२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिमका बिरामी कोरोना परिक्षणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता

सुदूरपश्चिमका बिरामी कोरोना परिक्षणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता


धनगढी—लगातार ५ दिनसम्म रुघाखोकी र खकारमा रगत देखिएपछि कञ्चनपुरका हरिस पाण्डे मंगलबार मात्रै महाकाली अस्पतालमा पुगे । अस्पतालबाट भने कोरोना परिक्षणका लागि काठमाडौं नै जानुपर्ने भन्दै उनलाई सामान्य रुघाखोकीको औषधि दिएर घर फर्काइदियो । ‘कोरोना भाइरसको हाम्रो यहाँ समान्य चेकजाँच मात्र हुन्छ, अन्य परिक्षणका लागि काठमाडौं जानुस भनेर फर्काइदियो,’ उनले भने ।

आर्थिक अवस्था कमजोर हुँदा आफ्नो परिक्षणका लागि काठमाडौं जान नसक्ने स्थिती रहेको उनले बताए । कोरोना परिक्षण गर्ने उपकरण महाकाली अस्पतालमै व्यवस्थापन गर्नुपर्ने माग स्थानीयको छ । विश्वका एक सय ७६ बढी देशमा कोरोनाको संक्रमण देखा परी सक्दा पनि सुदूरपश्चिमका स्वास्थ्य संस्थाहरुमा उपकरण अभावले बिरामीको उचित परिक्षण हुन नसकेको हो । कोरोना परिक्षणको व्यवस्था सुदूरपश्चिमकै अस्पतालमा नभएपनि यस क्षेत्रका अस्पतालले नमूना काठमाडौं पठाउन पनि अटेरी गरेको गुनासो छ ।

कञ्चनपुरकै अर्का स्थानीय कृष्ण सिंह ऐरले स्थानीय र प्रदेश सरकारले कोरोनाको संक्रमण फैलिन नदिने विषयमा गम्भीर नबनेको गुनासो गरे । उनले अस्पतालले शंकास्पद बिरामीलाई आइसोलेसन वार्डमा राखेर उपचार गर्नुपर्नेमा उल्टै काठमाडौं जानुपर्छ भन्दै छोडिरहेको पाइएको बताए । जसका कारण परिक्षणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता छ ।

सुदूरपश्चिममा अहिलेसम्म कोरोना परिक्षणका लागि सेती प्रादेशिक अस्पतालले मात्रै नमुना संकलन गरी काठमाडौं पठाएको छ । चार जनाको परिक्षण गरिएकोमा चारै जनाको रिपोर्ट नेगेटिभ आएको छ । तर, अन्य अस्पतालले भने शंकास्पद बिरामीलाई पनि समान्य औषधि दिएर घर फिर्ता गरिदिने गरेका छन् ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले कोरोनाको संक्रमण फैलिएमा उपचारका लागि आईसीयु व्यवस्थापन गर्ने तयारी गरिएको बताए । उनले महाकाली र सेती प्रादेशिक अस्पताललाई आईसीयुका लागि एक÷एक करोड बजेटको सुनिश्चितता पठाइएको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ