२०८१ भदौ ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना प्रभाव : नेपाल रेडक्रस सोसाइटीको महाधिवेशन सर्‍यो

कोरोना प्रभाव : नेपाल रेडक्रस सोसाइटीको महाधिवेशन सर्‍यो


काठमाडौं—कोरोना भाइरस (कोभिड–१९)को प्रकोपका कारण नेपाल रेडक्रस सोसाइटीको महाधिवेशन सरेको छ । चैत्र तेस्रो साता हुने संस्थाको महाधिवेशन कोरोनाका कारण आगामी जेठ अन्तिम सातालाई सारिएको सोसाइटीका अध्यक्ष संजीव थापाले बताए । यसअघि चैत्रको २३ देखि २५ गतेदेखि काठमाडौंमा महाधिवेशन तोकिएको थियो ।

त्यस्तै, कोरोना रोकथाम र प्रतिकार्यको लागि नेपाल रेडक्रस सोसाइटीले ७७ वटै जिल्लामा स्वयंसेवक र कर्मचारीहरुको सक्रियता बढाएको छ । मुलुकका सवै जिल्लास्तरमा रेडक्रसका शाखाले सामुदायिक परिचालक÷स्वयंसेवकको व्यवस्था गरेका छन् । संस्थाका विभिन्न विभागहरुले एकीकृत योजना बनाई क्षमता विकास गरी स्वयंसेवक परिचालन, सामुदायिक आवश्यकता र संलग्नताको अवधारणा बमोजिम जनचेतनामूलक कार्यक्रमहरु केन्द्रदेखि जिल्लास्तरमा सञ्चालन भइरहेका नेरेसो स्वास्थ्य विभागका निर्देशक विपुल न्यौपानेले बताए ।

विद्यालय तथा समुदायमा छलफल कार्यक्रम, अभिमुखीकरण÷तालिम सञ्चालन, स्थानीय संघ सस्थाहरूसँग बैठक, सूचना, शिक्षा तथा सञ्चार सामग्रीको वितरण, सडक नाटक तथा एफएम रेडियोमार्फत् समुदायलाई आवश्यक सही सूचनाहरू प्रचार—प्रसार गतिविधिहरुमा नेरेसोका युवा स्वयंसेवकहरु परिचालित भएका हुन् ।

कोरोनाका कारण हुनसक्ने जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, रेडक्रसका अन्तर्राष्ट्रिय महासंघ, यूएनलगायतका निकायसँग आवश्यक समन्वय गरी समग्रमा त्यसबाट हुनसक्ने क्षतिको रोकथाम तथा नियन्त्रण गर्न मद्दत पु¥याउने गरी कार्यविधि र कार्ययोजना नै तयार गरी काम भइरहेको नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले बताए ।

सहयोगका साथै व्यक्तिगत सुरक्षाको प्रबन्ध

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको हेल्प डेस्कमा नेपाल रेडक्रसका स्वयंसेवकहरु दैनिक खटिइरहेका छन् । यस अलावा रेडक्रस स्वयंसेवक र कर्मचारीहरुले देश भित्रिने नाका, एयरपोर्ट तथा मानिसहरूको बढी चहलपहल हुने स्थानमा हेल्प डेक्समा सहयोग गरिरहेका छन् ।

यसैबीच थप सजगता अपनाऊन केन्द्रीय कार्यालयमा प्रवेश गर्ने कर्मचारी तथा स्वयंसेवकको तापक्रम नाप गर्ने, गेटबाट पस्ने वित्तिकै हात धुने, बैठक बस्नै परेमा दुरी कायम गर्ने उपायहरु अवलम्बन गरिएको छ । रक्तसञ्चार केन्द्रमा रगतको मागको लागि आउने बिरामीका आफन्तहरुलाई पनि यस्तै सुरक्षाका उपायहरु अपनाइएका छन् ।

रक्तदानमा सहयोग गर्न अनुरोध

नेपाल सरकारले भिडभाड नगर्न निर्देश गरे अनुरुप मानिसहरुको सामूहिक भेला हुने क्रम घट्दै गइरहेकोले रक्तदान कार्यक्रममा समेत प्रभाव पर्न गई काठमाडौंलगायत देशका सबै जसो जिल्लाहरुमा रक्तदानका कार्यक्रमहरुमा कमी आएको रक्तसञ्चार केन्द्रकी निर्देशक डा. मनिता राजकर्णिकारले बताइन् । रगतको आपूर्तिमा कमी हुन नदिन र रगत आवश्यक पर्ने बिरामीहरुको जीवन बचाउन पायक पर्ने रक्तसञ्चार केन्द्रहरुमा गई रक्तदान गर्न नेरेसोले अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ