२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयस्तो छ प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने टिम

यस्तो छ प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने टिम


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुँदैछ । सोमबार शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुन लागेका प्रधानमन्त्रीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोण गरिनेछ ।

ओलीलाई उनकी भान्जी नाता पर्ने ३२ वर्षीया महिलाले मिर्गौला दिनेछिन्। दोस्रो पटक हुन लागेको प्रत्यारोपणका लागि झण्डै १ दर्जन चिकित्सक र आधा दर्जन नर्स तथा प्यारामेडिक्स तयारी अवस्थामा छन् ।

प्रत्यारोपणका लागि ओलीको पहिलो पटक प्रत्यारोपण गरेका टिमका प्रमुख डा. अनन्तकुमार तीन जनाको आफ्नो टोलीसहित आउँदैछन् । यसैगरी, नेपालका बरिष्ठ युरोलोजिष्ट प्रा.डा. प्रेम ज्ञवालीले प्रत्यारोपणको नेतृत्व गर्दैछन् भने प्रधानमन्त्रीकी निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्या सिंह शाह पनि शल्यक्रियामा मुख्य भूमिका हुने स्रोतको दावी छ । डा. शाहसँगै व्यवस्थापनमा प्रा.डा. दिलिप शर्माले पनि सघाउने छन् ।

त्यसैगरी, क्रिटिकल केयरको नेतृत्व त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विभागका प्रमुख प्रा. डा. सुवास आचार्यले सम्हाल्दैछन् भने नर्सिङ्ग टोलीको नेतृत्व त्रिवि शिक्षण अस्पताल शलेक्रिया विभाग नर्सिङ्ग प्रमुख पुनम सिंहले गर्नेछिन्।


प्रा.डा. प्रेम ज्ञवाली,
प्रत्यारोपण टिमको नेतृत्व

त्रिभुवन विश्वविद्यालयका प्रत्यारोपण विभागका प्रमुख प्रेम ज्ञवालीले प्रधानमन्त्री ओलीको प्रत्यारोपणको नेतृत्व गर्दैछन् । उनले त्रिवि चिकित्सा अध्ययन संस्थानबाट सन् २०१० मा पब्लिक हेल्थमा माष्टर्स गरेका हुन् । डा. ज्ञवालीले नेशनल युनिभर्सिटी हस्पिटल सिंगापुरबाट सन् २००३ मा युरोलोजी एण्ड किड्नी ट्रान्सप्लान्टमा फेलोसिप गरेका हुन् ।

डा. ज्ञवालीले रेस्टोभ युनिभर्सिटी रसियाबाट एमएस र एमडी गरेका छन् । उनले त्रिवि चिकित्सा अध्ययन संस्थानबाट सर्टिफिकेट इन जनरल मेडिसिन गरेका हुन् । उनी लामो समयदेखि मिर्गौला प्रत्यारोपणमा सक्रिय छन् ।

डा. अनन्तकुमार,युरोलोजिस्ट

१३ वर्षअघि पहिलो पटक प्रधानमन्त्री ओलीको दिल्लीस्थिती एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्दा डा. अनन्तकुमारकै नेतृत्वमा भएको थियो । ३५ वर्षदेखि मिर्गौला प्रत्यारोपणमा सक्रिय डा. अनन्तकुमारले ३५ सय बढी मिर्गौला प्रत्यारोपण गरिसकेका छन् ।

किङ जर्ज मेडिकल युनिभर्सिटी लखनउबाट एमबीबीएस, पिग्मेयर चन्ढीगढबाट एमएस, एमसीएच (युरोलोजी) र बीएनडी (युरोलोजी) गरेका छन् । उनीसँगै तीन जनाको टोली पनि प्रत्यारोपणका अब्जरभेसनका लागि भारतबाट आउँदैंछ ।

प्रा.डा. दिव्या सिंह शाह, प्रत्यारोपण व्यवस्थापन नेतृत्व

नेपालमा पहिलो पटक मिर्गौला प्रत्यारोपणको संयोजन प्रा.डा दिव्या सिंह शाहले गरेकी थिइन् । बरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. शाह प्रधानमन्त्रीका प्रमुख निजी चिकित्सक पनि हुन् । निजी चिकित्सकका हिसाबले प्रधानमन्त्रीको प्रत्यारोपणको सम्पूर्ण व्यवस्थापन उनलै गर्दैछिन् ।

शिक्षण अस्पतालको नेफ्रोलोजी विभागकी प्रमुख समेत रहेकी शाहले लामो समयदेखि ओलीको स्वास्थ्य सल्लाहकारका रुपमा काम गर्दै आएकी छन् ।

भारतबाट एमबीबीएस तथा एमडी गरेकी शाहले अष्ट्रेलियाबाट सुपर स्पेसलाइजेसन गरेकी हुन् । साथै, अंग प्रत्यारोण समितिको अध्यक्षका रुपमा समेत कार्यभार सम्हालिरहेकी छन् । उक्त समितिले अंग प्रत्यारोपणका लागि चिकित्सकहरुलाई अनुमति वितरण गर्नेदेखि अस्पतालहरुलाई अंग प्रत्यारोपणको अनुमति समेत प्रदान गर्दछ ।

प्रा.डा. सुवास आचार्य, एनेस्थेसिया टिमको नेतृत्व

त्रिवि शिक्षण अस्पताल महाराजगंजका क्रिटिकल केयर प्रमुख हुन्, प्रा. डा. सुवास आचार्य । त्रिविकै एशोसियट प्रोफेसर रहेका डा. आचार्यले नै प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया गर्दा पनि एनेस्थेसियाको नेतृत्व उनैले गरेका थिए । डा. आचार्यले मनिपाल मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् ।

उनले त्रिवि चिकित्सा अध्ययन संस्थानबाट एनेस्थेसियोलोजीमा एमडी गरेका हुन् । युनिभर्सिटी अफ टोरोन्टो क्यानडाबाट एडल्ट क्रिटिकल फेलोसिप गरेका डा. आचार्यले अमेरिक कलेज अफ चेस्ट फिजिसियनमा पनि फेलोसिप गरेका छन् ।

पुनम सिंह, नर्सिङ्ग नेतृत्व

त्रिवि शिक्षण अस्पताल महाराजगन्ज शल्यक्रिया विभागकी नर्सिङ प्रमुख पुनम सिंहले प्रधानमन्त्रीको प्रत्यारोपणका क्रममा नर्सिङ टिमको नेतृत्व गर्दैछिन् ।

महाराजगन्ज क्याम्पसबाट नर्सिङ अध्ययन गरेकी सिंह १५ वर्षदेखि शिक्षण अस्पतालको शल्यक्रिया विभागमा कार्यरत छन् ।

जो चिकित्सक तयारी अवस्थामा रहनेछन्

शल्यक्रियाका बीचमा अन्य कुनै समस्या आएमा तयारी अवस्थामा मुटु रोग विशेषज्ञ प्रा.डा. अरुण सायमी, प्रा.डा. भगवान कोइराला, कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी, न्युरोलोजिष्ट प्रा.डा. जगदीशप्रसाद अग्रवाल तयारी अवस्थामा रहनेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ