२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीका कामकाजी महिला भ्याउँदैनन् स्तनपान गराउन

कर्णालीका कामकाजी महिला भ्याउँदैनन् स्तनपान गराउन


वीरेन्द्रनगर—विहानको साढे ५ नै वीरेन्द्रनगर नगरपालिका—१६ सुर्खेतकी सिर्जना आचार्य घरबाट निस्की सक्छन् । उनी निस्कँदा झिसमिसे उज्यालो हुन पाएको हुँदैन, उनको चार महिने बच्चा निन्द्रामै हुन्छ । आचार्य घरबाट वस्तुभाउका लागि घाँस काट्न भिउँचुला लेकतिर जानुपर्छ । उनी घाँस काटेर फर्किदा विहानको १० बजिसक्छ । विहानको साढे चार घण्टा बच्चा र आमा सँगै हुँदैनन् । स्तनपान गर्न नपाउँदाको परिणाम उनको बच्चा पटक—पटक बिरामी भइरहन्छ ।

कालिकोटको पंचालझरना गाउँपालिकाकी उज्याली कठायतका श्रीमान् गोपाल भारतमा छन् । बच्चा जन्मिनुभन्दा ३ महिनाअघि नै श्रीमान कालापहाड गएपछि उज्याली एक्लैको काँधमा ५ महिनाकी छोरी हुर्काउनुपर्ने, घरव्यवहार तथा खेतवारी धान्नुपर्ने बाध्यता आइपरेको छ । कहिले गोडमेल त कहिले घाँस दाउरा । उनको ध्यान ५ महिनाकी छोरीभन्दा बढी खेतवारी र घरव्यवहारमा हुन्छ । जसका कारण उनकी छोरीलाई चिसोले बिरामी परिरहन्छ भने उनको उमेर अनुसारको वृद्धिमा पनि समस्या देखिएको छ ।

समयमा स्तनपान र उचित रेखदेख गर्न नपाउँदा कर्णाली प्रदेशका बच्चाको स्वास्थ्यमा परेका प्रभावका यी त प्रतिनिधिमूलक घटना मात्रै हुन् । कर्णाली प्रदेशका अधिकांश महिलाहरुले आफ्नो बच्चालाई समयमै स्तपान गराउन पाउँदैनन् । घरायसी तथा खेतवारीका कामकाजमै व्यस्त रहनुपर्ने बाध्यताका कारण आफ्ना नवजात शिशुलाई समयमा स्तनपान गराउन पाएका छैनन् । समयमै स्तनपान गराउन नपाउने आमाका बच्चाहरु कुपोषण तथा अन्य स्वास्थ्य समस्या जुधिरहेका छन् । ग्रामीण भेगका आमाहरू स्तनपानको महत्व र पर्याप्त ज्ञानको अभावमा कारण पनि उनीहरुले नवजात सन्तान पूर्ण स्तनपानको अधिकार दिन सकिरहेका छैनन् ।

स्वास्थ्यकर्मीकाअनुसार आमाको पहिलो दूध बच्चाका लागि अमृत समान हुन्छ । जसले बच्चामा धेरै रोगहरूसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत नर्सिङ अधिकृत सकुन्तला सापकोटा (गौली) ले एउटा आमाले आफ्नो बच्चा स्वस्थ राख्नको लागि पूर्ण रुपमा स्तनपानसँगै आफूले गरिने दैनिक गतिविधिमा पनि ध्यान दिनुपर्ने बताउँछिन् । ‘आमाको गर्भमा शिशु रहेदेखि बच्चा दुई वर्ष नपुग्ने बेलासम्मको अवधि हजार दिनभित्रको अवधि हुने गर्छ,’ उनी भन्छिन्, ‘यस अवधिमा वच्चाको वृद्धि र विकास तीव्र हुन्छ । यो अवधिमा नै बालवालिकाको ८० प्रतिशत दिमागको विकास हुन्छ । यो अवधिमा राम्रो हेरविचार भएमा भविष्यमा बच्चाको उत्पादकत्व र काम गर्ने क्षमता वृद्धि हुनुका साथै सिकाइमा पनि राम्रो गर्न सक्ने हुन्छ ।’ नियमित र समयमा स्तनपान गराउनाले उनीहरु कम बिरामी पर्ने तथा बलियो र फूर्तिलो हुने र यो अवधिमा आमाले पनि पोषिलो र पर्याप्त खानेकुरा खानुपर्ने उनले बताइन् ।

तर, कर्णालीका कामकाजी आमाहरु एक हजार दिनमा शिशुका लागि महत्वपूर्ण हुने स्तनपानबारे बेखबर छन् । अवस्था कस्तो सम्म छ भने आमा र बच्चालाई अतिरिक्त पोषिलो खाना, सरसफाई तथा राम्रो स्याहारसुसार पनि हुँदैन् । आमा र बच्चा दुवैका लागि राम्रो सहयोग पुग्ने यस्ता कुराहरुमा पनि पर्याप्त सचेतनाको अभाव छ ।

आमाको दूधमा किटाणुनाशक तत्वहरू हुने भएकाले त्यो बच्चाका लागि महत्वपूर्ण हुने स्वास्थ्य सेवा निर्देशनालय कर्णालीकी निर्देशक रिता भण्डारी जोशी बताउँछिन् । तर अझै पनि यो चेतना नहुँदा बच्चा जन्मेपछि आउने पहिलो दूधलाई मिल्काउने गरिएको उनको भनाइ छ । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)का अनुसार विश्वमा धेरैजसो देशमा स्तनपानको अवस्था सन्तोषजनक छैन । संगठनले आमाको दूध बच्चालाई स्वस्थ राख्ने पहिलो खोप भएको जनाएको छ । जोशी आमाको दूधले बच्चाको स्वास्थ्यमा रोग प्रतिरोधात्मक क्षमता बढाउने बताउँछिन् । उनकाअनुसार बच्चालाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ, त्यसपछि मात्रै जाउलो, झोलिलो पदार्थ, लिटोजस्ता सजिलै पचाउन सक्ने खानेकुरा खुवाउनुपर्छ ।

बाल्यकालमा प्रशस्त मात्रामा आमाको दूध खान नपाएकालाई विभिन्न रोग लाग्ने सम्भावना रहने चिकित्सकहरु बताउँछन् । शिशुलाई पूर्ण रुपमा स्तनपान नगराएको खण्डमा रोगसँग लड्न सक्ने क्षमतामा कमी हुने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए । उनकाअनुसार पूर्ण रुपमा स्तनपान नगराएका शिशु कुपोषणको शिकार हुने, विभिन्न संक्रामक रोगहरु लाग्न सक्ने, बच्चा र आमाको आत्मीयतामा कमी आउने, सुत्केरी अवस्थामा परिवर्तन भएको आमाको पाठेघर सामान्य अवस्थामा फर्किन समय लाग्ने खतरा हुन्छ । यसतर्फ सरकारले ध्यान दिनुपर्ने आवश्यकता टड्कारो देखिन्छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ