२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेशमा टिनएजमै गर्भपतन गराउनेको संख्या उच्च

कर्णाली प्रदेशमा टिनएजमै गर्भपतन गराउनेको संख्या उच्च


सुर्खेत—कर्णाली प्रदेशमा २० वर्षभन्दा कम उमेरमै गर्भपतन गराउनेको संख्या उच्च रहेको पाइएको छ । प्रजनन स्वास्थ्यको दृष्टिले सानै उमेरमा गर्भपतन गराउनु जोखिम मानिन्छ । तर, कर्णालीमा सुरक्षित गर्भपतन गराउने संख्यामध्ये १७.५९ प्रतिशत २० वर्षभन्दा कम उमेरका छन् ।

पछिल्लो एक वर्ष २०७५ साउनदेखि २०७६ असारसम्म कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले संकलन गरेको तथ्यांकअनुसार प्रदेशभरि जम्मा चार हजार आठ सय ५९ जनाले सुरक्षित गर्भपतन गराएका थिए । जसमध्ये आठ सय ५५ जना २० वर्षमुनिका किशोरी रहेको मन्त्रालयको स्वास्थ्य शाखाले जनाएको छ ।

सानै उमेरमा बिहे गर्ने र असुरक्षित यौन सम्पर्कका कारण कलिलै उमेरमा गर्भपतन गराउनेको संख्या उच्च रहेको मन्त्रालयले संकलन गरेको सर्वेक्षणमा उल्लेख छ । मन्त्रालयको स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत मानकुमारी गुरुङले २० वर्षभन्दा कम उमेरमा विवाहित तथा अविवाहित दुवैले गर्भपतन गराउने गरेको बताइन् ।

२०७४ भदौदेखि लागू भएको मुलुकी देवानीसंहिताको दफा ७० को (घ) मा विवाहका लागि केटा र केटीको उमेर २० वर्ष पूरा हुनुपर्ने कानूनी व्यवस्था छ । तर, जबर्जस्ती करणीका कारण अनिच्छित गर्भ रहँदा तथा अविवाहित युवती तथा किशोरीले कम उमेरमै गर्भपतन गराउनेको संख्या बढ्दै गएको गुरुङको भनाइ छ । त्यस्तै असुरक्षित यौन सम्पर्क, परिवार नियोजनका अस्थायी साधनको सही प्रयोग नगर्नु, अपरिपक्व उमेरमा गर्भवती हुनु र यौन शिक्षाबारे पर्याप्त ज्ञान नहुनु पनि किशोरी अवस्थामा गर्भपतनको प्रमुख कारण बनेको उनले बताइन् ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वर्षमुनिका किशोरी÷युवतीमध्ये पाँच सय आठजनाले औषधीको प्रयोग गरेर सुरक्षित गर्भपतन गराएका हुन् । प्रदेशका १० जिल्लामध्ये २० वर्षभन्दा कम उमेरमा गर्भपतन गराउनेको संख्या सुर्खेतमा सबैभन्दा धेरै रहेको छ । सुर्खेतमा ३ सय ५३ ले औषधीको प्रयोग गरेर गर्भपतन गराएका छन् भने दुई सय ९५ जनाले शल्यक्रिया गरी गर्भपतन गराएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै रुकुम पश्चिम र जुम्लामा औषधीको प्रयोग गर्नेको संख्या शून्य छ भने डोल्पामा र जाजरकोटमा शल्यक्रिया गरी गर्भपतन गराउनेको संख्या शून्य छ । कर्णालीमा १५ देखि १९ वर्ष उमेर समूहका ६ दशमलव ७ प्रतिशत महिलाहरू पहिलोपटक गर्भवती हुने गरेको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा छ । यस्तै गत वर्ष २० वर्षभन्दा माथि गर्भपतन गराउनेको संख्या ४ हजार ४ छ । जसमध्ये सुर्खेतमा सबैभन्दा धेरै दुई हजार पाँच सय ५४ जनाले सुरक्षित गर्भपतन गराएका छन् ।

‘सकेसम्म यस्तो परिस्थिती आउन दिनुहुन्न’

मानकुमारी गुरुङ
बरिष्ठ सामुदायिक नर्सिङ अधिकृत
कलिलै उमेरमा गर्भपतन गर्दा वा धेरैपटक गर्भपतन गरेमा पाठेघर पातलो हुने, फुट्ने, बाँझोपन हुने, त्यस्तै, गर्भपतनका अन्य असरका कारण महिलामा मानसिक असरसमेत पर्छ । गर्भपतन आफैंमा जटिल प्रक्रिया भएकाले सकेसम्म यस्तो अवस्था आउन दिन हुँदैन । सुरक्षित गर्भपतन महिलाहरूको प्रजनन अधिकार भएपनि सकेसम्म कलिलै उमेरमा र पटकपटक गर्भपतन गर्नबाट सचेत हुनुपर्छ ।

‘गर्भपतनको दुरुपयोग रोक्नुपर्छ’

गीता कोइराला, अधिवक्ता
सुरक्षित गर्भपतन महिलाहरूको प्रजनन अधिकार हो । तर यसको दुरुपयोग गर्न हुँदैन । यसले आफ्नै स्वास्थ्यमा हानी गर्छ । असुरक्षित गर्भपतन रोक्नु राज्यको दायित्य हो । नेपालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० ले १२ हप्तासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीमा पतन गर्न कानूनले मान्यता दिएको छ । जबर्जस्ती करणी र हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भ फाल्न पाइने व्यवस्था छ । लिंग पहिचान गरेर, गर्भवती महिलाको सहमतिबिना र १२ हप्ताभन्दा बढीको गर्भपतन गराउन कानुनले बन्देज लगाएको छ । अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १८ हप्तासम्मको गर्भपतन गर्न पाउने व्यवस्था रहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ