२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकम उमेरमा आमा बन्दा बढ्यो पाठेघरको समस्या

कम उमेरमा आमा बन्दा बढ्यो पाठेघरको समस्या


सुर्खेत – अशिक्षा, गरिबीले कर्णालीमा बालविवाह डरलाग्दो देखिएको छ । कर्णालीमा १५ देखि १९ वर्ष उमेर समूहका ६ दशमलव प्रतिशत महिलाहरू पहिलोपटक गर्भवती हुने गरेको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा छ । सानै उमेरमा विवाह गरी सन्तान जन्माउँदा महिलामाथि विभिन्न रोग सिर्जना हुने गरेको छ । कर्णालीका धेरै महिला बालविवाह गरेकै कारण पाठेघरको समस्याले ग्रसित छन् । यसले सम्बन्धविच्छेद पनि बढाएको छ । यी कर्णालीका उदाहरण मात्र हुन् ।

त्यस्तै, दैलेखको गुराँस गाउँपालिका–८, धरमपोखराकी शोभा ओलीले सानै उमेरमा विवाह गरिन् । २०७३ सालमा एसइई तयारी गर्दै गर्दा उनी प्रेम विवाहमा बाँधिइन् । विवाहपछि पढाइभन्दा घरपरिवारलाई महत्व दिएकी शोभा अहिले आमा बनिसकेकी छिन् । २६ महिनाको छोरा काखमा राखेर अहिले उनी पछुताउनु परेको छ। उनी मात्र होइन् सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१५, की हिरा राना पनि चिन्तित छिन् । सानैमा विवाह गरेर ६ महिनाको छोरा जन्माएकी उनको स्वास्थ्य बिग्रँदो छ ।

प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा २०७५-७६ मा पाँच सय ५० जनाले सम्बन्धविच्छेद मुद्दा दर्ता गराएका छन् भने चार सय २५ जनाले शुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएको जिल्लाअदालत सुर्खेतले जनाएको छ । यसमा अधिकांश बालविवाह र वैदेशिक रोजगारी कारण बनेको देखिन्छ ।

‘गर्भवती तथा सुत्केरी अवस्थामा प्रयाप्त आराम र पोषिलो खानेकुरा खानपाइन्,’ हिराले भनिन्, ‘सानै उमेरमा बच्चा जन्माउँदा स्वास्थ्य बिग्रिँदै गएको छ।’ योजना नबनाई बच्चा जन्माउँदा भविष्य अन्धकारतिर धकेलिएको उनको भनाइ छ । सुत्केरी भएको केही दिनमै दाउरा घाँस गर्न थालेकी शोभा पाठेघर खस्ने समस्याबाट पीडित छिन् । ‘सुत्केरी हुँदा स्वास्थ्यप्रतिको ज्ञान नहुँदा धेरै आराम गर्न पाइएन,’उनले भनिन् । पाठेघर समस्या हुँदा आर्थिक अभावले उपचार गर्न समस्या भएको शोभाको भनाइ छ ।

सानै उमेरमा विवाह गर्दा स्वास्थ्य, शिक्षा लगायत शारीरिक र मानसिक पीडा समेत खेप्नु परेको वीरेन्द्रनगर–१६,कीवसन्ता घिमिरेले बताइन् । सानै उमेरमा बिहे गरी बच्चा जन्माउँदा महिलाको प्रजनन स्वास्थ्यमा असर हुने सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा कर्णाली प्रदेशमा कार्यरत जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले बताइन् ।

‘सानै उमेरमा बच्चा जन्माउँदा पाठेघर परिपक्व हुँदैन्,’ उनले भनिन्, ‘यस्ताअवस्थामा सुत्केरी हुँदा आमा र बच्चा दुवैकोे स्वास्थ्यजोखिम हुन सक्छ ।’ सानै उमेरमा बिहे गर्ने र सानै उमेरमा बच्चा जन्माउनेको संख्या बढ्दै गएकाले २० वर्ष पूरा भइसके पछि मात्र बिहे गर्दा उपयुक्त हुने भट्टराइको भनाइ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ