२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल कोरोना संक्रमणको दोस्रो फेजमा प्रवेश

नेपाल कोरोना संक्रमणको दोस्रो फेजमा प्रवेश


काठमाडौं–नेपाल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो फेजमा प्रवेश गरेको छ । विदेशबाट आएका संक्रमित व्यक्तिले कोभिड–१९ समुदायमा फैलाएपछि नेपालमा थप जोखिम बढेको छ । पहिलो कोरोना पुष्टि भएको ७१ दिनपछि नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।

सरकारले लकडाउनलाई केही खुकुलो बनाएको भोलिपल्टै समुदायमा कोभिड–१९ फैलिएको पाइएपछि स्वास्थ्यकर्मीहरु थप चिन्तित बनेका छन् । सुदूरपश्चिमबाट सेनाले ल्याएका दुई सय नमुना केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा लगिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बासुदेव पाण्डेले नेपाली सेनाले हेलिकोप्टरमार्फत दुई सय नमुना सुदूरपश्चिमबाट काठमाडौ ल्याएको बताए ।

परिक्षणको दायरा फराकिलो बनाइयो, १४ दिन पछिपनि कोरोना पोजेटिभ

हालसम्म क्वारेन्टाइन (सुरक्षित स्थान) १४ दिन राख्दै आएको सरकारले यसलाई थप लम्ब्याउनु उचित ठानेको छ । १४ दिन क्वारेन्टाइन बसेपछि पनि संक्रमण देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अझै बढी बस्नुपर्ने अवस्था आएको बताए । उनले लक डाउनको अवधिमा सबै घरमै बस्दिन अनुरोध गरे ।

देशभर कोरोना उपचार गर्न ५ सय चिकित्सक तयार भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकार समक्ष करिब ११ सय ६६ चिकित्सक रहेका छन् । सरकारले पहिलो उपचार केन्द्रका रुपमा केन्द्रिय अस्पताल दोस्रोमा क्षेत्रीय र तेस्रोमा देशभरका मेडिकल कलेजमा राखेर उपचार गर्ने योजनाअनुसार काम गरिरहेको बताएको छ । स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कोरोना संक्रमितको पहिचान गर्न गम्भीर भएर लागेको बताए ।

आइतबार बिहानसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ५ सय परिक्षण भएको छ । जनकपुर, धरान, हेटौंडा, पोखरा, सुर्खेत र धनगढीमा कोरोना परिक्षण भएको छ । थप केही ठाउँमा बिस्तार हुने क्रममा छ । उपत्यकामा १५ जना आइसोलेसनमा छन् । उपत्यका बाहिर ५४ जना छन् । कल सेन्टरको माध्यमबाट आएका १ सय २६ जना जोखिममा रहेका छन् । उनीहरुको ट्रेसिङ गर्ने काम भइरहेको छ ।

स्वास्थ्य मन्त्रालय र नेपाली सेनाले समन्वय गरेर संक्रमितको पहिचान गर्ने काम थालेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपाली सेनाले भारतबाट आएका व्यक्तिले सुदूरपश्चिममा समुदायमा ठूलो संख्यामा कोरोना फैलाएको हुनसक्ने आशंका गरेको छ । सेनाले पनि कोरोना परिक्षण थाल्ने बताएको छ । जतिसक्दो परिक्षण गर्नुपर्ने भनेपनि अपेक्षा अनुसार आशंका गरेका बिरामी नदेखिएको सचिव कोइरालाले बताए ।

दैनिक १ हजार जनाको कोरोना परिक्षण गर्ने लक्ष्य स्वास्थ्य मन्त्रालयले राखेको छ । सोही अनुसार परिक्षणको दायरा बढाइएपनि नमुना नआएको सचिव कोइराला बताउँछन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पनि प्रत्येक दिन ७ सयको संख्यामा परिक्ष गर्ने योजना बनाए पनि नमुना ५० देखि एक सयको हाराहारीमा मात्रै हुने गरेको छ । कुनै पनि लक्षण बिना कोरोना परिक्षण हुँदैन । १४ दिनसम्म लक्षण देखिन सक्छ । त्यसैले हाल सरकारले परिक्षणको दायरा बढाउन ६० वर्ष माथिका बिरामी, विदेशबाट आएका व्यक्ति र ज्वरो, खोकी र श्वास प्रश्वासमा समस्या भएका जो कसैलाई पनि कोरोना परिक्षण गर्ने बताएको छ ।

अब नेपालको अवस्था आउने दिनले बताउँछ

डा. अनुप बास्तोला
कोरोना उपचार गर्ने फ्रन्टलाइन चिकित्सक, टेकु अस्पताल

विश्व स्वास्थ्य संगठनको मान्यताअनुसारका पीपीई हामीले लगाएर बिरामीको उपचारमा खटिएका छौं । आवश्यकताअनुसार लगाउँछौं आवश्यकताभन्दा बाहिर नलगाउन सबै कर्मचारीलाई भनेका छौं । भोलिका दिन कस्ता हुन्छन अहिले भन्न सकिदैन् । एउटा बिरामी हेर्दा ५ जनाले पीपीई लगाउनु पर्दैन । अहिले एक जनाले ४ जना बिरामी हेर्न सकिन्छ । हामी जतिसक्दो पीपीई जोगाउन पनि लागेका छौं । यो अवस्थासम्म हामीले केही सुरक्षाका विधिहरु सिकेका छौं । एकले अर्काको पीपीई लगाएको मिले नमिलेको हेरेर मात्रै बिरामी भएको ठाउँमा प्रवेश गर्छौ ।

भारतबाट धेरै नेपाली आएका छन् । त्यहाँबाट संक्रमित कति प्रवेश गरेका छन् भन्ने चिन्ता छ । सरकारले पेरिफेरीमा परिक्षण दायरा बढाएकाले संक्रमित पत्ता लगाउन सहज हुन्छ । भारतमा बिरामीको संख्या कसरी बढ्छ र त्यहाँबाट नेपाल आएकाहरु कुन–कुन ठाउँमा पुगेका छन्, त्यसले नेपालको भोलिको अवस्था निर्धारण गर्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ