२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबजारमा मास्क छैन : मास्कको अभाव कि कालोबजारी ?

बजारमा मास्क छैन : मास्कको अभाव कि कालोबजारी ?


काठमाडौं–नक्सालको भगवतीथान अगाडि रहेको औषधि पसलमा मास्क किन्न गएकी सीमा दनुवारलाई व्यापारीले एउटा मास्क बराबर पचाँस रुपैंयाँ लिए ।  मास्कमा मूल्य बढेको कारण सोध्दा पसलेले उनलाई बजारमा अहिले मास्क अभाव र महंगोमा आपूर्ति गर्नुपरेको बाध्यता सुनाए ।

यस्तै, मैतीदेवीस्थित एमजी पोलिक्लिनिक एन्ड डाइग्नोसिस सेन्टरमा मास्क किन्न गएका सुनिल तामाङलाई व्यापारीले एउटा मास्कको मूल्य बीस रुपैंयाँ लिए । उनले मास्कमा महंगो हुनुको कारण सोध्दा व्यापारीले बजारमा मास्क नभएकै कारण महंगोमा आपूर्ति गर्न परेकोले मास्कको भाउ बढाउनु परेको बताए ।

एक अर्का सर्वसाधारणले वीर अस्पताल अगाडि भएका ७-८ वटा मेडिकल धाउँदा पनि मास्क नपाएको गुनासो पोखे । ‘मास्कको विषयमा सोध्दा व्यापारीहरु मास्कको मूल्य बढेको जानकारी मात्रै दिन्छन्, तर मास्क दिदैनन्,’ मास्क किन्न हिडेका उनी भन्छन्, ‘मास्कले कोरोना मात्रै होइन हामीजस्तो यसरी बाहिर हिड्ने आम सर्वसाधारणलाई धुलो धुवाँबाट पनि बचाउँछ । तर, मास्क नभएकै कारण हामीलाई यसरी सडकमा हिड्न सकस भएको छ ।’

उनीहरु त केही उदाहरण मात्रै हुन् । हेल्थ आवाजले ग्राहक बनेर रिपोर्टिङ गर्दा राजधानीका अधिकांश फार्मेसीमा साविकभन्दा महंगो मूल्यमा मास्क बेच्ने गरेको पाइएको छ ।

कोभिड-१९को भय विश्वभर फैलिएसँगै नेपालको राजधानीमा मास्कको अभाव देखिन थालेको छ । जसका कारण एक समय  ५ देखि १० रूपैयाँमा पाइने मास्कहरूको मूल्य आकाशिएको छ । चिकित्सकहरूले कोरोनाबाट बच्नका लागि मास्कको प्रयोग अनिवार्य रुपमा गर्न भनेर सल्लाह दिन थालेका छन् । जसका कारण मास्क किन्नेहरू बढ्दो क्रममा छन् । माग बढेसँगै देशभरकै अधिकांश मेडिकल फार्मेसीहरुमा मास्कको अभाव देखिएको हो ।

बजारमा हाल न्युरोड, बानेश्वर, मैतिदेवी तथा नक्सालजस्ता विभिन्न मेडिकलहरु धाउँदा पनि मात्रै एउटा मास्क पाउन पनि मुस्किल रहेको छ । वीर अस्पताल, शिक्षण र भेनसजस्ता ठूला–ठूला अस्पतालका मेडिकलहरुमा समेत मास्कको अभाव देखिएको छ । मास्क नभएपनि मास्क सोध्न आउने ग्राहकको संख्याबाट आजित भएपछि वीर अस्पताल र शिक्षण अस्पताल वरपरका मेडिकल विक्रेताले ‘मास्क छैन’ भन्ने सूचना समेत लेखेर राखेको देख्न सकिन्छ ।

सामान्यतयाः ५ देखि १० रुपैयाँ प्रतिदर पाउने सर्जिकल मास्क अभावकै कारण बजारमा यसको मुल्य बढेर अहिले प्रतिदर बीसदेखि पचाँस रुपैंयासम्म लिने गरेको जनगुनासो सुनिन थालेको छ । यसरी गुनासो गर्नेमा आम सर्वसाधारण मात्रै नभएर मेडिकल पसलका व्यापारीहरु पनि रहेका छन् । मास्कको विषयमा सोध्दा न्युरोड, संकटास्थित रहेको मेरुस फार्मेसीका व्यापारी भन्छन्, ‘मास्क त प्रतिदर नै बीसदेखि पच्चीस रुपैंया पुगिसक्यो । तर, बजारमा त्यहि पनि पाइएको छैन ।’ उनले आफ्नो पसलमा करिब १ महिनाभन्दा अघिदेखि नै मास्कको अभाव भएको जानकारी दिए ।

यस्तै गुनासो झेलेका नक्सालस्थित रहेको रिद्धि सिद्धि फार्मेसीका अर्का व्यापारी भन्छन्, ‘मास्क त प्रतिदर नै हामीलाई अहिले ४० रुपैंया बराबर आउँछ । अनि कसरी बेच्नु त?’ अन्य समयमा २ सय पचास प्रति बट्टा पाइने मास्क अहिले हजारदेखि १२ सयसम्म लिने गरेको वीर अस्पतालस्थित रहेको उपकार सेवा फर्माको व्यापारीले बताए । यसै क्रममा अझ अन्य समयमा २ सय देखि ३ सय रुपैंयासम्म पर्ने ‘एन्टी–पोलुसन’ भनिने एन नाइन्टी फाइभ मास्कको अभावकै कारण मुल्यमा वृद्धि भएर १५ सय रुपैंयाँ पर्ने बानेश्वरको गंगा हार्ट क्लिनिकका व्यापारीले सुनाइन् ।

छिमेकी राष्ट्र चीनमा देखिएको कोरोना भाइरसको प्रकोपसँगै काठमाडौंका अधिकांश फार्मेसीहरुमा मास्कको अभाव पनि बढ्दै गएको हो । विभिन्न स्वास्थ्य संस्था तथा विज्ञापनमार्फत सरकारले संक्रमणबाट सर्तक रहनको लागि मास्कको प्रयोग गर्नुपर्ने पर्चा गर्दै यता भने बजारमा मास्कको अभाव ह्वात्तै बढेको हो । तर, अभावसँगसँगै मास्कको मूल्यमा पनि भारी वृद्धि देखिन थालेको छ ।

के गर्दैछन् त औषधि व्यवस्था विभाग?

करिब दुई महिना यता बजारमा मास्कको अभावसँगै मूल्यमा वृद्धि भएको हो । अधिकांश मेडिकलहरुमा मास्क नभएको जानकारी पसलेहरुले दिइरहँदा फुटपाथमा बेच्ने पसलेहरुले पनि यसको मुल्यमा वृद्धि लगाएको छ । यस विषयमा बोल्दै औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल भन्छन्, ‘अधिकांश मास्कहरु चीनबाट नै आयात हुने गर्छ ।

तर, त्यहाँको आयातमा अवरोध भएको कारण हाल बजारमा मास्कको अभाव भएको हो ।’ यसका साथै हाल अर्काे छिमेकी राष्ट्र भारतले पनि यस्ता वस्तुहरुलाई विदेश निर्यातमा अनुमति नदिएको कारण यस्ता समस्या देखा परेको उनले बताए ।

यसरी मास्कको मनपरी मूल्य लिने मेडिकल तथा व्यापरीहरु विरुद्ध के–कस्ता कदमहरु चालिएका छन् त? भन्ने प्रश्नमा उनी भन्छन्, उपभोक्ता संरक्षण, वाणिज्य विभाग तथा प्रहरी प्रशासनको संयुक्तामा हामीले यस सम्बन्धि विभिन्न ठाउँका मेडिकलहरुमा अनुगमन गरिरहेका छौं । र, यसरी मास्कको मनपरी मुल्य लिने केहि पसलहरुलाई कारवाही समेत गरेका छौं । हालसम्म कारवाहीमा पर्नेमा सतुंगलका केहि मेडिकलहरु रहेको उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ