा देखा पर्न थालेको छ । स्वास्थ्य संस्थामा आउने अधिकांश बिरामीमा देखिने मानसिक समस्याको संख्या दिनप्रतिदिन बढ्दै गएको जिल्ला अस्पताल सल्यानका डा. प्रदीप शर्माले जानकारी दिए ।

उनका अनुसार सल्यान जिल्ला अस्पतालमा उपचारका लागि अहिलेसम्म आएका बिरामीमध्ये १ हजार ३ सय २९ जनामा मानसिक स्वास्थ्य समस्या देखा परेको छ । सल्यानमा सन् २०१६ मा ३ सय ५७ जना, सन् २०१७ मा २ सय ९० जना र सन् २०१८ मा ६ सय ५२ जना बिरामीमा मानसिक स्वास्थ्य समस्या देखापरेको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ