२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेडिको लिगल केस परिक्षण गर्दा भ्रष्टाचार अभियोग लगाएको भन्दै सरकारी चिकित्सक संघको विरोध

मेडिको लिगल केस परिक्षण गर्दा भ्रष्टाचार अभियोग लगाएको भन्दै सरकारी चिकित्सक संघको विरोध


काठमाडौं –मेडिको लिगल केसलाई भ्रष्टाचार आरोप लगाएर अख्तियारले मुद्दा दायर गर्नु गलत भएको भन्दै सरकारी चिकित्सक संघ (गोदान)ले विरोध जनाएको छ । बलात्कार सम्बन्धि केशको रिपोर्ट दिने क्रममा गलत रिपोर्ट दिएको भनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डा. दुर्गा सुर्खाली माथि भ्रष्टाचार विरुद्धको मुद्दा लगाउने अनैतिक, गैरकानुनी एवं अमानवीय घटना भएको आरोप लगाउँदै गोदानले सोमबार विज्ञप्ति जारी गरेको हो ।

गत वर्ष सामूहिक बलात्कारको केसमा डाक्टर दुर्गा सुर्खालीमाथि गलत रिपोर्ट दिएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा तयार गरेको थियो । मुदा दायर भएलगतै उनलाई पक्राउ गरी थुनामा राखिएको थियो । यसरी मेडिको लिगलको केसलाई अख्तियारले हस्तक्षेप गरी क्षेत्राअधिकार बाहिर गएर कानुन विपरित काम गरेको संघको आरोप छ।

संघका अध्यक्ष डा. दीपेन्द्र पाण्ड र  महासचिव डाक्टर रविन खड्काद्वारा हस्ताक्षरित विज्ञप्तीमा यस विषयमा निष्पक्ष छानविन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, नेपाल मेडिकल काउन्सिल र प्रधानमन्त्रीज्यूको कार्यालयलाई समेत आग्रह गर्दै बोधार्थ  गरिएको छ।

विज्ञप्ति :-

मिति-२०७६-११-१८

विरोध तथा भर्त्सना !


मिति २०७६-११-१३ गते मात्र यस सरकारी चिकित्सक संघको सम्पर्कमा आउन पाएका चिकित्सक डा. दुर्गा सुर्खालीमाथि भएको अनैतिक, गैरकानुनी एवं अमानवीय घटनाप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।


निज आठौँ तहको नेपाल सरकारको सुरु नियुक्तिको तालिम प्राप्त तथा नेपाल मेडिकल काउन्सिलको अधिकार प्राप्त चिकित्सक हुन् र निजले आफू कार्यरत अस्पतालमा निजको अधिकारक्षेत्र भित्र रही नेपाल प्रहरीको अनुरोधमा पिडीत र निजको अभिभावकको पूर्ण मञ्जुरीमा विधीपूर्वक एक ‘सामुहिक वलात्कार’ भनिएको घटनामा पिडीतको चेक-जाँच गरे र प्रहरीलाई प्रतिवेदन (गोप्य राखिने) बुझाएका थिए । सोको केही महिना पश्चात पिडीत पक्षले अर्को अस्पतालमा अर्को चिकित्सकसंग चेक जाँच गराए, जसले ठीक विपरित प्रतिवेदन दिए।


तर, प्रहरी तथा अस्पतालले गोप्य राख्नुपर्ने प्रतिवेदन के-कसरी हो छापा/मिडीयामा आयो र सुरुको डा. दुर्गाको प्रतिवेदन ‘गलत’ भएको र निजले पिडकसंग ‘मिलेमतो’ गरेको निराधार आरोप समेत लगाइयो । सोको केही दिन पश्चात निज डा. दुर्गालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाण्डौँबाट “सोधपुछ तथा वयानको लागि” भनि पत्र काटियो र निज स्वयमं उपस्थित पनि भए ।


तर, अचानक “सोधपुछ तथा वयानको लागि” भनि बोलाइएको निजलाई “विशेष अदालतले म्याद थपेको” भन्दै सफाई वा कानुनी उपचारको मौका समेत नदिई २५(पच्चीस) दिनसम्म विना कुनै उजुरी वा आधार थुनामा राखीयो !! निजलाई सम्पर्क विहीन राखी, २५ दिनसम्म कैदिको व्यवहार गर्दै, दवाव दिदै मानसिक यातना दिने निकै अमानवीय एवं गैरकानुनी कार्य अख्तियार दुरुपयोग आयोग स्वयमं बाट नै गरीयो । त्यती मात्र नभई, निज दोषी भए-नभएको ठहर नहुदै निजलाई निलम्बन गरिएको पत्र चौतर्फी पत्राचार समेत गर्ने गरियो ।


आखिरमा, सो घटनाको ‘पिडित’ भनिएकोको जाँच पुनः सम्बन्धित बिषयको सबै भन्दा बरिष्ठ विशेषज्ञबाट भयो र निज डा. दुर्गाकै प्रतिवेदन साचो रहेको ठहर भयो । तर हालसम्म पनि निज डा. दुर्गालाई ‘साधारण तारिकमा रिहा’ भन्दै थुनामुक्त गरिएको भएता पनि निज डा. दुर्गाले पूर्ण रूपमा मानसिक तनावमा र हतोत्साहीत् छन् ।


यसरी, आफ्नो अधिकारक्षेत्र भित्र रही नियमपूर्वक सही काम गर्दा गर्दै पनि एक नेपाल सरकारको चिकित्सक जस्तो पदमा रहेकोको विना आधार थुन-छेक तथा मानसिक यातना दिने कार्य आफैमा अख्तियारको चरम दुरुपयोग भएको यस संघको ठहर छ र घोर विरोध एवं भर्त्सना गर्दछ । यस घटनाबाट निजलाई परेको मानहानी तथा मानसिक यातनाको क्षतिपूर्ती तथा संलग्न अधिकारीहरूलाई हदैसम्मको कारवाहीको लागी यो संघ नेपाल सरकार संग जोडदार माग गर्दछ । यदि यसलाई नजर-अन्दाज गरिएमा यो संघ देशै भरी नै मेडिकोलेगल लगायतका जाँचहरू ठप्प पारी न्ययाको लागि संघर्षका कार्यक्रम ल्याउन वध्य हुने छ ।


साथै, अन्य चिकित्सक, स्वास्थ्यकर्मी, कर्माचारी, मानवअधिकार आदि सम्पूर्ण संघ-संस्थाहरूलाई यो संघ साथ, सहयोग र न्यायका लागि आह्वान समेत गर्दछ ।


वोधार्थ – श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाण्डौ । – श्री राष्ट्रीय मानव अधिकार आयोग, काठमाण्डौ ।

– श्री नेपाल मेडिकल काउन्सिल, काठमाण्डौ । – श्री सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यालय ।

_______________ ________________
अध्यक्ष महासचिव


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ