२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाेविड-१९ सकसः सरकार आफैसँग औषधि मौज्दात राख्न व्यवसायी र सरोकारवालाको सिफारिस

काेविड-१९ सकसः सरकार आफैसँग औषधि मौज्दात राख्न व्यवसायी र सरोकारवालाको सिफारिस


काठमाडौं–कोविड १९ को विश्वव्यापी प्रभाव बढिरहेका बेला नेपाल सरकारलाई अत्यावश्यक औषधि आफै मौज्दात राख्ने व्यवस्था गर्न औषधि व्यवसायी र सरोकारवालाले सुझाएका छन् ।

बुधबार विभागमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीसहित बसेको विभागका पदाधिकारी, औषधि उद्पादक, विक्रेता तथा सर्जिकल सामाग्री सप्लायर्सहरुको बैठकले सम्भावित विपत्तिको अवस्थामा औषधि अभाव हुनसक्ने भन्दै औषधिलगायतका अत्यावश्यक सामाग्रीहरुको सरकारले नै मौज्दात राख्नु उपयुक्त हुने सुझाव दिएको हो । सो बैठकले मौज्दात राख्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सो को व्यवस्था सम्बन्धी प्रक्रिया अगाडि बढाउन अनुरोध समेत गरेको छ ।

बैठकमा भएका निर्णयहरु मन्त्रालयलाई पठाइसकिएको औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए । तर, कति मात्रामा मौजदात राख्ने र के के औषधि मौज्दात राख्ने भन्ने विषयमा भने बैठकले निर्णय गरेको छैन ।

सोही बैठकमा अहिले नेपालमा रहेको औषधिको तथ्यांक संकलन गर्ने समेत निर्णय गरेको छ । त्यसका लागि नेपाली औषधि उद्योगबाट हुने उत्पादन, स्टक, बजारमा भएको औषधिको अद्यावधि विभागमा गराउने समेत निर्णय भएको महानिर्देशक ढकालले बताए ।

अहिलेसम्म भएको अद्यावधिको अवस्था हेर्दा झण्डै ३ महिनालाई पुग्ने औषधि उद्योग र बजारमा स्टक रहेको उनले बताए । त्यसबाहेक तीन महिनाका लागि कच्चा पदार्थ नेपाली उद्योगहरुसँग रहेको व्यवसायीहरुले बताउँदै आएका छन् । शुक्रबार व्यवसायीले गरेको पत्रकार सम्मेलनमा महासचिव विप्लव अधिकारीले ६ महिनाका लागि पुग्ने औषधि रहेको जानकारी दिएका थिए ।

कच्चा पदार्थको मुल्य बढ्यो
बैठकमा व्यवसायीहरुले औषधि बनाउने केही कच्चा पदार्थको अन्तर्राष्ट्रियस्तरमा मुल्य बढेका कारण स्वदेश औषधि उद्योगहरुले उत्पादन गर्ने औषधिहरुको मूल्य वृद्धि गर्नका लागि अनुरोध गरेका थिए । तर, उनीहरुले अहिले आफूसँग भएको मौज्दात औषधिको मुल्यवृद्धि नभएर अब ल्याइने कच्चा पदार्थबाट बन्ने औषधिको मूल्य बढाउन अनुरोध गरेका हुन् ।

बैठकले व्यवसायीबाट आएको प्रस्ताव आवश्यकताअनुसार मूल्य समायोजन गर्न नेपाल सरकारलाई अनुरोध गरी पठाउने निर्णय भएको महानिर्देशक ढकालले बताए । साथै सर्जिकल माक्स उत्पादन गर्ने कम्पनीलाई स्थानीय कच्चा पदार्थ प्रयोग गरी सहजीकरण गर्ने समेत निर्णय भएको थियो ।

औषधि व्यवसायीहरुले अहिले आफूसँग भएको कच्चा पदार्थ हुन्जेल औषधिको मुल्य नबढ्ने समेत प्रतिवद्धता जनाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ